66.jpg)
काठमाडौ : सोमवार साँझ काठमाडौंको गोठाटारमा गोली लागेका सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को
मृत्यु भयो। उपचारको क्रममा उनको अस्पतलामा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रविन्द्र धानुकले बताए।
उनीमाथि सोमवार साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि चार राउन्ड गोली प्रहार भएको खुलेको छ। गोली लागी घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा उपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको थियो। मोहम्मद रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।
पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले नजिकैबाट गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। गोली प्रहार भएको स्थानीय र मृतकका आफन्तले देखेपछि उनीहरु घटनास्थलबाट पेस्तोल छोडेर भागेका थिए। हत्या भएका मोहम्मद यसअघि नक्कली नोट प्रकरणमा ९ वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको खुलेको छ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मुखैमा रहेको बेला देशको राजधानी तथा सुरक्षा घेरिएको ठाउँमा नै सम्साँझैमा भएको घटनाले सबैलाई आतंकित बनाएको छ। काठमाडौंमा धेरै समयपछि यस्तो गोली प्रकरण भएको हो। यसअघि नयाँ बानेश्वरमा दिउँसोको समयमा निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको थियो।
सञ्चार उद्यमी जमिम शाह, मिर्जा दिलसाद बेग, फैजान अहमदलगायत हाइप्रोफाइल हत्याका मुख्य योजनाकार वर्षौ बितिसक्दा पनि पक्राउ गर्न प्रहरी सफल भएको छैन। त्यस्तै सोमबारको घटना पनि अन्तराष्ट्रिय गिरोहसँग जोडिन सक्ने आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। तर अनुसन्धान जारी रहेकाले यसै भन्ने अवस्था भने छैन।
काठमाडौंभित्र केही हाइप्रोफाइल व्यक्तिको यसरी नै गोली हानी हत्या भएको थियो। २०६९ जेठ १८ मा शंखमुल नजिकैको युएन पार्कमा गोली हानी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरिएको थियो। यो घटनाका मुख्य योजनाकारलाई नै प्रहरीले घटना २ वर्ष ७ महिनापछि पक्राउ गर्यो। समातिएका चुरे भावर पार्टीका उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा अहिले कारागारमा छन्।
यी हुन् अझैसम्म मुख्य योजनाकार फरार रहेका घटना
१. मिर्जा दिलसाद बेग : सिफल
१५ असार, २०५५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यसबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो।
२. कमलसिंह नेपाली : बानेश्वर
२४ भदौ २०६३ मा बानेश्वरमा कमलसिंह नेपालीको हत्या भएको थियो। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली पहिले छोटा राजनको समूहमा काम गर्थे, पछि दाउदका लागि काम गर्न थालेका थिए। छोटा राजन समूहकै निर्देशनमा उनलाई नयाँ बानेश्वरमा गोली हानी मारिएको थियो। उनका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्।
३. जमिम शाह : लाजिम्पाट
२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो। ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो।
४. फैजान अहमद : घण्टाघर
इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।
५. शरद गौचनः नयाँ बानेश्वर
२०७४ असोज २३ गते ल्यान्डक्रुजर प्राडोमा सवार गौचनलाई नयाँ बानेश्वरको प्रग्यान मार्गमा गोली हानी हत्या गरिएको थियो। हत्याको मुख्य योजनाकारको रुपमा प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई पक्राउ गरिसकेको छ। बस्नेत अहिले कारागरामा छन्। त्यस्तै यस घटनाका सुटर रोशन बुढाथोकी, लोप्साङ लामा र अम्बरबहादुर राना मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।