PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लालदरबारकै हिस्सा थियो टुकुचा बगिरहेको सुरुङमार्ग : राणाहरुले बेचेपछि आयो जनताको नाममा लालपूर्जा अनि ठडिए घर



सहयोग रञ्जित

लालदरबारकै हिस्सा थियो टुकुचा बगिरहेको सुरुङमार्ग : राणाहरुले बेचेपछि आयो जनताको नाममा लालपूर्जा अनि ठडिए घर

टुकुचा भेटियो!

भाद्र ३० गते प्राय सबै समाचारको हेडलाइन करिब यस्तै यस्तै थिए। व्यस्त काठमाडौं शहरको मध्य भागमा खोला नै भेटियो भने पछि अचम्म हुने नै भयो। तर,हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा टुकुचा (तुखुचा/ईक्षुमती) लुकाएर राखिएको हो, सुरुङमार्ग बनाएर।

वीरशमशेर जबरा प्रधानमन्त्री हुँदा उनले पटाङ्गिनी (सम्म परेको फराकिलो चउर) बनाउनका लागि टुकचालाई सुरुङमार्ग बनाएको तथ्य अहिले अघि आएको छ।

हाल सुरुङमार्ग भेटिएको हात्तीसार क्षेत्र लाल दरबार अन्तर्गत रहेको सीमसार क्षेत्र हो। लाल दरबार अहिले पनि 'याक एन्ड यती होटल' का रुपमा जिवित छ। तर, लाल दरबार अन्तर्गतका प्राय जग्गा जमिन बिक्री भइसक्यो। यो वीर शमशेरको दरबार हो। उनैले बनाउन लगाएको सुरुङमार्ग अहिले भेटिएपछि टुकुचाबारे नयाँ बहस थालनी भएको छ।

स्याल कराउने र बाँसको झाडी रहेको टुकुचा खोल्सो रहेको यो क्षेत्रको जमिन उब्जाउ भूमी थियो। लाल दरबारकै क्षेत्रमा टुकचासँगै पासिको अजिमाको मन्दिर छ। नेपाल भाषामा पासि भनेको नासपाति हो। यसले यो क्षेत्रमा पहिला नासपाति धेरै फल्ने भनेर बुझ्न सकिने स्थानीय बताउँछन्। हाल भेटिएको सुरुङमार्गको सम्बन्ध पासिको अजिमाको मन्दिरसँग पनि रहेको बताइन्छ। खोल्सोको बहाब बढ्दा यो मन्दिर परिसर जहिल्यै डुबानमा पर्ने भएकाले जनताले नै दरबारमा बिन्ती पत्र चढाएर समस्या समाधान गर्न अपील गरेका थिए। त्यसपछि यो क्षेत्रमा (हाल जय नेपाल रहेको स्थानदेखि कमलादीसम्म) सुरुङमार्ग निर्माण भएको स्थानीयको कथन छ।

जय नेपाल हल परिसरमा टुकुचा उत्खनन् गरिँदै


कालान्तरमा राणाशासनको अन्त्यसँगै दरबारहरुका जग्गा बेचिए। सुरुमा राणाकै आफन्त, दरबारका भारदारहरुमा जग्गा वितरण भयो। पछि ती जग्गा अरुलाई पनि बिक्री हुन थाल्यो। आम जनताले पनि त्यहाँको जग्गा किने। त्यही क्रममा बेचियो पटाङ्गिनी पनि। अनि काठमाडौंमा शहरीकरणसँगै घरहरु बन्न थाले। भौतिक विकासको रफ्तारमा अघि हिँडेको काठमाडौंलाई पटाङ्गिनी मुनी सुरुङमार्ग रहेको कुरा थाहा भएन। ऊ खोजिरह्यो टुकुचा।

करिब दुई वर्ष अघि सम्पदा अभियन्ताहरुले हात्तीसारमा ढुंगेधारा रहेको भन्दै उत्खनन गरेका थिए। तर, कुनै ढुंगेधाराको अवशेष फेला नपरेपछि निर्माण कार्य अघि बढ्यो। उत्खननका क्रममा अहिले जय नेपाल हलमा खनिएको भन्दै अझै गहिरोसम्म डोजरले खनिएको थियो। तर केही भेटिएको थिएन। अहिले टुकुचा भने सोही भवन क्षेत्र मुनिबाट बग्ने भेटिएको हो।

भाद्र ३० गते भने महानगरले त्यही पुरातात्विक १३० वर्ष पुरानो सुरुङमार्ग नै फुटायो, टुकुचा उत्खननको नाममा।

टुकुचा बगिरहेको सुरुङमार्ग


हुनत: बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुनुभन्दा अघि नै टुकुचा खोज्ने प्रयास भएको हो। सन् २०२० मै टुकुचाबारे अनुसन्धान गरिएको थियो, जसको रिपोर्ट सार्वजनिक रुपमा पाउन सकिन्छ। र, त्यसअघि पनि टुकुचाबारे अध्ययन भएका थिए। तर, ती अनुसन्धानमा टुकुचामाथि घर बनेको मात्र उल्लेख छ। सुरुङमार्गको कुरा कतै छैन। यसको अर्थ सुरुङमार्ग बनेको बारे सरकारी निकाय नै अनभिज्ञ थिए।

अनभिज्ञता तब तोडियो तब जय नेपाल हलको कम्पाउण्डमा डोजर चल्यो। अनि वीर शमशेरले नै सहीछाप गरेर पटाङ्गिनी निर्माण गरेको दस्तावेज बाहिर आयो। सो कागजपत्रमा वि सं १९४९ वैशाखमा टुकुचामाथि पटाङ्गिनी बनाउन जग्गा अधिग्रहण गरि(रोपनी १ को २०० मोरु दरले) टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको भनेर उल्लेख छ।

अब भने महानगरपालिकाले हात्तीसारदेखि कमलादी (करिब ५०० मिटर) लामो सुरुङमार्गमा बगिरहेको टुकुचा खुलाउने अभियान चलाएको छ। सुरुङमार्ग रहेको अत्तोपत्तो नै नभएको महानगरका कर्मचारीहरु सुरुङमार्ग आफूले नचिन्ने अभिव्यक्ति दिइरहेका छन्। डोजरले सुरुङमार्ग नै भत्किएपछि बहस छेडिएको छ : सम्पदा बचाउने कि भत्काउने।

'खोला छोपेर घर बनाएको होइन'

अहिले टुकुचामाथि बनेका जति घरहरु छन्। ती प्रायको लालपुर्जा छ। नक्सा पास गरेरै घर बनाइएको छ। तर, महानगर भने आफूले टुकुचा मात्र चिन्ने, कागजपत्र नचिन्ने प्रतिक्रिया दिइरहेको छ। निजी सम्पत्तिको रुपमा सरकारबाटै प्रमाणित कागजपत्र देखाउँदा महानगर प्रहरी 'टेक्निकल विषय' आफूलाई थाहा नभएको र घर भत्काउन पर्ने जवाफ दिइरहेका छन्। सरकारलाई नै थाहा नभएको सुरुङमार्ग र टुकुचाबारे घर धनीहरुलाई कसरी थाहा हुन्छ भनेर बहस पनि छेडिएको छ।

स्थानीय अरुण श्रेष्ठले भने राज्यले आफूहरुलाई भूमाफियाको 'ट्याग' पहराएको भन्दै असन्तुष्टी पोख्छन्। आफूहरुले जमिन किन्दा टुकुचा खोलाबारे थाहा नै भएको उनी बताउँछन्।

 

सुरुङमार्गमा बगिरहेको टुकुचा क्षेत्र (रातो रंगमा) 


'हामी भूमाफिया होइनौं। खोला बन्द गरेर घर बनाएका होइनौं। यो ऐतिहासिक रुपमा नै यहीँ रहेछ तर हामीलाई थाहा थिएन,' उनले भने, 'अहिले हामीलाई भूमाफिया भन्दैछन् तर यसो भन्दा चित्त दुख्छ,'उनले भने।

उनले महानगरलाई आफूहरु सहयोग गर्ने तयार भएको भन्दै संवादको विकल्प अपाउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

'६०-७० वर्ष अघि बसेको हो। बुवाले माटोको घर बनाउनु भयो। कतिपय ठाउँमा भूमाफियाले कब्जा गरेका होलान्। तर टुकुचा खोला जमानामा छोपिएको हो।खोला बगेको र निस्केको ठाउँ सबैलाई थाहा छ। राहतको कुरा गरेको छैन। योजनाबारे महानगरले सार्वजनिक बहस गर्नुपर्छ,' उनले भने।

श्रेष्ठमात्रै होइनन्। अहिले हात्तीसारका स्थानीयहरु महानगरले बलजफ्ती गरिरहेको आरोप लगाइरहेका छन्। आफूहरुलाई संवादको अवसर नदिइएको र महानगरले नै दिएको कागजपत्र नहेरि घर र कम्पाउण्डमा जबरजस्ती छिरेकोमा उनीहरुले आपत्ती जनाएका छन्। राणाहरुसँगै जग्गा किनेको दस्तावेज आफूहरुसँग रहेको स्थानीयको दाबी छ।

हात्तीसारमा भेटिएको सुरुङमार्ग 'सम्पदा' हो

संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिस्थानका प्राज्ञ दिनेशराज पन्त टुकुचा खोला काठमाडौं सभ्यताको अंग भएको बताउँछन्। उनी लाल दरबार क्षेत्र अन्तर्गत रहेको क्षेत्रमा नै अहिले सुरुङमार्ग भेटिएको बताउँछन्। हालको उत्खनन कार्यलाई राम्रो त मान्छन् उनी तर सँगै त्यहाँ घर भएका मानिसको व्यवस्थापनमा पनि उनी जोड दिन्छन्।

उनका अनुसार हाल गैरीधारा रहेको क्षेत्रमा मानदेवकै पालामा बस्ती विकास भइसकेकोले त्यस क्षेत्रमा टुकुचा खुला भइरहेको उनी बताउँछन्। पछि गएर राणाकालमा हात्तीसार क्षेत्रमा बस्ती नभएकाले सो क्षेत्रलाई विभिन्न प्रयोजनका लागि दरबारले प्रयोग गरेको उनको तर्क छ। त्यसैले हाल भेटिएको सुरुङमार्ग भत्काउनुभन्दा संरक्षण गर्नुपर्नेमा उनी जोड दिन्छन्।

'नारायणहिति दरबारभित्रबाट खोल्सो बगिरहेको सबैलाई थाहा थियो। उत्तर तिर दरबार थिएन। बासैबास थियो। लाल दरबार तिर आउँदा (अहिले होटल मार्कोपोलो) खसिपाला भनिन्थ्यो। वीर शमशेरको समयमा त्यहाँ खसी पाल्ने ठाउँ थियो। पछि दरबारले गुम्बजहरु बनाउन लगाए। त्यसमा ढल थपियो। तर पनि २०३१ सालसम्मै हाल प्रदर्शनमार्ग क्षेत्र हुँदै बग्ने टुकुचामा कलकल पानी आउँथ्यो,' उनले भने।

नारायणहिटी दरबारभित्र बगिरहेको टुकुचा (दुई रातो घेराको बिचमा)


अहिलेको सुरुङमार्ग स्वत: पुरानो सम्पदा ठहरिने भन्दै उनी सुरुङमार्गलाई संरक्षण गर्नपर्ने बताउँछन्।

'त्यो पनि सम्पदा हो नि। त्यसलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। तर, जसको घर पर्‍यो उनीहरुलाई मर्का पार्न भएन। सम्पदा मानिसको जीवनयात्रा सँग जोडिएको हुन्छ। घरबास भएकालाई पनि व्यवस्था गर्नुपर्छ। अप्ठ्यारोमा पार्न सकिन्न,' पन्तले भने।

सुरुङमार्ग भेटिएपछि त्यसको अध्ययन गर्न पुरातत्व विभागले टोलीले नै खटाएको छ। केहीदिनमा नै प्रतिवेदन तयार हुने र त्यसपछि विभागले आफ्नो धारणा राख्ने प्रवक्ता रामबहादुर कुँवरले बताए।

'हामीले सुरुङमार्गको अध्ययनका लागि टोली खटाएका छौं। रिपोर्ट आएपछि मात्र धारणा राख्छौं। प्राचीन स्मारक ऐन अनुसार नै सबै प्रक्रिया अघि बढ्नुपर्छ,' उनले भने।

यता, अधिवक्ता संजय अधिकारीले हाल भेटिएको सुरुङमार्ग संरक्षण गर्न भन्दै महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, पुरातत्व विभागलाई निवेदन दिएका छन्। हाल भेटिएको खण्ड स्वत: प्राचीन स्मारक भएको भन्दै उनले बालेन्द्र शाहले नेतृत्व गरेको महानगर अहिले विधिको शासनविरुद्ध गएर काम गरिरहेको बताउँछन्।

'यो प्राचीन स्मारक हो भन्नेमा दुईमत छैन। उत्खनन गर्दा नेपाल सरकारको अनुमति बिना यस्तो क्षेत्र खन्न मिल्दैन। तर अहिले महानगरले गरिरहेको काम प्राचीन स्मारक ऐनको दफा १६ बमोजिम फौजदारी कुसर हो,' उनले भने।

संजय हाल महानगरको टुकुचा उत्खनन अभियानको माध्यम नै गलत भएको बताउँछन्। अहिले नै टुकुचामाथिको घर भत्काएर मानिसलाई देखाउने समय नभएको उनको तर्क छ।

बालुवाटारबाट नील सरस्वती मन्दिर हुँदै बगिरहेको टुकुचा


'त्यस्तो हेर्ने रहर छ भने कालमोचन गएर हेरे हुन्छ। दुङदुङती गन्हाउँछ। कसरी व्यवस्थापन गर्ने केही योजना छैन त्यसैले अहिले खुला गर्ने बेला भएको छैन। बालेनजीको पाँच वर्ष बाँकी छ। दुई तीन वर्ष अध्ययन गरेर विज्ञले भनेको कुरा सुनौं।  बालेन्द्र शाह विधिको शासनको बर्खिलाप जान पाउँदैनन्। यसरी गरिने कामको परिणाम केही सही भए पनि त्यो स्थायी हुँदैन,' उनी भन्छन्।

उनी यो सुरुङमार्ग वीर शमशेरभन्दा अघिको समयको हुन सक्ने समेत बताउँछन्। पुरातत्वको प्रतिवेदनपछि आएपछि थप कुरा प्रष्ट हुने उनको तर्क छ।

'अहिले धेरै नबोलौं'

पुरातात्विक सम्पदा र व्यक्तिको सम्पत्तिमाथि आक्रमण गरेको भन्दै अहिले महानगरप्रति आक्रोश बढ्दो छ। स्थानीयको कानुनी कागजपत्र नहेरी डोजर चलाएर महानगर गुण्डागर्दी शैलीमा उत्रिएको भन्दै आलोचना भइरहेको छ। सामाजिक संजालमा धरधनीहरुको पनि कुरा सुन्न पर्ने भन्दै बालेनलाई सुझावहरु आइरहेका छन्।

यसबिच महानगर भने अहिले पर्ख र हेरको रणनीतिमा छ। टुकुचा खोलाको सुरुङमार्गमा बनेको तीनजना घरधनीले उच्च अदालत पाटनबाट हाललाई उत्खनन् रोक्न अनुमति लिइसकेका छन्। यद्यपि, महानगर 'स्टे अर्डर' नभएको घरहरु तिर डोजर चलाउन उद्धत छ। महानगरको सो कार्यविरुद्ध थप स्थानीयहरु अदालत जाने देखिएको छ। त्यसैलै महानगर अहिले अदालतको फैसलालाई कुर्ने मनसायमा पनि देखिन्छ।

हात्तीसार रहेको महानगर वडा १ का वडाअध्यक्ष भरतलाल श्रेष्ठ अहिले मुद्दा परेकोले धेरै नबोल्ने बताउँछन्। सो क्षेत्रमा नक्सा पास भएका घर ठडिएको र लालपूर्जा समेत भएको विषयमा महानगर नै अलमलमा परेर यस्तो भएको उनले बताए।

' नारायणहितिबाट निस्किएर कमलादीमा निस्कने सबैलाई थाहा छ। बिचमा खोला बगेको भनेर थाहा छ। सम्म पुरेको जमिन मुनी के छ भनेर कतै इंगित त हुनुपर्‍यो नि। खोला देखिँदैनमात्र भन्यो,' उनले भने।

यस्तै, टुकुचा सुरुङमार्गबारे सरकार नै अवगत नरहँदा जनताले कसरी थाहा पाउने भन्ने प्रश्नमा उनले भने,'अहिलले यसबारेमा धेरै नबोलौं। छलफललाई अदालतमा फैसला होस्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell