
काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको बताएको छ। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानमै प्रहार गरेको निष्कर्ष निकालेको हो।
'प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गर्दछ,' गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थाकै उल्लंघन गरेको गठबन्धनको ठहर छ। गैरसंवैधानिक कदमबाट भण्डारीले संसदको अवमूल्यन गरेको निचोड गठबन्धनले निकालेको हो ।
'राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मुल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ,'विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिको कदमबारे सचेत रहन पनि गठबन्धनले आह्वान गरेको छ।
असोज ४ को मध्यरातसम्मको समयसीमा भित्र राष्ट्रपतिले विधेयकले प्रमाणिकरण नगरेर अस्वीकार गरेकी हुन्।साउन २९ गते भण्डारीले विधेयकलाई आफ्नो सन्देश सहित पुन: संसदमै पठाएकी थिइन। संसदका दुवै सदनबाट पारित गरेर फेरि सरकारले विधेयक प्रमाणिकरणक लागि भण्डारीलाई भदौ २० मा पठाएको थियो। दोस्रो पटक पनि विधेयक प्रमाणिकरण नगरेपछि राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विरोध पनि भइरहेको छ।