PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

निवर्तमान महिला सांसदलाई विद्यार्थीको प्रश्नः सदनभित्रै विभेद छ भन्नुहुन्छ बाहिरको असमानतासँग कसरी लड्नुहुन्छ?



रिना थापा

निवर्तमान महिला सांसदलाई विद्यार्थीको प्रश्नः सदनभित्रै विभेद छ भन्नुहुन्छ बाहिरको असमानतासँग कसरी लड्नुहुन्छ?

पोखराः २०७४ सालमा प्रतिनिधि सभा सदस्य बनेपछि एमाले सांसद आशाकुमारी विकलाई पहिलोपटक बोल्ने समय पाउन डेढ महिना लाग्यो। आफ्ना क्षेत्रका कुरा राख्न हुटहुटी त थियो तर समय बोल्न समय पाएकी थिइनन्।

आँट गरेर विकले विशेष समयमा बोल्न माग गरिन। तर उनलाई प्रतिक्रिया आयो -'विशेष समय त विशेष सांसदहरुको लागि पो त।'

सोमबार पोखरामा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसीको आयोजनामा निवर्तमान सांसदहरुसँग विद्यार्थीको अन्तरक्रियामा अनुभव सुनाउँदै सांसद विकले भनिन।

‘नेकपा (एमाले) ठूलो पार्टी भए पनि समय पाउन गाह्रो हुने। टाइम पाउन हामीले सांसद बनाएर पठाएको यति मान्छेलाई भत्ता खान के गरे भनेर यति गाली गर्छन्। त्यहाँभित्र टाइम लिनका लागि यति संघर्ष,’ उनले अनुभव सुनाउँदै भनिन्,‘विशेष समय भनेको विशेष मान्छेको लागि भनेर एक जनाले प्याच्च भनिहाल्नु भयो। त्यति साह्रो त नभन्नुपर्थ्यो नि हामी पनि विशेष त हो नि। एउटा भूगोलबाट प्रतिनिधत्व गरेर आएको हो। पछि रिक्वेष्ट गरेपछि टाइम पाएँ।’

अन्तरक्रियामा पूर्वसांसद विद्या भट्टराई, लक्ष्मी चौधरी, कलिला खातुनको उपस्थिति थियो। जहाँ पूर्वसांसदहरुले पाँच वर्षको कार्यकालको अनुभव सुनाए।

योजनाका विषयमा कुरा गर्न जाँदा कर्मचारीले पनि विभेद गरेको सुनाउँछिन् विक। सम्बन्धित शाखा अधिकृतसँग योजनाका विषयमा भेटघाट गर्न घण्टौं पर्खिनुपरेको अनुभव छ उनको। योजना पारे पनि दुर्गम क्षेत्रमा सरकार नजाँदा योजनाको बजेट पनि फ्रिज भएको उनको गुनासो छ ।

‘हामी दर्गुन सकेम, खट्न सकेम जवाफ दिन सकेम सहनशीलता पनि भयो। शाखा अधिकृतकोमा गएर कुरेर सांसद बस्ने धैर्यता कम होइन नि त। अधिकृतले फोन सिध्याएपछि तोक लगाएर काम गर्दासम्मको धैर्यता भयो। यो धैर्यता महिलामा बढी हुन्छ पुरुष भएको भए त्यहीँ एक झापड लगाएर हिँड्थे। योजना त पर्‍यो बजेटमा त आयो अनि हाम्रो भूगोलमा बझाङ जस्तो ठाउँमा कर्मचारी छैनन् दुर्गममा त जाँदै जाँदैन नेपाल सरकार। त्यो दुःख गरेर पठाएको बजेट फ्रिज हुन्छ,’ उनले सुनाइन। 

मिडियाले महिला सांसदले उठाएको विषयवस्तुलाई नसमेटेको गुनासो छ उनको।

महिला सांसदले विभिन्न हिंसा भोग्नुपरेका तीतो अनुभव विकको छ।

कार्यक्रममा निवर्तमान सांसद भट्टराईले महिला सांसदको पारिवारिक पृष्ठभूमिबाट व्यक्तित्व चित्रण गर्ने विभेदपूर्ण प्रवृत्ति रहेको सुनाइन।

‘पदलाई हेर्न दृष्टिकोण फरक छ । सांसद त सबै सांसद हो नि त। उसको सामाजिक पारिवारिक पृष्ठभूमि सामूदायिक र भौगोलिक पृष्ठभूमि सबै कुरा राखेर उसको व्यक्तित्वलाई बुझ्ने गरिन्छ। त्यो सबै कुराको आधारमा समाजले जून व्यक्तित्व चित्रण गरिहँदा त्यहाँ विभेद हुन्छ। डेढ वर्षसम्म मलाई पनि मेरो श्रीमानको पृष्ठभूमिसँग जोडिएर गर्ने विभेद भयो,’ उनले सुनाइन्।

३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने बाध्यकारी नियमले सदनमा महिलाको अनुहार देखिए पनि निर्वाचन लड्नका लागि कम आँक्ने प्रवृत्ति रहेको सुनाउँछिन् लक्ष्मी चौधरी।

‘बाध्यकारी नियम आएपछि महिलाको अनुहार आयो। कोही थारु, कोही दलित र मुस्लिमबाट पनि छन्। अब महिलाहरुलाई प्रत्यक्षबाट जनतासामु जान चाहान्छौं। संघमा नदिए प्रदेशमा प्रत्यक्ष दिनु भनेका छौं। पुरुष त्यहीँबाट लडेर जित्ने महिला नजित्ने हुन्छ र?,’ प्रश्न गर्दै भनिन, ‘हामीलाई कस्तो ब्लेम लगाइयो भने महिला कमजोर छन्। आर्थिक पाटो जोडियो। घरायसी समस्या छोराछोरी सबैले गर्दा उनीहरुले सक्दैनन् भन्ने छ। अब, महिला प्रत्यक्षबाट आउनुपर्छ।’

समानुपातिक महिला सांसदलाई गर्ने व्यवहार विभेदपूर्ण रहेको अनुभव पूर्वसांसद कलिला खातुनले पनि सुनाइन।

‘महिला सांसदलाई विश्वास नगर्ने वातावरण छ। यसलाई चिर्न अब हामी लामो समयको अनुभव लिएर प्रत्यक्ष तर्फबाट जाने भएका छौं,’ उनले भनिन्।

सांसदलाई विद्यार्थीको प्रश्न’

निवर्तमान सांसदहरुको अनुभव सुनेपछि पालो थियो सहभागी विद्यार्थीको प्रश्न सोध्ने। त्यसैबीच कार्यक्रममा उपस्थित अग्रता शर्माले प्रश्न गरिन् -हाम्रा धेरै गुनासो थिए तर तपाईँको गुनासो बढी रैछन। तपाईंहरु आफनो कार्यकाल कतिको सफल भएको मान्नुहुन्छ?

जसमा आशाको उत्तर थियो -सरकारको कार्यकालमा मैले मेरो क्षेत्रका लागि काम गरेको छु जस कारण पनि सन्तुष्ट छु।

कार्यक्रममा उपस्थिति चिरन्जीवी पौडेलले नागरिकता विधेयकबारे सांसदको आफनो विचार बारे प्रश्न गरेका थिए। जसमा चौधरीसहित आशा र कलिलाले एकमत राखेका थिए।

‘आमाको नाममा नागरिकता दिनुपर्छ। तर, अर्को माननीयले भने जस्तै एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता दिनु भने हुँदैन,’ आफ्नो विचार राखे।

सदनमै विभेद रहेको सुनेपछि निशा भारतीले सदनबाहिरको विभेदलाई कसरी चिर्नु सक्नुहुन्छ भन्ने प्रश्न गरिन।

जसमा भट्टराई र विकले जवाफ दिएका थिए। आफूहरुले निरन्तर आवाज उठाउने उनीहरुले बताए।

जवाफमा भट्टराईले भनिन्, ‘असमानता हरेक ठाउँमा छ। यो हाम्रो दिमागमा छ। असमानताबाट हामी ग्रसित हुने होइन। असमानतालाई अन्त्य गर्ने आशा र लक्ष्यसहित अगाडि बढ्ने हो। हामीले जति विभेद भोग्यौँ त्यो तपाईँहरुले भोग्नुपर्दैन। नयाँ पुस्ताले विभेद भोग्नु नपरोस् भनेर अगाडि बढ्ने हो,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell