
कैलालीः धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन थालेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसियूमा राखिएको छ। स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पतालले उनलाई अन्यत्रै लैजान रेफर लेटर मङ्गलबार तयार पारेको थियो।
अस्पतालले रेफर गरेपछि प्रशासनले केसीलाई काठमाडौं लैजान सेनाको स्काइ ट्रक मगाएको थियो । तर केसीले काठमाडौं जान अस्वीकार गरेका छन्।
‘स्वास्थ्यमा दिनप्रतिदिन समस्या बढ्दै गएको छ,’ सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. शेरबहादुर कमरले भने, ‘मैले उहाँको यहाँ उपचारमा समस्या हुने देखिएपछि रेफर लेटर समेत तयार पारिदिएको छु। तर उहाँले जान मान्नु भएको छैन।’
कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकाय, नागरिक समाजका अगुवा तथा चिकित्सकहरूले मङ्गलबार बिहानैबाट उनलाई फकाउन खोजे पनि उनले अस्वीकार गरेपछि उक्त प्रयास सफल हुन सकेन। प्रशासनले बल प्रयोग गरेर भने लैजाने प्रयास गरेको छैन।
‘उहाँले अन्य कुरा गर्ने गर्नुभएको छ, र सबै अवस्थामा बोल्न सक्ने अवस्था पनि छैन,’ ‘उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर काठमाडौं लैजाने कुरा गर्नेबित्तिकै जोसँग पनि झर्किने तथा रिसाउने गर्नुभएको छ।’
केसीलाई बुधवार काठमाडौँ लैजाने तयारी गरिएको छ।