PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

पढ्न भनेर भारत पुर्‍याइएका बालकलाई कारखानामा काम, उद्धार गरेर नेपाल ल्याइयो



पहिलोपोस्ट

पढ्न भनेर भारत पुर्‍याइएका बालकलाई कारखानामा काम, उद्धार गरेर नेपाल ल्याइयो

काठमाडौंः विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याएका १० बालकको प्रहरीले उद्धार गरेको छ।

नेपाल प्रहरीको समन्वयमा साथसाथ संस्थाले शुक्रबार उद्धार गरेका १० बालकको जिम्मा परिवारलाई लगाएको छ। चार महिना अगाडि उनीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याइएको थियो। त्यसपछि उनीहरूलाई भारतमा लगेर विभिन्न कारखानामा १२ घण्टा भन्दा बढी काम गर्न लगाएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए।

यसरी उद्धार गरिएका बालकहरू रौतहट, सुनसरी र मोरङका रहेका छन्। उनीहरूको उमेर ११ वर्षदेखि १७ वर्षसम्मको रहेको साथसाथकी रिर्सोस एक्जुकेटिभ कविता शाहले बताइन्। यसरी भारत पुर्‍याइएका बालकहरूलाई खाना र बस्न बाहेक मासिक २ सय रुपैयाँ दिएर काम लगाइएको खुलेको छ।

'हामी पुग्दा बालकहरूको अवस्था एकदमै दयनीय थियो। कतिले त राम्रोसँग खाना समेत खान पाएका थिएनन्,' शाहले भनिन्।

सीमा जोडिएका जिल्लाहरूमा भारतबाट एक जना नाइके आउने र गाउँका बालकहरूलाई प्रलोभनमा पारेर भारत लग्न गरेको खुलेको छ। नाइकेले बालकहरुलाई राम्रो ठाउँमा पढ्न पाउने, राम्रो कमाइ हुने, सहर पनि देख्न पाउने भन्दै प्रलोभनमा पारेको देखिएको छ। नाइकेले बिहान बेलुका पटक पटक बालकहरूलाई भेटेर विभिन्न आश्वासन दिएर लग्ने गरेको खुलेको छ। त्यसपछि उनीहरूले भारतमा पुर्‍याएर विभिन्न कारखाना श्रमिकको रुपमा बिक्री गरेर बालकलाई प्रयोग गर्ने गरेको एसपी मल्लले बताए।

'उनीहरूले अभिभावकबाट टाढा भएका र आर्थिकरुपमा विपन्नहरूलाई विभिन्न जालमा पारेर भारत लग्ने गरेको देखिन्छ। केहीले त यसरी लगिएका बालकहरूको शरीरको अङ्ग समेत झिकेर बिक्री गर्ने गरेको भेटियो,' प्रवक्ता मल्लले भने।

शुक्रबार उद्धार गरेर नेपाल ल्याएका बालकको हकमा भने श्रममा मात्र प्रयोग गर्न लगिएको देखिएको छ। यसरी पनि मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले भारतबाट १६ जना बालबालिकाको उद्धार गरेको थियो। उनीहरू रसुवा र नुवाकोटका बालबालिका थिए। उनीहरूले बौद्ध धर्म पढ्नको लागि भन्दै भारत पुर्‍याइएको थियो।

यसरी नेपाल आएर बालबालिकालाई प्रलोभनमा पारेर भारतसम्म पुर्‍याउने नाइकेको भने प्रहरीले पहिचान गर्न सकेको छैन। उनीहरू भारतबाट नै नेपाल आउने गरेको अनुसन्धानमा देखिएको छ। आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग घुलमिल गर्न र आफ्नो निगरानीमा राख्नुपर्ने एसपी मल्ल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell