ताइवानमा ६.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कयौं घरहरु भत्किएका छन् भने सडक अवरुद्ध भएका छन्। भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु भएको र १४६ भन्दा बढी मानिस घाइते भएको ताइवान न्यूजले जनाएको छ।
भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छ। चिसहाङ शहरलाई केन्द्र बनाएको भूकम्पका कारण पुलहरु भत्किएका छन्। जसकारण केही गाउँहरुसँग सडक सञ्जाल अवरुद्ध भएको छ।
भूकम्पको कम्पन कैद भएका भिडियोहरु अहिले सामाजिक संजालमा सेयर भइरहेका छन्। प्रभावितहरुलाई बस्नका लागि अहिले तीनवटा अस्थायी क्याम्प निर्माण गरिएको छ।
भूकम्पपछि परकम्प आउने क्रम जारी रहेको ताइवानी अधिकारीहरुले बताएका छन्। भवनमा फसेकाहरुको उद्धार गर्न रेस्क्यू फोर्स परिचालन गरिएको छ। हुलियन काउन्टीको युली शहरमा ८६ जना पर्यटक फसिरहेको र फुली शहरमा ४०० जन पर्यटक उद्धारको पर्खाइमा रहेको जनाइएको छ। उद्धारका लागि स्थानीय सरकारले १२० गाडी, पाँच हेलिकप्टर, २७८ उद्धारकर्ता, ८ वटा रेस्क्यू कुकुरहरु परिचालन गरिएका छन्।
भूकम्पका कारण हालसम्म २ लाख ११ हजार ८३४ घरहरुमा बिजुलीको समस्या रहेको र ६५४ घरमा विद्युत आपूर्ति नै रोकिएको छ। ४ हजार ७७२ घरमा पानीको अभाव भएको छ। प्रभावितहरुलाई राहत दिन र विद्युत र पानी वितरण सहज बनाउन रेस्क्यू टिम परिचालन गरिएको छ।