काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई आफूले कहिल्यै प्रतिगमन नभनेको बताएका छन्। प्रतिनिधिसभाका अन्तिम बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको जवाफ फर्काएका हुन्। उनले मंसिर ४ को चुनाव कुर्नै नपर्ने कस्तो जनमत आउँछ भन्ने यसअघिका चुनावले देखाएको बताए। उनले ओलीको सरकारले संसदमाथि बारम्बार प्रहार गरेको आरोप लगाए।
'तीन वर्ष पु्ग्दा नपुग्दै संविधानको मर्म र भावना अनुसार सरकार अघि जान सकेन,' प्रचण्डले भने। ओलीले प्रतिगमनको व्याख्या गरेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गरेका थिए। ओलीले मंसिर ४ मा हेर्न भनेको भन्दै जनमतका लागि ओलीलाई नै मंसिर ४ पर्खिन आग्रह गरे।
'प्रतिपक्षको नेताले प्रतिगमनको, लोकतन्त्रको व्याख्या गर्नुभयो। जसले जे भने पनि हुँदो रहेछ। संसद विघटन गर्न मिल्दैन भनेर हामीले संविधानमा व्यवस्था गरेको होइन? त्यसबारे चर्चा पनि नगरिकन हठात् विघटन गर्ने काम प्रतिगमन नभएर के हो त?,' उनले सोधे, 'उहाँले तुलना गर्नु भयो अहिलेको चुनाव पनि प्रतिगमन हो त। हामी यहाँ बसेका कसैले बुझ्दैनन् भन्ने हो कि?'
ओलीलाई प्रचण्डले प्रतिनिधिसभा विघटनको कारण पनि सोधेका छन्। उनले छलफल नै नगरी किन विघटन गरेको भन्ने प्रश्नसमेत गरे। भने, 'हामीसँग त अत्यधिक बहुमत थियो। सरकारको नेतृत्व गर्ने पार्टी भित्र छलफल चलिरहेकै थियो। केले उत्प्रेरित गर्यो संसद विघटन गर्न? विपक्षी दलको नेताले मलाई पार्टीभित्र काम गर्ने दिएन भन्ने हो? यो रियल तर्क होइन।'
ओली नेतृत्वको सरकारले नै अदालतलाई प्रभाव पारेको प्रचण्डले आरोप लगाए।
'अदालतलाई त प्रभावमा पार्ने काम अघिल्लो सरकारले गरेको रहेछ भन्ने पुष्टि भयो त,' प्रचण्डले भने।