
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ। पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए।
उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए। सुमनले पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए।
उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो।
यसैबिच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने पनि समानुपातिक उम्मेद्वारको बन्द सूची भोलि सोमबार आयोगमा बुझाउने भएको छ। लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेद्वारको सूची तयार गरिसकेको छ।
पार्टीका शीर्ष नेताको विभिन्न चरणको बैठकले छलफल गरि बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरि आवश्यक तयारी गरिरहेको छ। सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो। समानुपातिक उम्मेद्वारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट असोज २ र ३ गते आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ।