PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गण्डकीकी उपसभामुखको आक्रोश : उपसभामुखको के अनुभव हुन्छ, गठबन्धनमा महिलालाई कसले अवसर दिन्छ?



पहिलोपोस्ट

गण्डकीकी उपसभामुखको आक्रोश : उपसभामुखको के अनुभव हुन्छ, गठबन्धनमा महिलालाई कसले अवसर दिन्छ?

पोखरा : गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख सिर्जना शर्माले दलहरुको मानसिकताका कारण महिलाको भूमिका खुम्चिँदै गएको बताएकी छिन्। मंगलवार पोखरामा आयोजित प्रतिनिधि सभाका निवर्तमान सांसदहरुसँगको अनुभव साटासाट कार्यक्रममा आफ्नो अनुभव राख्दै शर्माले यस्तो बताएकी हुन्।

‘३३ प्रतिशत कहाँ गएर अल्झियो। कास्कीका कतिवटा पालिकामा महिलाले प्रमुख पाए त! अनि यसमा महिलाको अधिकार कहाँ गएर झुण्डियो? यो विषयवस्तु किन उठान नगर्ने त? होइन भने हाम्रो अधिकार खुम्चिन्छ। डाटा राख्नुहोस् हिजो कति प्रतिशत आए अब कति आउँछन्। गठबन्धनमा महिलाहरुलाई कसले अवसर दिन्छ?,’ उनले प्रश्न गरिन्। 

संघीयता आइसकेपछि बनेका सात प्रदेशमा बाध्यकारी नियमकै कारण महिलाको सहभागिता भयो। तर, सातै वटा प्रदेशमध्ये कुनैपनि प्रदेशमा महिलाले सभामुखको पद पाएनन्। यसमा पनि दलहरुसँग गुनासो रहेको बताइन् उनले।

‘लाजमर्दो छ। मैले प्रश्न उठाउँछु। सबै पार्टीलाई लाज हुन्न? एउटालाई मात्र भन्दिन सबैलाई। सात वटा प्रदेशमा एउटा सभामुख दिन सके महिलालाई? म पनि उपसभामुख मै लापा खान गएँ अर्को पनि उपसभामुखमै लापा खायो। मैले सकिन होला तर एउटा एउटा सभामुख त दिन सक्थ्यो होला। दियो?,’ उनले थप प्रश्न गरिन्।

संवैधानिक पदमा एक महिला अनिवार्य हुनुपर्ने नियम भएकै कारण उपसभामुखमा महिलाको उपस्थिति भएपनि अनुभव लिने विषयमा उपसभामुखको भूमिका छायाँमा परेको अनुभव छ उनको। व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा मात्र उपसभामुखले सदन चलाउन पाउने नियम छ। यद्यपि सभामुखको अनुपस्थितीमा उपसभामुखले सदन चलाएपनि कुनैपनि विधेयक सदर गर्न पाउने अधिकार भने छैन। सभामुखको अनुपस्थितिमा मात्र उपसभामुखले आफनो भूमिका निर्वाह गर्नुपर्ने व्यवस्थाका कारण अनुभव संगाल्न नपाएको सुनाउँछिन् शर्मा।

‘मेरो अनुभव भन्नुहुन्छ भने उपसभामुखको के अनुभव हुन्छ? संविधानले किटानीका साथ भनेको छ सभामुख राजिनामा दिए बिरामी भए वा उहाँको अनुपस्थितिमा मात्र पालो दिने भनेको छ,’ शर्माले भनिन्, ‘हामीले सभामुखको अनुपस्थिति कुर्नुपर्ने हुन्छ नत्र पालो त आउँदै आउँदैन हाम्रो। अनि पालो आइसकेपछि पनि सुरु गर्न नपाउने, अन्त्य गर्न नपाउने, सदर गर्न नपाउने यस्तो स्थिति छ महिलाहरुको अनि अनुभव के भन्ने? मेरो अभ्यास के भनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell