PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चरिकोटमा दोलखाको चुनावी चर्चा : टिकट पाउन दलभित्र पनि गुटको प्रतिस्पर्धा, कसको रणनीति के?



नेत्र तामाङ

चरिकोटमा दोलखाको चुनावी चर्चा : टिकट पाउन दलभित्र पनि गुटको प्रतिस्पर्धा, कसको रणनीति के?

चरिकोट : काठमाडौंमा यतिबेला दोलखाका नेताहरु टिकट आफ्नो पोल्टामा पार्न शीर्ष नेताको कोठाचोटामा धाउन व्यस्त होलान्। दोलखाको चरिकोटमा स्थानीय नेता कार्यकर्ता पनि कसले टिकट लिएर आउने हो भन्ने विषयमै केन्द्रित देखिन्छन्।

चरिकोटको सातदोबाटो चोक नजिकैको चिया अड्डादेखि साततले तारे होटलको छतमा चियाकफी खाँदै गफिनेहरुको विषय यही छ - गठबन्धनबाट टिकट कसले पाउला? एमालेले कसलाई उम्मेदवार बनाउला?

एकमात्र निर्वाचन क्षेत्र भएको दोलखामा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा बाम गठबन्धनले 'क्लिन स्विप' गरेको थियो। प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका पार्वत गुरुङ ५५ हजार ९५४ मत पाउँदा कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका थिए। प्रदेश (क) तर्फ माओवादीका विशाल खड्का जित निकाल्दा (ख) मा एमालेका पशुपति चौलागाईंले जित निकालेका थिए। चौलागाईंको कोरोना संक्रमणका कारण निधन भइसकेको छ भने खड्का प्रदेशका वन तथा वातावरण मन्त्री छन्। पार्वत एमाले अध्यक्ष ‌केपी शर्मा ओली क्याबिनेटमा सञ्चार मन्त्री बने।

कसले पाउला टिकट : नेता कार्याकर्ताको भनाई यस्तो

यतिबेला गठबन्धन दलले प्रत्यक्षतर्फ कसैको नाम टुंगो लगाएको छैन। जिल्ला र प्रदेश नै टुंगो लाग्नेगरी लगातार बैठक बसे पनि वारपार हुन सकेको छैन। यस्तो अवस्थामा पनि दोलखामा प्रतिनिधि सभातर्फ कांग्रेसमा जिपछिरीङ लामा र कुन्दन काफ्लेले जोडतोडको तयारी गरेका छन्। कुन्दन सार्वजनिक रुपमै आफ्नो उम्मेदवारीबारे छलफल चलाइरहेका छन् भने जिपछिरिङको तयारी भित्रभित्रै भइरहेको बुझिन्छ।

जिपछिरिङ, कुन्दन र अजयबाबु शिवाकोटी गरी तीन केन्द्रीय सदस्य रहेको जिल्ला भएकोले कांग्रेसले यहाँ टिकट पाउने सम्भावना रहेको एक स्थानीय नेताले बताए। 'यहाँका तीन तीन जना केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँहरुको जोड गठबन्धनमा दोलखा कांग्रेसले पाउनुपर्छ भन्ने हो,' आइतवार चिया गफमै एक स्थानीय नेताले भने।

उनका अनुसार रामेछाप र दोलखामध्ये माओवादी र कांग्रेसले एक एक सिट बाँडेर लिनेछ।

आफू एक दिनअघिमात्र काठमाडौंबाट फर्केको एक नेता भने पार्टी सभापति शेरबहादुर देउवाको लिस्टमा दोलखा नरहेको दाबी गर्दै थिए।

'रामेछाप माओवादीले पाए दोलखा काँग्रेसले पाउँछ। देउवाको लिस्टमा दोलखा छैन। कुन्दनलाई छेक्न लागिरहेका छन्,' ती कार्यकर्ता भन्दै थिए, 'कुन्दन टिकटको दौडाहमा छन्। युवाले मौका पाए राम्रै हुने थियो। तर जिपछिरिङले पनि भित्रभित्रै तयारी गरिरहेका छन्।'

केही दिनअघि पत्रकारसँगको अन्तर्क्रियामा केन्द्रीय सदस्यसमेत रहेका कुन्दनले आफूलाई जिपछिरिङले संकेत दिइसकेकाले नै तयारी थालेको बताएका थिए। 'जिपछिरिङ सिनियर नेता हुनुहुन्छ। उहाँ उमेरका कारण चुनावमा नलड्ने भएकाले मेरो सम्भावना राम्रो छ,' काफ्लेको भनाई थियो।

अघिल्लो पटक गठबन्धन गरेर कम्युनिस्टले जिते पनि यसपटक कांग्रेसको पकड राम्रो भएको उनको भनाई थियो।

कुन्दनले भेट बैठक तीव्र पारे पनि जिपछिरीङ सार्वजनिक रुपमा उम्मेदवारीमा उत्रिएका छैनन्। खर्च बढ्ने आशंकाले उनी अहिले मैदानमा नदेखिएको अर्का कार्यकर्ताको ठोकुवा रह्यो।

'जिपछिरिङ लामा खर्च बढ्छ, बार्गेनिङ हुन्छ भनेर अहिले नै नबोलेका हुन्,' ती नेताले ठोकुवा गरे, 'तयारी उनकै हो। जिपछिरिङले नछाडे कुन्दन पछाडि हट्ने देखिन्छ।'

कुन्दन युवा भएकोले उनी नै उपयुक्त उम्मेदवार भए पनि गुटले जिपछिरिङ बलियो उम्मेदवार रहेको एक होटल व्यवसायीको तर्क रह्यो।

'जिपछिरिङलाई नै ल्याउने कुरा छ। उ भए दोलखा काँग्रेसले पाउँछ। बलियो पनि, देउवाका विश्वासपात्र पनि। कुन्दन युवा हो। पाउनुपर्ने मान्छे हो। तर गुटले असर गर्ने देखियो,' ती व्यवसायीले भने।

यसो त कांग्रेसको विधानले समानुपातिक सांसद पुन सोही कोटामा उम्मेदवार हुन नपाउने भएकोले जिपछिरीङलाई चुनाव लड्नुपर्ने बाध्यता परेको देखिन्छ।

जिपछिरीङ अघि बढे आफू पछि हट्ने संकेत यसअघि कुन्दनले गरेका थिए। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवकोटी संघको दौडमा नभएर होला कांग्रेस नेता कार्याकर्ताले पनि उनको बारेमा खासै चर्चा गरेनन्। यद्यपि प्रदेशमा भने उनको प्रबल सम्भावना रहेको बताइन्छ।

गठबन्धनबाट माओवादीले भाग पाए माओवादीबाट हाल प्रदेशमन्त्री रहेका विशाल खड्का वा देवी खड्का अघि बढ्ने बताइन्छ। उनीहरु दिदीभाइ हुन्। तर रामेछापमा श्याम श्रेष्ठले टिकट पाउने सम्भावना बढेकोले दोलखा कांग्रेसकै भागमा पर्ने कांग्रेस नेता कार्यकर्ताको दाबी रह्यो।

एमालेबाट संघीय निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनेहरुमा पूर्वमन्त्रीहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ टिकटका बलिया दाबेदार रहेको एमालेका एक नेताले बताए। गुरुङले लगातार दुई पटक चुनाव जितिसकेका छन्। पोखरेल २०५१ मा भीमबहादुर तामाङसँग पराजित भएका थिए भने २०६४ मा माओवादीको हेमबहादुर श्रेष्ठसँग पराजित भएका थिए। त्यसबाहेक दुई पटक निर्वाचित भए। दोस्रो संविधानसभामा उनी सदस्य थिए।   

कांग्रेसका खड्कालाई ३० हजार मतान्तरले जितेका गुरुङको मत पछिल्लोपटक भाँडिएको ती नेताले दाबी गरे। '१.५ मत भाँडिएको छ पार्वत गुरुङको। एक प्रतिशत आफ्नै कारण। बाँकी आफ्नै आसेपासेका कारण,' ती नेताले भने।

यद्यपि गुरुङ जित्ने उनको दाबी थियो। थप प्रसंगमा एमालेका ती नेताले जिपछिरीङ उम्मेदवार भए चुनावी माहोल तातिने र फरक परिणाम निस्कन पनि बेर नलाग्ने उनको भनाई रह्यो।

प्रदेशतर्फ कस्तो कसको कस्तो छ अवस्था?

प्रतिनिधि सभा कांग्रेसले पाएको खण्डमा प्रदेश (क) माओवादीले पाउने र (ख) समाजवादीलाई पाउने आँकलन गरिएको छ। कांग्रेसले प्रतिनिधि सभा नपाए दुबै प्रदेश लिने तयारी गरेको नेताहरुको भनाई रह्यो। (क) मा माओवादीबाट आङडेन्डी शेर्पा, विमर्शराज कार्की, बासुदेव पोखरेल, भीमबहादुर श्रेष्ठ, बलराम थापा, नवीन जिरेल र हिमाली गोलेलगायतको नाम सिफारिस गरेको छ। यहाँ यसअघि वाम गठबन्धनबाट विशाल खड्का निर्वाचित भएका थिए। यस प्रदेशमा कांग्रेसबाट बर्मा लामा वा तारा खड्काले प्रत्यक्षमा टिकट पाउने नेताहरुको दाबी छ।

एमालेबाट एमाले मेलुङको निवर्तमान गाउँपालिका अध्यक्ष, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ वा कांग्रेस छाडी एमाले पसेर जिरीको मेयर जितेका टंक जिरेलको सम्भावना बलियो देखिन्छ। जिरेल जिरीका निवर्तमान मेयर हुन्। यद्यपि श्रेष्ठ नै प्रत्यक्षमा टिकट पाउने बलियो उम्मेदवार रहेको एमालेका अर्का नेताले बताए।

प्रदेश (ख) यसअघि एमालेका पशुपति चौलागाईं जितेको स्थान हो। यो क्षेत्रमा कांग्रेसले अहिलेसम्म जित निकाल्न सकेको छैन। यहाँ अजयबाबु शिवकोटी, प्रभुराम श्रेष्ठ, युधिष्ठिर खड्कालाई बलिया दाबेदारको रुपमा हेरेका छन्। यी मध्ये प्रभुरामको सम्भावना बढी रहेको कांग्रेसका एक स्थानीय नेताले बताए।

'व्यापारी हुन्। हाइड्रोमा पनि लगानी छ। त्यसैले टिकट उनले पाउने सम्भावना छ,' ती नेताले भने।

एमालेबाट प्रदेश कमिटी सदस्य लालकुमार केसी, बालकृष्ण शिवाकोटी, भरत केसी, डबल पाण्डे र कैलाश श्रेष्ठ आकांक्षी छन्। पूर्व जिविस सभापति केसीले अघिल्लो निर्वाचनमा पनि प्रदेशसभा (ख) को प्रत्यक्ष सांसदमा दाबी गरेका थिए। भीमेश्वर नगरपालिकाको पूर्व मेयर भरत केसी पनि प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ सिफारिस भएका छन्। उनी गत स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको मेयरमा दोहोरिन चाहेका थिए।

यसैगरी शिवाकोटी अघिल्लो निर्वाचनमा अन्तिम अवस्थामा टिकट गुमाउनु परेको भन्दै यो पटक जसरी पनि टिकट लिने मनस्थितिमा छन्। वाग्मती प्रदेश कमिटीको सदस्य र उद्योग व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष उनले यो प्रदेशमा टिकट पाउने सम्भावना बलियो रहेको एमालेका ती नेताले बताए।

'कालिञ्चोक केबलकार सञ्चालक, गौशालामा पशुपति भिजनको साहु, काठ व्यवसायी,' ती नेताले भने, 'त्यही भएर उनको सम्भावना बलियो देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell