काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले राष्ट्रपति विद्यादेवी भण्डारले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको नामै नलिएर पुनले संविधानको प्रमुख पालकबाटै संविधान संरक्षण नहुनु दु:खद् पक्ष भएको बताएका हुन्।
बुधवार विज्ञप्ति जारी गरेर पुनले संविधानको दायर भन्दा बाहिर जान छुट कसैलाई नभएको उल्लेख गरेका छन्।
'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्,' पुनले भनेका छन्,' यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो। संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन।'
राष्ट्रपति भण्डारीले सरकारले दोस्रो पटक भदौ २० गते पठाएको नागरिकता विधेयक पनि अस्वीकृत गरेपछि उनको चर्को आलोचना भइरहेको छ। सत्ता गठबन्धनले पनि विज्ञप्ति जारी गरेर राष्ट्रपतिको कदमको विरोध गरेको छ। पहिलोपटक सो विधेयकलाई भण्डारीले आफ्नो सन्देश सहित संसदमै फिर्ता पठाएकी थिइन। सत्ता गठबन्धनले उक्त विधेयकलाई संशोधनबिनै सदनबाट पारित गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्नका लागि पठाएपछि भण्डारी सरकारप्रति नै असन्तुष्ट बनेकी थिइन।