PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साफको 'नयाँ च्याम्पियन' बन्न नेपाल र बंगलादेश भिड्दै, लगत्तै सन्यासको तयारीमा तीन खेलाडी



पहिलोपोस्ट

साफको 'नयाँ च्याम्पियन' बन्न नेपाल र बंगलादेश भिड्दै, लगत्तै सन्यासको तयारीमा तीन खेलाडी

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा यसपाला साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलो पटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका छन्। पाँच संस्करणसम्म भारत च्याम्पियन बन्दा चारपटक नेपाल र एकपटक बंगलादेश उपविजेता बनेको छ। खेल आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरु हुँदैछ।

बलियो बनेको बंगलादेश

प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा बंगलादेशकी कप्तान सबिना खातुनले यसपालाको टिम पहिलाभन्दा फरक रहेको बताएकी थिइन्। उनले अनुभवी खेलाडी र नयाँ खेलाडीको 'कम्बिनेसन'ले टिम उच्च लयमा रहेको बताएकी थिइन्। भयो पनि त्यस्तै, समूह चरणमा पहिला दुई खेलमा माल्दिभ्स र पाकिस्तानमाथि सहज जित निकालेको बंगलादेशले आफ्नो तेस्रो खेलमा भारतमाथि ३-० को ऐतिहासिक जित निकाल्यो। साफ च्याम्पियनसिपमा भारतीय महिला टोलीले ब्यहोरेको यो पहिलो हार थियो। त्यस्तै सेमिफाइनलमा भुटानमाथि ८-० को फराकिलो जित निकालेर बंगलादेशले फाइनलमा स्थान बनायो।

'नेपाली टोलीलाई फाइनलमा घरेलु मैदान र समर्थकको फाइदा छ। तर, मेरा खेलाडीले यस्तो अवस्थाको सामना गर्न सक्छन् किनभने उनीहरुले यहाँ धेरैपटक खेलिसकेका छन्। हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिएर इतिहास बनाउन चाहन्छौं।' फाइनल खेलअघि बंगलादेशी प्रशिक्षक गोलाम रोब्बानी छोटोनले भनेका छन्।

घरेलु मैदानमा नेपाललाई हराएर च्याम्पियन बन्ने लक्ष्यमा बंगलादेश रहेको छ।

घरेलु मैदानमा अधुरो सपना पुरा गर्ने लक्ष्य

साफको इतिहासमा सबैभन्दा धेरैपटक उपविजेता बनेको टोली हो नेपाल। सन् २०१६ को एउटा संस्करणमा सेमिफाइनलबाट बाहिरिएको नेपाल बाँकी सबै संस्करणमा फाइनल पुग्यो। र, सँधै उपविजेतामै सीमित भयो। नेपाल हालसम्म च्याम्पियन नबन्नुमा सँधै बाधक रह्यो भारत। तर, यसपाला नेपालले भारतलाई सेमिफाइनलमै हराउँदै आफ्नो दर्बिलो उपस्थिति देखाइसकेको छ। र, फाइनलमा जित निकाल्दै ट्रफी घरमा राख्ने लक्ष्यमा छ।

'हामी अवसर गुमाउन चाहँदैनौ। हामी आयोजक हौं र उपाधि अरुलाई लैजान दिन चाहँदैनौ,' नेपाली टोलीका प्रशिक्षक कुमार थापाले फाइनल खेल अघि भने, 'मलाई विश्वास छ खेलाडीले सेमिफाइनलमा भन्दा पनि राम्रो प्रदर्शन गर्नेछन्।'

थापाले आफ्नो टिमको अर्जुनदृष्टि उपाधिमै रहेको बताए। बंगलादेश 'इनर्जी' र 'स्कील' राम्रो भएको भन्दै नेपालको टीम गेम राम्रो भएको थापाले दाबी गरे।

त्यस्तै नेपाली टोलीकी कप्तान एन्जिला तोम्बाफोले पनि च्याम्पियन बन्नका लागि मैदानमा अन्तिमसम्म लड्ने बताइन्।

'पहिलो पटक भारतलाई जितेर इतिहास बनायौं। फाइनलमा पनि अन्तिमसम्म लड्नेछौं। बोलेर भन्दा पनि खेलेर प्रमाणित गर्नेछौं, ' उनले भनिन्, 'शारीरिक र मानसिक रुपमा ठीक छौं। उनीहरुलाई पहिला पनि जितेका हौ, अहिले बलियो भएर आएका छन्, फेरि पनि जित्छौं।'

क्लिनसिट राखेरै दुबै टोली फाइनल

साफ च्याम्पियनसिपको फाइनलसम्म आइपुग्दा दुबै टोलीले गोल खाएका छैनन्। बंगलादेश समूह 'ए' को विजेता हो भने नेपाल समूह 'बी' को।

समूह चरणमा आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि ३-० गोलले जित निकाल्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६-० गोलको जित निकाल्यो। त्यस्तै तेस्रो खेलमा भारतलाई ३-० गोलअन्तरले हराउँदै समूह विजेत बन्यो। सेमिफाइनलमा समूह 'बी' को उपविजेता बनेको भुटानलाई ८-० ले हराउँदा बंगलादेश जारी प्रतियोगितामा २० गोल गरेर क्लिन सिट राखेको छ।

अर्कोतर्फ समूह 'ए' मा आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोलले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो। समूह विजेता बनेर सेमिफाइनल पुगेको नेपालले समूह 'ए' को उपविजेता भारतमाथि १-० गोलको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपालले जारी प्रतियोगितामा ११ गोल गरेर क्लिन सिट राखेको हो।

सन्यासको तयारीमा तीन नेपाली खेलाडी

नेपाली टोलीका तीन जना खेलाडीले आजको खेलपछि सन्यास लिने तयारी गरेको नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताए। यद्यपि ती खेलाडी को हुन् भन्ने विषयमा भने खुलाउन चाहेनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell