
काठमाडौं : नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त गरिएको फिल्मको आगामी असोज १० गते छायांकन गरिने निर्माण टिमको तयारी छ।
‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहनेछ। बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ।
गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन्। फिल्मको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन्।
फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ। साथै फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने बताइएको छ।
फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जीवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ। फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ।