
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
गठबन्धनले भदौमा प्रत्यक्ष तर्फको १६५ सिटको टुंगो लगाउने बताएको थियो। तर हालसम्म पनि कुनै पनि सिटमा सहमति जुट्न सकेको छैन्।
निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिक तर्फ संघमा ११० सिटका लागि बन्दसूची बुझाउने समय तोकेको थियो। गठबन्धन दलले सोमवार अन्तिम समयमा मात्रै बन्दसूची बुझाएका थिए।
प्रतिनिधिसभाको टुंगो लगाएर प्रदेशमा पनि उम्मेदवारबारे सहमति जुटाउने गृहकार्यमा गठबन्धन छ। त्यसका लागि कार्यदल गठन भएको भए पनि कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु नै पछिल्लो समय सक्रिय भएका थिए।
समानुपातिकक उम्मेदवारको बन्द सूची तयार पार्न गठनबन्धनले एक हप्ताका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटको गृहकार्य रोकेको थियो। गठबन्धन दलहरु आआफ्नो अडानबाट पछि नहटेपछि सहमति हुन सकेको छैन। दलहरुलाई लचिलो भएर सहमतिका लागि तयार हुन शीर्ष नेताहरुले गृहकार्य गरिरेहका छन्।