PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनी प्रदेशको जनसंख्या : गुल्मीमा घट्दो, तिलोत्तमामा बढ्दो



रमेश पराजुली

लुम्बिनी प्रदेशको जनसंख्या : गुल्मीमा घट्दो, तिलोत्तमामा बढ्दो

बुटवल : जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण बस्ती रित्तिन थालेका छन्। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये गुल्मीका सबै १२ वटा पालिकामा जनसंख्या घट्दो क्रममा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षको अवधिमा गुल्मीमा ३३ हजार ३३४ जनसंख्या घटेको देखिएको छ। २०६८ मा कूल २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २०७८ सम्म आइपुग्दा घटेर २ लाख ४६ हजार ८२६ रहेको प्रारम्भिक नतिजामा उल्लेख छ।

पछिल्लो १० वर्षको अवधिमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या घटेको छ। वार्षिक २.१४ प्रतिशतले जनसंख्या घटिरहेको कालीगण्डकीको गाउँपालिकामा २०६८ मा जनसंख्या १८ हजार आठ सय ७६ थियो। त्यसको १० वर्षपछि २०७८ मा उक्त संख्या १५ हजार १०६ मा झरेको छ।

गाउँपालिका प्रमुख बेदबहादुर थापाले आर्थिक रुपमा सम्पन्न भइसकेपछि गाउँ छाड्नेको संख्या बढेको बताए। ‘यूवाहरुमा वैदेशिक रोजगारीको मोह बढ्दै गएको छ। पछिल्लो समय जापान, कोरीयासँगै यूरोपका देशहरुमा जाने यूवाहरुको संख्या बढ्दो छ। फर्केर आउनेहरू नभएपछि जनसंख्या घट्ने नै भयो,’ उनले भने, ‘राम्रो शिक्षा, रोजगारी र अवसरहरू खोज्दै मानिसहरू यहाँबाट बिदेश पलायन भइरहेका छन्। श्रीमान् रोजगारीका लागि विदेश जाने र श्रीमती छोराछोरीको शिक्षादीक्षाका लागि शहरतिर सर्ने कारणले पनि गाउँहरू रित्तिँदै छन्।’

गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर यूवालाई प्रोत्साहन गरेको उनले बताए। कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि यूवाहरूलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई गाउँपालिकाले अघि सारेको गाउँपालिका प्रमुख थापाको भनाई छ । सेवा, सुविधा र पूर्वाधार संरचनामा अगाडि मानिएको गुल्मीको सदरमुकाम समेत रहेको रेसुंगा नगरपालिकामा समेत जनसंख्या घट्दो क्रममा छ।

गुल्मीसँगै पाल्पा र अर्घाखाँची जिल्लासहित लुम्बिनी प्रदेशका ३० वटा पालिकामा जनसंख्या घट्दो छ। बसाइसराइका कारण जनसंख्या घट्दो रहेको देखिएको हो। पाल्पाका १० पालिकामध्ये तानसेन र रामपुर नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको जनसंख्या घट्दो छ। यसरी जनसंख्या घट्नेमा निस्दी गाउँपालिका लुम्बिनी प्रदेशका सबै स्थानीय तहभन्दा अगाडि छ। यो गाउँपालिकामा गएको १० वर्षमा वार्षिक २.३९ प्रतिशतले जनसंख्या घटिरहेको तथ्यांकले देखाएको छ। उक्त अवधिमा जनसंख्या चार हजार नौ सय ८२ ले घटेर १७ हजार छ सय २९ मा झरेको छ।

त्यस्तै अर्घाखाँचीका ६ मध्ये ५ वटा पालिकाको जनसंख्या घटेको छ। पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा जनसंख्या घटेको छ। भने, भूमिकास्थान र शीतगंगा नगरपालिकामा पनि जनसंख्या घटेको छ। यसैगरी प्यूठानका ९ मध्ये ३ वटा पालिकाको जनसंख्या घटेको छ। प्यूठानको मल्लरानी, ऐरावती र झिमरुक गाउँपालिकामा जनसंख्या घटेको छ। दाङका १० वटामध्ये एउटा, बर्दियाको ७ मध्ये एउटा पालिकामा पनि जनसंख्या घटेको छ। पछिल्लो १० वर्षमा लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा र रुकुम पूर्वका पालिकाहरूमा भने जनसंख्या केही स्थिर देखिएको छ।

तिलोत्तमामा भने जनसंख्या बढ्दो

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी जनसंख्या बढ्दै गएको पालिकामा रुपन्देहीको तिलोत्तमा नगरपालिका देखिएको छ। पछिल्लो १० वर्षको अवधिमा तिलोत्तममामा ४९ हजार ५०८ जनसंख्या थपिएको छ। यो भनेको ३.८५ प्रतिशतले बढेको हो। जुन लुम्बिनी प्रदेशका १०९ वटा पालिकामध्ये सबैभन्दा बढी तिलोत्तममा बढेको देखिएको हो।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार रूपन्देही जिल्लामा १० वर्षको अवधिमा २ लाख ३८ हजार ७७९ जनसंख्या थपिएको छ। हाल रुपन्देहीको कूल जनसंख्या ११ लाख १८ हजार ९७५ छ। २०६८ को जनगणनाअनुसार त्यहाँको जनसंख्या ८ लाख ८० हजार १९६ रहेको थियो। त्यस्तै लुम्बिनी प्रदेशमा जनसंख्या बढ्ने दोस्रो पालिकामा बाँकेको कोहलपुर नगरपालिका रहेको छ। त्यहाँ ३.३६ प्रतिशतले जनसंख्या बढेको छ। तेस्रोमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, चौथोमा रुपन्देहीकै देवदह नगरपालिका र पाँचौमा नवलपरासीको सुनवल नगरपालिका रहेको छ।

पहाडी क्षेत्रको जनसंख्या घट्ने र तराईको द्रुतगतिमा बढ्ने भएपछि दुवैतिर समस्या सिर्जना हुने विज्ञहरुले बताएका छन्। तराईमा बसाइँसराइ गरेर आउँदा नेपालको हिमाली र पहाडी जिल्लामा जनसंख्या घट्ने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ। जनसंख्या बढ्दै गएपछि यसको व्यवस्थापनका लागि स्थानीय तहहरु चनाखो हुनुपर्ने विज्ञको सुझाव छ।

पहाडमा भौतिक सुविधाको अभावले मानिसहरु तराईतिर झरेको देखिन्छ। तर पछिल्ला केही वर्षमा पहाडका गाउँगाउँमा शिक्षा, स्वास्थ्य, सडकलगायतका सेवा, सुविधा थपिएपनि बसाइँसराइको क्रम झन् बढेको पाहिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell