काठमाडौं : कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ मार्फत अन्जना बराईली डेब्यु गर्दैछिन्। मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अन्जना यसफिल्ममा अडिसन मार्फत छानिएकी हुन्।
अञ्जनाले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए।
मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अन्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छिन्। ‘म यहाँको लागि नौलो मान्छे। मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो। अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’ उनले भनिन् ।
कार्तिक ११ प्रदर्शन हुने फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, लगायतको अभिनय छ। यसै फिल्म मार्फत अन्जना झैँ अरुण क्षेत्री पनि डेब्यु गर्दैछन्।
फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ।
षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्। फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा र जात्रै जात्रा’ मा सहकार्य गरिसकेका छन्।