खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएकी छन्।
घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो साढे २ बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन्। राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न गएका स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल फेला पारेको निवर्तमान वडाध्यक्ष भीम राईले बताए।
“बालिकाको अवस्था हेर्दा सकुशल रहेको देखिन्छ”, उनले भने, “रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ।”
घाँस काट्न जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर ९घरको छाना छाउन प्रयोग गरिने घाँस रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले जानकारी दिए।
“गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो”, उनले भने, “बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ १ हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ १ बोलाउँदा आउन नसकेपछि आफैँ झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ १ अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु।”
राम्रो बोल्न र हिँड्नसमेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी रभर खोजी कार्यमा लागेका थिए। बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ। नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।