PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलाप हो: निर्माता संघ

विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलाप हो: निर्माता संघ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कर छुट र शो टाइमको विषयमा चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ टिमबीच विवाद चर्किँदो छ। यसैबिच, नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन बोर्डलाई आग्रह गरेको छ।

केहीदिन अघि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी भाषामा डब भएको फिल्मले नेपाली फिल्मकै सरह सुविधा माग्नु राष्ट्रघाती र देशद्रोही रहेको बताएका थिए। उनको त्यो अभिव्यक्तिसँगै निर्माता संघको आलोचना समेत भएको थियो।

आलोचनापछि संघले एक विज्ञप्ति निकाल्दै नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा बोर्डको ध्यानाकर्षण गराएको छ। नेपालमा प्रदर्शन गरिने कुनै पनि भाषाका चलचित्रप्रति नकारात्मक नरहेको संघले उल्लेख गरेको छ।

‘हाम्रो ध्यान भनेको सदैव नेपाली सिनेमाको बृहत्तर हितको लागि मात्र हो। हामीले स्वदेशी सिनेमाको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी सिनेमाको अतिक्रमणका विरूद्धमा लड्दै आइरहेका छौं। हाम्रो लडाइँ विशुद्ध विदेशी सिनेमाको अतिक्रमण विरूद्ध हो,’ सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै संघले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा पनि गरेको छ। यसलाई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रियकरणको कोशेढुंगाको रुपमा लिएको समेत उल्लेख छ। तर, विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशीसरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हुने निर्माता संघको भनाई छ।

'देशको नियम र कानुनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्दछन र पाउँदछन्। तर, विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन-कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो। यही कुरा संस्थाको प्रतिनिधिको रुपमा अध्यक्ष वा अन्य पदाधिकारीबाट अभिव्यक्त भएको हो,' विज्ञप्तिमा लेखिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell