काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्किने चर्चा चलेपछि आज बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
परिसरभित्र छिर्ने एक एक व्यक्ति र सवारीलाई चेक गरेर मात्र सुरक्षाकर्मीले पठाइरहेको दृश्य देखिएको छ। त्यस्तै अदालत परिसरभित्र अधिवक्ताहरु जबरा आए विरोध गर्ने तयारीमा बसेका छन्। अदालत परिसरभित्रको प्राङ्गणमा अधिवक्ताहरुको अहिले भीड छ। तर, सर्वोच्च अदालत बार एशोसियएसनका कोषाध्यक्ष बिनोद कार्की भने जबरा नआउने दाबी गर्छन्।
'झण्डा र गार्ड जतातिर हो उतै आधिकारिक हो। कामु प्रधानन्यायधीशलाई नै झण्डा र गार्ड दिएको छ। चोलेन्द्र आउनुहुन्न उहाँलाई गार्ड दिएर झण्डा दिएन,' कोषाध्यक्ष कार्कीले भने।
जबरा अदालतमा आए विरोध गर्ने समेत तयारी भएको उनले बताए।
महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। बहुमत सदस्यहरुले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन्। फरक मत लेख्ने नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन्।
यता, प्रतिवेदन बुझाएपछि निलम्बित जबरा अदालत फर्किने सुचना समेत सर्वोच्च अदालतलाई पठाएको चर्चा चलेको छ। जबराले आज नै सर्वोच्च फर्किने बताएका छन्। त्यसैले अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। त्यसो त जबराले अदालत फर्किने नपाउने भन्दै केहीले विरोध समेत गरिरहेका छन्।