काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताएका छन्। शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन्।
उनले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ संकेत गर्दै सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए। परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्न नपाइने भन्दै परमादेशले भेट गर्ने मौका दिएको उनले बताएका हुन्।
'हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठुला ठुला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महसुस गरेको छु,' उनले भने।
उनले सरकारले बहुपक्षीय तथा द्धिपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गरे। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि उनले बताए।
'आउँदो मंसिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको संघ, प्रदेश सभा सदस्यहरुको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुरा उहाँहरुलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चहान्छु। निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने नै छ,' उनले भने।
यस्तै, उनले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन्।