PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के हो 'प्रेमगीत - ३' विवाद प्रकरण : किन एकापसमा भिड्दैछन् कलाकारहरु?



पहिलोपोस्ट

के हो 'प्रेमगीत - ३' विवाद प्रकरण : किन एकापसमा भिड्दैछन् कलाकारहरु?

काठमाडौं : ‘प्रेम गीत - ३’ को विवाद चर्कँदो छ। गत भदौ ३० गते चलचित्र विकास बोर्डले सुचना प्रकाशित गरेसँगै फिल्मी कलाकारबीच विवाद चर्किएको हो।

बोर्डका अध्यक्ष भुवन केसीले जारी गरेको सुचनामा बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने उल्लेख छ। राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भए प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डको सुचनामा उल्लेख छ। त्यस्तै, अर्को नियममा रिलिजको एक साताअघि स्वदेशी तथा विदेशी फिल्म बोर्डमा सेन्सरको लागि बुझाउनुपर्ने बताइएको छ।

सुचना प्रकाशित हुनसाथ फिल्म ‘प्रेमगीत ३’ का नायक प्रदीप खड्काले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाए। उनले फेसबुकमै स्टाट्स लेख्दै आफ्नो फिल्म रिलिज हुँदामात्रै यस्तो नियम लिएको भनी आक्रोश पोखे। केसीले बोर्डबाट राजीनामा दिनुपर्नेसमेत उनको अडान छ।

‘धेरै अगाडिदेखि प्रेमगीत -३ को विरुद्धमा सक्रिय तत्व छन् भन्ने सुन्नमा आएको थियो। फेरि अहिलेको परिस्थिति हेर्दा होइन भन्न सक्ने अवस्था पनि देखिदैन। प्रेमगीत-३ को हिन्दी भर्जन फिल्मलाई विदेशी फिल्म करार गरी चलचित्र विकास शुल्क भन्ने १५ प्रतिशत अतिरिक्त कर लगाउने भनिएको छ। यो बाहेक हालसम्म नसुनिएको बोर्डको स्वविकेकले तोक्ने शो र सकिने समय पनि सीमित गर्ने निर्णय रिलिजको एक हप्ता अगाडि आउनु अर्को आपत्तिको विषय हो,’ फेसबुकमा प्रदीपले भनेका छन्।

प्रदीप र क्रिष्टिना गुरुङ अभिनित फिल्म ‘प्रेमगीत ३’ असोज ७ गते नेपाल र भारतमा प्रदर्शन हुँदैछ। हिन्दी चलचित्र नेपालमा रिलिज हुँदा प्रदर्शनबाट उठेको १५ प्रतिशत रकम विकास शुल्क स्वरुप तिर्नुपर्ने प्रावधान छ।

तर, ‘प्रेम गीत–३’ का निर्देशक तथा निर्माता सन्तोष सेनले आफ्नो चलचित्रको हिन्दी भर्सनलाई नेपाली चलचित्र सरहको कर छुट दिन विकास बोर्डलाई आग्रह गरे। तर, बिकास बोर्डको तर्क छ - हिन्दी भर्सनको प्रतिलिपि बलिउड फिल्मले किनेको हुँदा विदेशी सरह नै 'प्रेमगीत ३' प्रदर्शनमा कर लाग्छ।

सेनको माग र बोर्डको तर्कपछि सिनेक्षेत्रमा नेपाली फिल्मलाई हिन्दी भाषामा डब गर्नुलाई स्वदेशी मान्ने कि नमान्ने विषयमा बहस सुरु भएको छ। यसै विषयमा असोज २ गते चलचित्र निर्माता संघले एक प्रेस विज्ञप्ति निकाल्यो। संघले नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत माग दाबी गरेको विषयमा बोर्डको ध्यानाकर्षण गराएको थियो।

‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेता पनि विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशीसरहको सेवा र सुविधाको माग दाबी गर्नु कानुनको बर्खिलापमा हुने संघको धारणा थियो।

'देशको नियम र कानुनको अधीनमा रही जो कोहीले पनि जुनसुकै भाषाका सिनेमा प्रदर्शन गर्न सक्दछन् र पाउँदछन्। तर, विदेशी भाषाको सिनेमालाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको माग दाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन-कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो। यही कुरा संस्थाको प्रतिनिधिको रुपमा अध्यक्ष वा अन्य पदाधिकारीबाट अभिव्यक्त भएको हो,' विज्ञप्तिमा लेखिएको छ।

निर्माता संघको विज्ञप्तिसँगै फिल्म क्षेत्रमै सन्तोषको हिन्दी डबलाई नेपाली सरहको कर छुट गर्नुपर्ने चासोको विषय बनेको छ। ‘प्रेमगीत ३’ को हिन्दी डबलाई स्वदेशी मान्ने की नमान्ने विषयमा कलाकारहरुको फरकफरक मत छ। उनीहरू सामाजिक सञ्जालमा आफ्ना मत र अभिव्यक्तिहरू व्यक्त गर्न थालेका छन्।

यसैबिच, हिजोमात्रै निर्देशक तथा कलाकार अशोक शर्माले पनि फेसबुकमार्फत ‘प्रेमगीत ३’ लक्षित एक स्टाट्स लेखे। ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दी भाषामा रिलिज नगर्न उनको आग्रह थियो।

‘प्रेमगीत ३ का निर्माता श्री सन्तोष सेन भाई, वितरक मनोज राठी र गोविन्द शाही, कलाकार प्रदीप खड्का भाइहरुलाई विनम्र अनुरोध छ। नेपालमा उक्त फिल्म नेपाली अझ सम्भव भए हिन्दीमा जस्तै देशका अन्य जातजातिका भाषामा डब गरेर प्रर्दशन गरौ। तर, हिन्दीमा नगरौ। यसको दुरगामी प्रभाव हाम्रो भाषा, संस्कृतिमा र हाम्रो क्षेत्रमा पर्छ। यो मेरो अनुरोध हो, निर्णय तपाइहरुको,’ शर्माले फेसबुकमा भनेका छन्।

दिन प्रतिदिन फिल्म ‘प्रेमगीत ३’ को विवादमा धेरै कलाकारहरु फसिरहेका छन्। भुवन केसी, अनमोल केसी, अशोक शर्मा, झरना थापा देखि सरोज खनाल पनि विवादमा तानिएका छन्। सरोजले एक अन्तर्वातामा अभिनेता प्रदीप खड्काले आक्रोशमा आएर चलचित्र बिकास बोर्डको अध्यक्ष भुवन केसीको राजीनामा माग्ने कुरा गर्न नहुने बताएका थिए।

‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्दैनन् होला अरुलाई ल्याउनुपर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको उनको भनाई थियो।

उक्त भिडियो सेयर गर्दै सन्तोष सरोजमाथि नै खनिए। आफूसँग ‘प्रेम गीत’ निर्माणको समयमा दोहोरो कुराकानीसमेत नभएको उल्लेख गर्दै अग्रज कलाकारले नसुहाउने अभिव्यक्ति दिएको लेखे। सरोजलाई कलाकारहरुमा अमेरिकामा भागेर बस्ने ट्रेन्ड बसाउने नायक भनि आरोपसमेत लगाए सेनले।

सरोज खनालप्रतिको सन्तोषको टिप्पणी गरेसँगै विवाद फेरि चर्किएको छ। कलाकार दीपकराज गिरीले सरोजको बचाउ गर्दै सन्तोषप्रति आक्रोश पोखेका छन्। भुवन केसी, अनमोल केसी, झरना थापा र आफूसँगै सरोजलगायत अन्य कलाकारलाई पनि सन्तोषले गाली गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका उनले।

‘भुवन केसी, अनमोल केसी, झरना थापा, म अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ! यो लिष्ट निक्कै लामो हुँदैछ, दिनप्रतिदिन। सबैलाइ गाली गरेरै फिल्म चलाउने हो? यति राम्रो हाइप हुँदाहुँदै के गरेको यो?’ उनले प्रश्न गरेका छन्।

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने खेल खेलिरहेको सन्तोषप्रति दीपकको आरोप छ।

‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने? अनि आफू मात्रै राज गर्ने हो? घर नै नरहे कहाँ बस्छौ साथी?’ दीपकले थप सोधेका छन्।

‘प्रेम गीत–३’को हिन्दी डबलाई नियम अनुसार कर तिर्न सुझाव दिँदै राम्रो कामका लागि नेपाली भाषाको चलचित्रमा छुट माग्न पनि सुझाव दिएका छन्। आफूलाई पनि गाली गर्ने सम्भावना रहेको भन्दै दीपक अन्याय नबस्ने उनको दाबी छ।

तर अभिनेत्री करिश्मा मानन्धरले पनि ‘प्रेमगीत ३’ समर्थनमा उत्रिएकी छिन्। फेसबुकमा करिश्माले लामो स्टाट्स लेख्दै चलचित्र विकास बोर्डले ‘प्रेम गीत-३’ को प्रदर्शनमा सहजीकरण गर्नुपर्ने बताएकी छिन्। भाषाको विषयलाई लिएर अवरोध सिर्जना गर्न नहुने उनको तर्क छ। चलचित्रकर्मीहरूले पनि निजी स्वार्थभन्दा माथि रहेर यो क्षेत्रलाई अगाडि बढाउनु पर्ने उनको भनाई छ।

‘प्रेमगीत ३’ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर अन्तर्राष्ट्रिय रुपमा देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई विभिन्न भाषा अंग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियन‘ सबै भाषामा स्वरांकन गर्नुपर्छ र संसारभरि नै देखाउनुपर्छ।’ उनले लेखेकी छिन्, ‘यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ। आखिर विकास बोर्ड त्यसकै लागि स्थापना भएको हो। यो संस्थाले चलचित्रकर्मीहरुको मुस्किलको गाँठो फुकाउने हो। नियमहरु हामीले नै निर्माण गरेका हौ र आफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमलाई परिमार्जन गर्न पनि सक्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell