PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा



पहिलोपोस्ट

काठमाडौंबाट पूर्व चल्ने यातायात आजदेखि एउटै व्यवस्थापनमा

काठमाडौंः दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खुलेकै दिन पारेर काठमाडौंबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात एउटै व्यवस्थापनमा आएका छन्।

छुट्टाछुट्टै कम्पनी र व्यवस्थापनमा चलेका सार्वजनिक बसहरु शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा एउटै व्यवस्थापन कायम गरिएको महासंघका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए।

उक्त व्यवस्थापनमार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रंगेली, बुधबारे, बनियानी, गाईघाट, लहान लगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन्।

उक्त कम्पनीले एउटै व्यवस्थापनमार्फत दसैंका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन्। आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ।

हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरा लगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाईले बताए।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौंबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारी आवतजावत गर्नेछन्। हाल काठमाडौंको नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ। (रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell