हात चलेन। पानीले तलतिर तानिसक्यो। अब सकिन। नाक र मुखबाट पानी भित्र छिर्न थाल्यो। एकाएक कपालमा कसैले समातेको थाहा भयो। अहँ! त्यसरी कपालमा समाउँदा पनि दुखेन। त्यसको एकैछिनपछि खुट्टाले जमीन भेट्यो। अब बाँचियो।
मेरो कपाल समातेर पार लगाउने सागर रहेछ। उस्तो मिल्ती कहिल्यै थिएन, पानीको भुमरीमा फस्दैगर्दा उसैले बचायो। कुरा २०४० को दशकको मध्यतिरको हो। कन्चटमा बालुवाका टुक्रा टिलिक्क टल्केपछि फसिहालियो।
'आज पनि पौडी खेल्न गइस्' भन्दै शिक्षिकाले कन्चटको रौ तान्दा आँखाबाट आँशु नै झर्यो।
सागर र मिस दुवैले मेरो कपाल मलाई नै जोगाउन तानेका थिए – धेरै पछिमात्र बुझेँ।
मलाई कपाल तान्ने म्यामको नाम के हो?
यी शब्दहरु उतारिरहँदा त्यो हँसिलो र उज्यालो अनुहार झल्झल्ती भइरहेको छ। सम्झिन सकिन नाम। याद गर्दैछु पख्नुस्। मलाई थाहा छ - उहाँ पछि लैनचौरमा रहेको कन्या स्कुलको प्रिन्सिपल पनि हुनुभयो। कोशराज जीसी सरभन्दा अगाडि पढाउन आउनु भएको अंग्रेजी शिक्षिका। लेखको अन्त्यसम्म त जसरी पनि उहाँको नाम मैले फेला पार्नेछु। मैले कसरी बिर्सन पाउँछु उहाँको नाम? स्कुल बङ्क मारेर पौडिन पुग्ने, लक्ष्मी, सुरेश, राजु, राजेन्द्र, प्रकाश, जगदीश, गणेश, सुभाष, श्याम, विमल, मनोज। अरु पनि थिए त साथीहरु। थोरै सम्पर्कमा छन् धेरै त हराइ गए। स्मृतिबाट पनि !
'बाबु उठ। चिसो बिहानमा पढ्यो भने दिमागले सबै टिप्छ।'
बिहान 'झर्को लाग्नेगरी' आमैको शब्द। पृष्ठभूमिमा राष्ट्रिय गानभन्दा अगाडि बज्ने रेडियो नेपालको धुन। कलेजका लागि बिहानको पहिलो साझा बस भेट्टाउन हतारिँदै गरेकी दिदी। साइकलमा कलेज जाने दाइको तयारी। 'पढ' भनेपछि पढ्न चै पटक्कै नचाहने म। स्कुल बङ्क मारेर टीकारामलाई ह्विल चेयरमा ठेल्दै कमलपोखरीसम्म कुमारी हलमा फिल्म हेर्न भ्याइदिने आँट!
कल्पनाको उडान उत्पातको। वाग्मतीको भेलमा पौडिँदै गर्दा पौडीको राष्ट्रिय च्याम्पियन सम्मको सपना! अनि त्यही सपनाको साटफेर उस्तै।
'भागीभागी यस्तरी पौडी खेलिएको छ। नेशनल च्याम्पियन नै हुन सकिएला जस्तो छ।'
'हो नि। भइयो भने पत्रकारले अन्तर्वार्तामा कसरी सफलता हासिल भयो भनेर सोध्लान्। हामीले वाग्मतीमा पौडेर भन्नुपर्छ। २०४८ सालको वाग्मतीमा पौडेको भन्दा त बेइज्जत नै होला।'
'हो नि यस्तो बेहालको वाग्मतीमा पौडी खेलेर सिकेको कसरी भन्नु?'
साथी लक्ष्मीसँगको संवाद थियो स्कुले जीवनमा। केही अघि लक्ष्मी नेपाल आउँदा पौडीको यति डिटेल स्मृतिमा फर्किएको थिएन। न त टीकारामको ह्विल चियर घिच्याउँदै हलसम्म पुगेको सम्झनामा आएको थियो।
वक्तित्वकलामा भाग लिन जेपी हाइस्कुल पुगेर ट्याक्सीमा फर्किँदा बौद्धमा उत्रेर पैसा बचाएको र त्यही पैसाले चाउमिन खाएको नि एकाएक याद आयो।
गएको सोमवार साँझदेखि यी सबै कुरा एकएक गर्दै ओर्लिन थाले। काठमाडौंमा हुर्केकाले मसँग सम्झनयोग्य कथा छैन भन्थेँ सधैं। ओहो किन नहुनु? सम्झनाले पनि बिर्सिन पो थालेको रहेछ त।
+++
ऐना झ्यालको पुतली हेरेसँगै स्मृतिको कुनै कुनामा स्टोर भएका दृश्यहरु एकाएक आउन थाले। मसँग नि कथा छन् त! ऐना झ्यालको पुतलीभन्दा धेरै कुरा फरक छन्, परिवेशले होला। अनि भाव चाहिँ? विल्कुल उस्तै। १०० प्रतिशत मिल्दो।
औसत् मान्छे र कथाकार वा निर्देशक बिचको भिन्नता नै यही त रहेछ – एउटा कथाको पात्र बनिरहेको छ तर थाहा छैन उ पात्र हो। अर्को त्यही पात्रलाई पर्दामा उतार्न सफल छ। नेपाली फिल्म हेरेर यतिधेरै सन्तोषको श्वास धेरैपछि फेरिरहेँ। २०४० र ५० को दशकमा हुर्केका जो कोहीका लागि पनि फिल्म - पुन: त्यही उमेरमा पुर्याउने माध्यम बनेको छ। र, त मैले सम्झिन थालेँ विद्यालयका ती दिनहरु।
विद्यालयमा पढ्दै गर्दा नेपालवाणी साप्ताहिकमा मेरो कविता छापियो। मैलेभन्दा पहिले मलाई पढाउने गुरुले कविता पढेर साथीभाइ बिच सुनाउँदा मैले गरेको अनुभूति कस्तो थियो होला? मुनामा छापिएको कविताको सन्दर्भले मलाई फेरि उसैगरी आफ्नै बालापनतिर धकेलिरह्यो।
किशोरावस्थामा फिल्म हेर्दा आफैँ लिड रोलको पात्र झै लाग्थ्यो। सबैलाई उस्तै हुन्थ्यो। ह्विलचेयरमा यात्रा गर्ने टीकाराम फ्लाइङ किककै मात्र कुरा गर्थ्यो। उसको लामो र कर्ली कपाल। डाक्टरले २५ वर्षभन्दा धेरै बाँच्दैनस् भनेको बताउँदै उसले कपाल पाल्ने सौख पूरा गरेको थियो। उमेरले हामीभन्दा पाको टीकारामलाई अहिले पनि ह्विलचियरमै देख्छु। रक्कीको हिरो सञ्जय दत्तको जस्तै कपाल पाल्ने सोख पूरा गर्न सायद उसले झुटो बोलेथ्यो।
उमेरसँगै सिनेमाका पात्र त पात्रमात्र हुन् भन्ने हुँदै गयो।
यसपटक भने फिल्मले मलाई फेरि त्यही किशोरावस्थामा पुर्याइदियो। अनि पात्रमा आफूलाई नै पाएँ। वाग्मतीका बगरमा फिल्ममा झै फाइट चल्थ्यो हाम्रो। पैसा तिर्ने र लिनेदिने पनि उस्तै। साथी धर्मे सबैलाई पछार्थ्यो। ड्रग्सले किशोरावस्था कट्नासाथ उसलाई पनि उठायो। स्मृतिबाट उसको अनुहार समेत धुमिल भइसकेको छ - अन्दाजमा म त्यो आकृति खोजिरहेको छु एकाएक। सम्झिन बाध्य बनाइरहेछ - एउटा फिल्मले।
फिल्मको प्रभाव कतिसम्म हुन्छ यसरी अनुभूति भएको रहेनछ। अक्षय कुमारको खिलाडी श्रृङ्खलासँगै राउन्ड किक हान्न त सिकेकै हो। ती सब देखावटी थिए। एकपटक बसेर राउन्ड किक हान्दा डिङ्गो जुत्ताको हिल भानुभक्तको नलीखुट्टोमै ठोकियो।
आत्था!
उ जति चिच्याएर रोयो। म झन् आत्तिएँ। हानेको त थिइन तर लाग्यो।
भानुभक्तको अनुहार स्मृतिमा छैन। अह! कुनै कोणबाट पनि सम्झिन सक्दिन। भोलिपल्टसम्म खोच्याउँदै हिँडेको उसले मेरो पोल लगाएन। वैशाखी टेक्दै हिँड्ने राजुले मलाई किक हानेको छ। किन हामी झगडा गर्यौं त्यो याद आएन। तर, उसको किक जबरजस्त थियो। अब भेट्दा सोध्छु।
यहाँ पुग्दा सम्झिएँ मेरो कन्सिरीको रौ तान्ने म्यामको नाम।
तुलसी मिस!
कक्षामा कहिलेकाहीँ झुक्किएर 'ममी' भन्थेँ। साथीहरु गललल हास्थेँ।
म लाजले पानी पानी।
स्कुले जीवनपछि थोरैसँग मात्र फाट्टफुट्ट भेट भयो।
धेरै हराए।
ती सबैलाई फेरि जबरजस्त सम्झाइदियो यस फिल्मले। एकदिन फुट्सल खेल्दै गर्दा कसैले चर्को स्वरमा बोलायो।
हेरेँ।
मैले हेरेको देखपछि भन्यो - हो रहेछ।
'म कुमार यार।'
बल्ल सम्झिएँ सँगै पढेको साथी। सँगै फुटबल खेल्ने अन्जनसँग कतै न कतै भेट हुन्छ तर मिल्ने मनिष र सुरेशसँग भेटघाट छैन।
+++
ऐना झ्यालको पुतलीहेरेपछि जसरी विगत खोतलियो केही अघि साथीहरुसँग अप्रत्यासित मिलन भएको थियो। साथी प्रवीण छोराको ब्रतबन्ध गर्न नेपाल आएको थियो। उसले सबैलाई डाक्यो।
एउटा टेबुलमा साथीहरु थिए – सँगै हुर्किएका। गंगा, देवी, राजेन्द्र, प्रकाश, तेज, राजु…।
तीन जना बाहेक सबै साथीसँग म करिब तीन दशकपछि सामुन्ने थिएँ।
'म ऋषिकेश।'
अप्रत्यासित आवाज आयो।
'तँ यस्तो भइस?'
म मुस्कुराएँ। एउटा गजबको मिलन थियो त्यो। १५ मिनेट पसेर फर्किनेगरी गएको म त्यहाँ ४ घन्टा हराएँ। मेरी श्रीमती विनीता मेरा साथीहरु देखेर दङ्ग परेकी थिइन्। सायद् मेरो साथीहरु सँगको पुनर्मिलनमा म खुशी भएको देखेर होला। फर्किने बेलामा साथीहरुलाई घर छोड्न गयौं हामी। मेरो क्लासको फस्ट गर्ल देवी सँगै थिइन् ३० वर्षपछि।
त्यसपछि फेरि हामी आफ्नै दुनियाँमा व्यस्त।
केही दिनअघि फेसबुकमा शान्तिले अमेरिकाबाट एउटा फोटो पोस्ट गरिन्। देवीको तस्बिर थियो त्यो जसको मुनि लेखिएको थियो -श्रद्धाञ्जली। स्मृतिबाट गुम्दै गरेकी उनीसँग भेट भएको ६ महिनापछि हामी बिच रहिनन्।
बालापनको मित्रताको एउटा दु:खान्त इन्डिङ। मुना पत्रिकामा कविता छापिँदाको खुशी समेत प्रकट गर्न नसक्ने अवस्थामा पुगेकी फिल्मको केन्द्रीय पात्रसँगै म पनि उभिए झै लाग्यो – श्रद्धाञ्जलीका शब्दहरु कोरिरहँदा।
+++
स्मृतिको गोदामबाट पानीमा डुब्दै गरेको म पर्दामा झै एकाएक देखा परेँ। अँ फेरि सम्झिए अर्को सन्दर्भ। स्कुल जानु अघि नै वाग्मतीमा पौडी जमिसकेको थियो एकदिन। खेतको तिरमा परैबाट देखेँ गुणराम सर। घरतिर दाइ, स्कुलमा सर! घरपछि सबैभन्दा भर र डर दुवै उहाँसँगै।
अब फसियो।
भरे घरमा रामधुलाई पक्का।
त्यसैले अरु साथी भागेर लुगा लगाउन दौडिँदा म चाहिँ पानीबाट बाहिर आइन लुकिरहेँ। गुणराम सरले नचिनुन् भनेर जति भने पनि फर्किन। आजित भएर सर हिँड्नुभयो।
त्यसपछिमात्रै म पानीबाट बाहिर निस्किएँ र लुगा लगाएर कुदेँ स्कुलतिर।
एसेम्ली सुरु हुने तरखरमा थियो।
'उ अघि लुक्ने त्यही हो।'
सागरले चुक्ली लगाइहाल्यो। मलाई पानीमा डुब्नबाट बचाउनेले नै त्यसदिन मलाई स्कुलमा फसाइछाड्यो।
+++
म खानालाई पहिले आँखाले चाख्छु। त्यसपछि जिब्रोले स्वाद लिन्छु। हेर्दै घीनलाग्दो गरि पस्किएको खाना जतिसुकै मीठो होस् मेरो रुची नहुन सक्छ। मेरो आँखाले जिब्रोको काम जसरी गर्छ फिल्मको पृष्ठभूमिमा बज्ने रेडियोले दृश्यको भाषा प्रस्तुत गरेको पाएँ। रेडियो बोल्छ, म दृश्यमा त्यही क्षणमा पुगिरहेको छु।
५० को दशकको सन्दर्भ। मैले पढेका महेन्द्रमालाका सन्दर्भ। राजकुमार दिक्पालको कथा। म राजकुमारहरु भयंकर बलिया र बुद्धिमान हुन्छन् भन्ने कथासँगै हुर्किएँ। भगवानका अवतारका रुपमा राजाहरुको कथा सुनेँ।
अनि तिनै विष्णुका अवतार गोलीको सिकार भएको देखेँ। युवराजलाई नशामा मस्त हुँदै बरालिएको पनि देखेँ। भेटेँ। हुर्किँदै जाँदा महेन्द्रको माला पनि चुडिएछ। राजकुमार दिक्पालहरु पनि नासिएछन्। मेरा स्मृतिहरु अमर होउन् कसरी?
फिल्मले यति डिटेलमा ती विषयलाई उतार्दियो कि म बाध्य भएँ ती सबै सम्झिन। स्कुल बङ्क हानेर फिल्म हल र भिडियो पार्लर धेरै धाइयो। एउटै फिल्म दशौं पटक हेरियो। तर, यतिधेरै डिटेलिङ सहितको नेपाली फिल्म हेरेको रहेनछु।
फिल्म हेर्यो, बिर्सियो।
होइन। यसपला म लेख्ने मुडमा थिइन। फिल्मले बाध्य बनायो। फिल्मको भन्दा आफ्नै कुरा गर्न मन लाग्यो। फिल्मले मलाई भन्यो - तँसँग पनि कथै कथा छ। त्यसमध्ये थोरै यहाँ सेयर गरेँ। बाँकी पछि गरौंला।