.jpg)
काठमाडौं : नेपाली फुटबल टोली पछिल्लो दुई महिना व्यस्त रह्यो। फुटबल टोलीले उमेरसमूहमा समेत गर्दा पछिल्लो दुई महिनामा पाँचवटा प्रतियोगितामा सहभागिता जनाएको छ। सेप्टेम्बर महिनामै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल खेल्न अझै बाँकी छ। पाँचवटा प्रतियोगितामा सहभागिता जनाउँदा दुईवटामा फाइनल खेल नेपालले खेलेको छ भने बाँकी प्रतियोगितामा नेपालको प्रदर्शन निराशाजनक छ।
साफ यू २०
भारतको भुवनेश्वरमा सम्पन्न साफ च्याम्पियनसिपमा सुरुवात राम्रो गरे पनि नेपालले आफ्नो लय बनाएर राख्न सकेन। जुलाई २५ देखि अगस्ट ५ सम्म नेपालले चार खेल खेल्दा दुईवटामा जित, एउटामा हार र एउटा खेल बराबरी खेलेको थियो। पहिलो खेलमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४-० को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।
तस्बिर एनएसजेएफ
त्यस्तै दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३-० गोलको जित निकाल्यो नेपाली टोलीले। तेस्रो खेलमा भने नेपालको लय खराब देखियो। र, घरेलु टोली भारतसँग ८-० को लज्जास्पद हार ब्यहोर्न पुग्यो। अन्तिम खेलमा भने नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरियो।
फानइलमा भारतले बंगलादेशमाथि ५-२ गोलको जित निकाल्दै च्याम्पियन बन्यो।
साफ यू १७
श्रीलंकाको कोलम्बोमा सम्पन्न साफ यू १७ च्याम्पियनसिपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्यो। नेपालले प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो।
तस्बिर: साफ
नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। सेमिफाइनलमा श्रीलंकामाथि ६-० को सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो नेपालले। फाइनल खेलमा भने भारतसँग ४-० गोलले पराजय ब्यहोर्दै नेपाल बाहिरियो।
एएफसी यू २० एसिया कप छनोट
साफ यू २० खेलेर राम्रो म्याच एक्पोजर पाएको नेपाली यू २० टोलीको बहराइनमा सम्पन्न यू २० एसिया कप छनोटमा प्रदर्शन बिर्सनलायक रह्यो। प्रतियोगिताको पहिलो खेलमा भुटानसँग पराजित भएर नेपालले सुरुवात गरेको थियो। भुटानसँग २-१ को पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले बहराइनको वातावरणमा घुलमिल हुन पर्याप्त समय नपाएको र खेलाडी बिरामी भइदिँदा नतिजा बिग्रिएको बताएका थिए।
तस्बिर: एनएसजेएफ
तर, नेपालको खराब नतिजाको शृङ्खला प्रतियोगिता अवधिभर रोकिएन। दोस्रो खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित हुन पुग्यो। त्यस्तै तेस्रो खेलमा बहराइनसँग ६-० गोलको पराजय व्यहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग ३-० गोलअन्तरले हार्यो।
अन्तिम खेलसम्म आइपुग्दा नेपालले 'ब्याक टू ब्याक' हार मात्र व्यहोरेन्,खेलाडीले संयम पनि गुमाए र अनुशासनबाहिरका हर्कत गरे। नेपाली टोलीका कप्तान आयुस घलानले बंगलादेशी खेलाडीलाई माझी औँला देखाउँदा रेडकार्ड खाँदै बाहिरिए। त्यसअघि नै एउटा रेड कार्ड व्यहोरिसकेको नेपाल ९ खेलाडीमा सीमित बन्यो। र, अन्मिम खेल बंगलादेशलाई सुम्पँदै अंकविहीन भएर घर फर्कियो।
साफ महिला च्याम्पियनसिप
काठमाडौंमा सोमवार साफ महिला च्याम्पियनसिप सम्पन्न भयो। यसपालाको साफमा धेरै कीर्तिमान टुटे र बनिए। तर, एउटै कुरा समान रह्यो: नेपालको स्थान। पाँचौ संस्करणसम्म एउटा पनि खेलमा पराजित नभइ च्याम्पियन बनेको भारत यो संस्करणमा 'ब्याक टू ब्याक' हार व्यहोर्दै फाइनल नपुग्दै बाहिरियो। नेपालले साफमा पहिलो पटक भारतलाई हरायो।
तर, फाइनलमा बंगलादेशसँग ३-१ गोलअन्तरले पराजित हुँदा सदाबहार उपविजेताको इतिहासलाई दोहोर्यायो। समूह चरणमा भुटानमाथि ४-० र श्रीलंकामाथि ६-० गोलको जित निकालेको नेपालले सेमिफाइनलमा भारतमाथि १-० को ऐतिहासिक जित निकालेको थियो। तर, फाइनलमा बंगलादेशसँग पराजित हुँदा फेरि नेपाल उपाधिबाट विमुख बन्न पुग्यो।
मैत्रीपूर्ण खेलको तयारी
नेपाली पुरुष फुटबल टोलीले सेप्टेम्बर २७ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ। पछिल्लो खेलमा इण्डोनेसियासँग खेल्दा भन्दा यसपटक नेपाली टोलीमा ठूलै परिवर्तन छन्। उक्त प्रतियोगितामा गएका म्यानेजर, प्रशिक्षक तथा अन्य अफिसियल पनि फरक छ। सो प्रतियोगिता अघि प्रशिक्षकसँगको टसलमा बाहिरिएका ११ खेलाडी पनि टोलीमा फर्किएका छन्।
खासमा भन्दा त्यसपछि एन्फाको नेतृत्व नै फरक छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिनु अघि नै एन्फाले नेपाली टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमागाइलाई दिएको थियो। नेपाली टोली हाल खेलको तयारीमा छ।