PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

महिला साफमा भारतको दबदबामाथि बंगलादेशको धावा : नेपालको लय पुरानै, लक्ष्य नभेट्दा कोचको राजीनामा



मुकुन्द घिमिरे

महिला साफमा भारतको दबदबामाथि बंगलादेशको धावा : नेपालको लय पुरानै, लक्ष्य नभेट्दा कोचको राजीनामा

काठमाडौं : सोमवार महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेश साफको च्याम्पियन बन्यो। दर्शकले भरिएको रंगशालामा बंगलादेश च्याम्पियन बन्दै गर्दा यसपाला धेरै कीर्तिमानहरु बने। पाँचौं संस्करणसम्मको प्याट्रन पनि धेरै फेरबदल भए। पहिलो पटक भारतले साफ च्याम्पियनसिपमा हार ब्यहोर्‍यो।

पहिलोपटक भारतबाहेकका दुई टोली फाइनलमा पुगे। बंगलादेशले त चमत्कार नै देखायो। लगानी गरे हुने रहेछ भन्ने भाष्य स्थापित गर्‍यो। बंगलादेशले साफमा नेपाललाई पहिलोपटक हरायो त्यो पनि फाइनलमा। सोमवारको खेलअघिसम्म नेपाल र बंगलादेश ८ पटक आमनेसामने भएका थिए। जसमा ६ पटक नेपालले जित्दा २ पटक खेल बराबरीमा रोकियो। भनिन्छ : कीर्तिमान तोड्नका लागि बन्छन्। बंगलादेशले यसमा आफूलाई 'उस्ताद' नै प्रमाणित गर्‍यो।

त्यसैले त खेलपछि बंगलादेशी प्रशिक्षक गोबना रब्बानी छोटानले फाइनल जितेपछि भने : हामीले हाम्रो लक्ष्य प्राप्त गर्‍यौं। अब हामी साफको १ नम्बर टिम हौं। हामीलाई समर्थक र घरेलु मैदानको चिन्ता थियो, तर त्यसमा पनि हामीले एडजस्ट गर्‍यौं।  

यसपटकको साफका रोचक कुरा :

८ वर्षपछि पाकिस्तानको पुनरागमन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेको कारण पाकिस्तानी टोली लामो समयसम्म अन्तर्राष्ट्रिय फुटबलमा देखा परेन। अझ महिला टोलीले त ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो। साफमा आएर सुरुवात राम्रो गर्न नसके पनि अन्त्य भने सुखद गर्न सफल भयो। समूह चरणबाटै बाहिरिएको पाकिस्तानले पहिलो खेलमा भारतसँग ३-० को हार ब्यहोर्दा  दोस्रो खेलमा बंगलादेशसँग ६-० को हार ब्यहोर्‍यो। तेस्रो खेलमा भने माल्दिभ्समाथि ७-० को जित निकाल्दै अन्तर्राष्ट्रिय फुटबलमा फर्किएकै प्रतियोगितामा जित पनि दर्ता गर्‍यो।

भुटानको इतिहासकै पहिलो जित र सेमिफाइनल

दशरथ रंगशालामा समूह 'बी' को पहिलो खेलमा भुटानले नेपालसँग खेलेको थियो। वर्षाले प्रभावित पारेको उक्त खेलमा नेपालले ४-० को जित निकाल्दै सुखद सुरुवात गर्‍यो। तर, दोस्रो खेलमा भने भुटानले सानदार प्रदर्शन गर्दै श्रीलंकालाई हरायो। उक्त जित भुटानी महिला फुटबल टोलीको पहिलो अन्तर्राष्ट्रिय जित पनि थियो। साफ च्याम्पियनसिपमा खेलमा सबैभन्दा पहिला नेपाल आएर भुटानले अभ्यास गरेको थियो। यसै क्रममा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्दै जित पनि निकालेको थियो। हाइ प्रोफाइल कोरियन प्रशिक्षक राखेको भुटानले यसपालाको प्रदर्शन सुध्रिएको देखियो। सेमिफाइनलमा भने भुटान समूह 'ए' को विजेता बंगलादेशसँग ८-० गोलअन्तरले पराजित भएको थियो।

भारतको पहिलो हार, अनि 'ब्याक टू ब्याक' हार

दक्षिण एसियाली महिला फुटबलमा भारतले सदबाहर विजेताको छवि बनाउन सफल भएको थियो। पाँचौं संस्करणसम्म सबै संस्करणको विजेता भारतले यसअघिसम्म साफको कुनै पनि खेलमा पराजय ब्यहोरेको थिएन्। तर, यसपाला केही फरक भयो। समूह चरणमै बंगलादेशले भारतलाई ३-० गोलले हराएर स्तब्ध बनाइदियो। यसको बावजुद भारत सेमिफाइनलमा त पुग्यो तर नेपालसँग १-० गोलको हार ब्यहोर्दै बाहिरियो। यसपाला साफको इतिहासमा पहिलोपटक यस्तो भइरहेको थियो की फाइनल खेलमा भारत बाहेकका टिम खेल्दै थिए। साफमा कहिल्यै हार नब्यहोरेको भारतले यसपाला हारमात्र ब्यहोरेन ब्याक टू ब्याक हार ब्यहोरेर प्रतियोगिताबाट बाहिरियो।

बदलिएको बंगलादेश

सोमवार दशरथ रंगशालामा साफको फाइनल खेल हुँदै गर्दै नेपाल पाँचौ पटक र बंगलादेशले दोस्रो पटक साफको फाइनल खेल्दै थिए। उसो त प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा बंगलादेशी कप्तान सबिना खातुनले संकेत गरेकी थिइन् : अहिलेको बंगलादेशी टिम पहिलाको जस्तो मात्र छैन। उनले भने जस्तै पनि भयो। अनुभवी र युवा खेलाडीको राम्रो कम्बिनेसन राखेको बंगलादेशले उपाधि नै जित्यो। फुटबल विकासमा ठूलो लगानी गरिरहेको बंगलादेशले प्रतिफल पायो पनि।

नेपाल सदाबहार उपविजेता  

साफको इतिहासमा चार पटक भारतसँग पराजय ब्यहोरेको नेपालले यसपाला धेरै हिसाबले फाइनल जित्नेमा उत्साहित थियो। यसको कारण पनि धेरै थिए। पहिलो घरेलु मैदान र समर्थक। अर्को सँधै उपाधि यात्रामा बाधक रहेको भारत नेपालको अन्तिम प्रतिस्पर्धी थिएन। र, प्रतिस्पर्धी थियो इतिहासमा नेपाललाई कहिल्यै जित्न नसकेको बंगलादेश। त्यसमाथि सेमिफाइनलमै भारतलाई हराएको उत्साह। अझ डेङ्गुले थलिएका खेलाडीसमेत मैदान फर्किएको अवसर। नेपाल च्याम्पियन बन्न 'कन्फिडेन्ट' बन्ने पर्याप्त आधार थिए। फेरि पनि भन्ने पर्छ यो साफ इतिहास दोहोरिएन, नेपालको सन्दर्भमा मात्र होइन अरु देशको सन्दर्भमा पनि। १५ हजार ७०३ दर्शकका बीच भएको फाइनल पराजय ब्यहोर्दा नेपाल फेरि बन्न पुग्यो उपविजेता। इतिहासबाट हेर्दा सदाबहार उपविजेता।

कोचको राजीनामा, सपना अधुरै

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा सन् २०१९ मा नेपालले फाइनलमा भारतसँग २-० गोलको हार ब्यहोरेको थियो। लगत्तै तत्कालीन प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए। यसपाला पनि फाइनलमा नेपाल पराजित हुँदै उपाधिबाट विमुख। र, यसपाला पनि प्रशिक्षक कुमार थापाले राजीनामा दिए।

'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पूरा गर्न सकिनँ,' थापाले भने।

उनले आफूले तयारीको पर्याप्त समय ट्रेनिङका लागि पाएको र खेलाडीले पनि आफ्नो योजनामा राम्ररी खेलेको बताउँदै अर्को सक्षम व्यक्तिलाई बाटो छाडिदिएको बताए। थापाले यसअघि सन् २०१६ मा पनि नेपाली महिला टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell