PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ महिला फुटबलमा 'नयाँ च्याम्पियन', नेपाल सदाबहार उपविजेता



मुकुन्द घिमिरे

साफ महिला फुटबलमा 'नयाँ च्याम्पियन', नेपाल सदाबहार उपविजेता

काठमाडौं: साफ महिला च्याम्पियनसिप सुरु भएको दिन ठूलो झरी परेको थियो। त्यही दिन भुटानमाथि ४-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरुवात गर्‍यो। पछि श्रीलंकालाई हरायो र समूह विजेता पनि बन्यो। तर, सोमबारको झरी पर्दा नेपाल फाइनल खेलको तयारीमा थियो। यो खेलमा भने नेपाल बंगलादेशलाई ३-१ गोलको नतिजा सुम्पँदै प्रतियोगिताको उपविजेतामा सीमित भयो। 

यसपाला साफमा धेरै कीर्तिमान टूटे/बनिए। सबैभन्दा ठूलो कीर्तिमान समूह 'ए' मा बंगलादेशले बनाएको थियो। साफ च्याम्पियनसिपको पाँच पटकको विजेता रहेको भारतलाई पहिलो पटक हराएर। अहिलेको संस्करणसम्म आइपुग्दा भारतले ब्यहोरेको यो पहिलो हार थियो। सेमिफाइनलमा बंगलादेश विजेता र भारत उपविजेता बनेर प्रवेश गर्दा नेपाल समूह 'बी' को विजेता बन्दै यात्रा तय गरेको थियो।

सेमिफाइनलको समीकरण अनुसार नेपालले सेमिफाइनलमा भारतसँग खेल्नु पर्ने भयो। साफ च्याम्पियसिपमा यसअघि सन् २०१६ मा नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो। सोही संस्करणमा मात्र हो नेपाल फाइनलमा नपुगेको। संयोग त्यतिबेला पनि नेपाली टोलीका प्रशिक्षक कुमार थापा नै थिए। र, यसपाला भारतसँग सेमिफाइनल खेलाउने जिम्मेवारी थापाकै काँधमा थिए। यसपाला इतिहास फेरियो। साफ इतिहासमै पहिलो हार ब्यहोरेको पीडा नभुल्दै भारतले ब्याक टू ब्याक हार ब्यहोर्न पुग्यो। नेपालले साविक विजेता भारतलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। सेमिफाइनल चरण सकिँदा स्पस्ट भयो: यसपटक साफ महिला च्याम्पियसिपमा नयाँ च्याम्पियनको आगमन हुँदैछ।

सोमबार च्याम्पियनसिपको फाइनल। दिनभरी घाम लागेर खेल सुरुहुनुभन्दा करिब १ घण्टा अगाडिबाट पानी पर्न सुरु भयो। स्टेडियममाथिको आकाशमा कालो बादल मडारिरहेको थियो। र, नेपाली टोली 'स्वर्ण' सपनामाथि पनि।

वर्षाकेही रोकियो खेल सुरु हुने समयसम्म। दशरथ रंगशाला खचाखच थियो। नेपाली टोलीलाई समर्थन गर्न १५ हजारभन्दा कम क्षमताको रंगशालामा उपस्थित दर्शकहरुको संख्या थियो: १५ हजार ७०३।

फाइनल खेल भने नेपालले सोचे जस्तो भएन। खेलको १३औं मिनेटमै वर्षाले हिलाम्मे दशरथ रंगशालामा बंगलादेशले सामसुन्नरको गोलमा अग्रता लिएको थियो। त्यस्तै ४२ औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल थप्दा पहिलो हाफमा बंगलादेश २ गोलले अघि रह्यो। नेपालले ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा खेलमा फर्कने प्रयास गरेको थियो। तर, ७ मिनेट नबित्दै कृष्णरानीले गोल थप्दै बंगलादेशको जित सुनिश्चित गरेकी थिइन्। र, यसपाला पनि नेपालको च्याम्पियन बन्ने सपना अधुरै रह्यो। र, बन्यो छैटौं संस्करणको साफमा पाँचौ पटक उपविजेता।

यता नेपाललाई जित दिलाउने वाचा गरेका नेपाली टोलीका प्रशिक्षक कुमार थापाले पनि प्रशिक्षकको पदबाट राजीनामाको घोषणा गरेका छन्। उनले नतिजा दिन नसकेको भन्दै सक्षमलाई स्थान छाड्ने भन्दै राजीनामा दिएका हुन्।

'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पुरा गर्न सकिन।' थापाले भने।

उनले आफूले तयारीको पर्याप्त समय ट्रेनिङका लागि पाएको र खेलाडीले पनि आफ्नो योजनामा राम्ररी खेलेको बताउँदै अर्को सक्षम ब्यक्तिलाई बाटो छाडिदिएको बताए। थापाले यसअघि सन् २०१६ मा पनि नेपाली महिला टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

थापाले र कप्तान एन्जिला तोम्बाफोले समर्थक तथा सबैसँग उपाधि दिलाउन नसकेकोमा क्षमा मागे। उनले ट्रेनिङको लागि पर्याप्त समय पाएको तथा खेलाडीले आफ्नो योजनामा राम्ररी खेलेको बताउँदै हार-जित लाई 'पार्ट अफ गेम' का रुपमा विश्लेषण गरे। उनले महिला फुटबलमा थप लगानी आवश्यक रहेको संकेत गर्दै विभागीय बाहेक खेलाडी टिक्न सक्ने अवस्था नरहेको बारे चर्चा गरे।

'हाम्रो स्तर नराम्रो भन्दा हामीले भारतलाई हरायौं। खेलाडीले जति दिए त्यतिमा खुशी छु। तर टाइटल दिन सकिनँ।' थापाले भने।

त्यस्तै कप्तान तोम्बाफोले जित्न चाहेर पनि नसकेको बताइन्। उनले आफ्नै टिमको स-साना गल्तीले गोल खान पुगिएको स्वीकारिन। नेपालले ब्यहोरेको पछिल्लो दुई गोलको कारण डिफेन्डर र गोलकिपर बीचको समन्वयको अभाव मुख्य देखिएको थियो।

अर्कोतर्फ बंगलादेशका प्रशिक्षक छोटोनले आफूले लक्ष्य प्राप्त गरेको भन्दै पहिला गोल गर्नुको फाइदा बंगलादेशालाई भएको बताए।

'हामीले हाम्रो लक्ष्य प्राप्त गर्‍यौं। अब हामी साफको १ नम्बर टिम हौं। हामीलाई समर्थक र घरेलु मैदानको चिन्ता थियो, तर त्यसमा पनि हामीले एडजस्ट गर्‍यौं।' प्रशिक्षक थापाले भने।

घरेलु मैदानको  साफ च्याम्पियनसिपबाट तीन जना नेपाली खेलाडीले सन्न्यास पनि लिएका छन्। जसमा पुनम जर्घामगर, दीपा राई र इन्दिरा राई छन्। उनीहरुलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ तथा राखेप सदस्यसचिव टंकलाल घिसिङले ब्लेजर लगाएर बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell