PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आठौं संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै



पहिलोपोस्ट

आठौं संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज आठौं संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेको र उनले उक्त संविधानको प्रतिलाई जनताको नासो सम्झिएर ढोगेको क्षण नेपालीका लागि ऐतिहासिक रहीरहेको छ।

संविधानसभाबाट संविधान जारी भइरहँदा आमरुपमा मुलुकमा दिपावली भएको थियो भने मधेस केन्द्रित केही दलको असहमति र सडकमा भएको विरोध प्रदर्शनलाई त्यसपछिका संविधान संशोधन र बन्दै गरेका सङ्घीय कानुनले सम्बोधन गर्न खोजेका छन्। प्रमुख दलका शीर्ष नेताहरु सत्ता सङ्घर्षमा वादविवादमा उत्रिए पनि संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकास एवं मुलुकको समृद्धिका पक्षमा एकै ठाउँमा उभिनुले पनि संविधानको महत्व र विशेषताको गहनतालाई सहजै बुझ्न सकिन्छ।

यसअघिका कुनै पनि संविधानमा यस प्रकारको व्यापक आयाम र जनाधिकारको उल्लेख गरिएको थिएन। यो संविधान जारी भएसँगै दुई सय ५० वर्षे इतिहास बोकेको सामन्ती राजसंस्थाको विधिवत् अन्त्य भएको थियो। संविधानले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य मानेको छ भने नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सीमा नाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुने र राष्ट्र हित प्रतिकूलको आचरण र कार्य दण्डनीय हुने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell