काठमाडौं: राष्ट्र संघको महासभामा सधैं उच्चस्तरीय सहभागिता गराउँदै आएको नेपालले यसपटक भने फितलो उपस्थिति जनाएको छ। राष्ट्र संघको ७७औं महासभामा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली सहभागी भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सचिव पौड्यालले नेपालको तर्फबाट महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गत साता परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले महासभामा सहभागी हुन नेपालको उच्चस्तरीय टोलीको तयारी भइरहेको जानकारी गराएकी थिइन्। त्यसको तीन दिनपछि मन्त्रालयले परराष्ट्र सचिव पौड्यालयको नेतृत्वमा नेपाली प्रतिनिधि टोली महासभामा सहभागी हुने वक्तव्यमार्फत जानकारी गरायो।
यसअघि ७७औं महासभामा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधि टोली सहभागी गराउने तयारी थियो। त्यसअघि नै प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको हल्ला चलेको थियो। तर, अमेरिकी रक्षा साझेदार कार्यक्रम 'स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)' बाट नेपाल ब्याक भएपछि उनको भ्रमण रोकियो। त्यसपछि महासभामा सहभागी हुने गरी देउवा न्यूयोर्क जाने र सोही बेला वासिङ्टन पुग्ने तयारी भएको थियो। तर, चुनाव घोषणा नेपालको आन्तरिक राजनीतिका कारण प्रधानमन्त्रीको महासभामा सहभागी हुन सकेनन्।
प्रधानमन्त्रीको सहभागिता नहुने भएपछि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको नेतृत्वको टोली महसभामा सहभागी गराउने तयारी परराष्ट्र मन्त्रालयले गरेको थियो। तर, मन्त्री खड्का यसबीच बेलायतमा महारानी एलिजावेथ द्वितीयको अन्तेष्टिमा सहभागी हुन लण्डन पुगे। तर, न्यूयोर्क पुगेनन्।
यसअघि गत वर्ष मन्त्री खड्का सपथ लिएकै दिन राति न्यूयोर्क उडेका थिए। तर, यसपटक महासभामा सहभागिता मन्त्रीस्तरमा पनि हुन सकेन् र परराष्ट्र सचिवकै नेतृत्वमा नेपाली प्रतिनिधि टोली न्यूयोर्क लाग्यो।
पौड्यालको नेतृत्वमा रहेको टोली आइतबार अमेरिका प्रस्थान गरेको थियो। राष्ट्र संघको ७७ औं महासभा भदौ २८ बाट न्युयोर्कमा सुरु भइसकेको छ। महासभाको उच्चस्तरीय सत्र असोज ४ देखि १० सम्म हुनेछ। जसमध्ये महासभामामा विश्वका नेता तथा राष्ट्र प्रमुखहरुले सहभागी हुँदैछन्।
महासभामा १९३ मुलुकमा प्रतिनिधिहरुको सहभागी हुनेछ। ७७औं महासभामा परराष्ट्र सचिव पौड्यालले ‘विभिन्न चुनौतीहरुलाई रुपान्तरण गरी समाधान गर्नको लागि महत्त्वपूर्ण क्षण’ शीर्षकमा सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ। साथै, महासभाकै दौरान परराष्ट्र सचिव पौड्यालले न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले वक्तव्यमा जानएको छ। यसपटक महासभाको नारा ‘एकता, स्थिरता र विज्ञानमार्फत समाधान’ रहेको छ।
महासभामाको उपाध्यक्षको रुपमा निर्वाचित भएको थियो। सोही अनुसार नेपाली नियोग प्रमुख अमृत राईले एक उच्चस्तरीय सत्रको अध्यक्षता गरेका थिए।
राष्ट्र संघको महासभाको ७७औं सत्रको उपाध्यक्षको हैसियतामा अध्यक्षता गर्दै राष्ट्र संघका लागि नेपाली नियोग प्रमुख अमृत राई। फोटो : नेपाली नियोग, न्यूयोर्क
यता परराष्ट्र सचिव पौड्यालले महासभा अन्तर्गतको 'डेमोक्रेसी डेलिभरस्' नामको उच्चस्तरीय सत्रमा सम्बोधन गरेका छन्। सत्रमा सम्बोधन गर्दै सचिव पौड्यालले नेपालको संविधानले विश्वव्यापी रुपमा स्वीकार गरिएका सबै प्रजातन्त्रका सिद्धान्तहरुलाई स्वीकार गरेको र समाजका सबै पक्षलाई राज्यको मूलधारमा समानुपातिक प्रतिनिधित्व र सहभागिताको ग्यारेन्टी गरेको बताएका थिए।
उनले नेपालमा राजनीतिक मुद्दाहरुको समाधानसँगै नेपालको लडाईं अब गरिबी, निम्न विकास तथा पछौटेपनसँग रहेको बताए। उनले नेपालको प्राथमिकता कृषिको आधुनिकीकरण, द्रूत पूर्वाधार विकास रहेको बताएका थिए।
उनले नेपाली जनताका लागि प्रजातन्त्र एक विचार, एक कार्य र एक जीवनको बाटो भएको बताए। उनले अगाडि भनेका छन्, '
नेपालले लोकतन्त्रको जनतासम्मको वितरणमा विश्वास गर्छ। किन भने हामी लोकतन्त्रका ‘त्रि-दिशात्मक’ परिणाम अर्थात् शान्ति, मानव अधिकार र विकासमा केन्द्रित छौं।'
उच्चस्तरीय राजनीतिक सहभागी नहुँदा द्विपक्षीय तथा बहुपक्षीय फोरममा पनि कमजोर
यता उच्चस्तरीय राजनीतिक सहभागिता नहुँदा नेपाल यसपटक महासभा साइडलाइनमा हुँदै आएका द्विपक्षीय तथा बहुपक्षीय वार्ताहरुमासमेत पछि परेको छ।
महासभा साइडलाइनमा हरेक वर्ष सार्क मन्त्रीस्तरीय बैठक हुँदै आएको थियो। गत वर्ष देखि यो बैठक हुन सकेको छैन। गत वर्ष परराष्ट्रमन्त्री डाक्टर खड्का सहभागी भए पनि त्यसमा भारतले रिजर्भेसन राख्दा बैठक हुन सकेको थिएन्। यसपटक सार्कका सबै जसो देशका विदेश मन्त्रीहरु महासभामा सहभागी छन्। भारतका विदेश मन्त्री जयशंकरदेखि पाकिस्तानका विदेश मन्त्री विलावल जर्दारी भुट्टोसम्म। त्यस्तै मालदिभ्सका विदेश मन्त्री पनि त्यहाँ छन्। तर, नेपालकै मन्त्री महासभामा सहभागी भएनन्।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले बैठकको आयोजनाका लागि पहल गर्नुपर्थ्यो। तर, नेपालबाटै मन्त्री सहभागी नहुँदा यसपटक पनि सार्क मन्त्रीस्तरीय बैठक नहुने पक्का छ। सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलन भारत-पाक तनाबका कारण हुन सकेको छैन। त्यसयता सार्कको मन्त्रीस्तरीय बैठक महासभा साइडलाइनमा औपचारिकता लागि मात्र हुँदै आएको छ।
'राष्ट्र संघको महासभा द्विपक्षीय साझेदारी र छलफलका लागि उत्तम विकल्प हो। तर अहिले हाम्रो मन्त्रिस्तरीय सहभागिता नहुँदा त्यति फलदायी हुने देखिँदैन्,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'हुन त सचिव ज्यूको सहभागिता छ। उहाँले पनि केही द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरुमा आफ्ना कुरा राख्नु नै हुनेछ। तर, राजनीतिक नेतृत्वले गर्ने वार्ता जत्तिको फलदायी हुँदैन।'
औपचारिक रुपमा उच्चस्तरीय भ्रमण नभएका देशहरुसँगको द्विपक्षीय सम्बन्ध विस्तार र साझेदारीको नयाँ बिन्दु पहिल्याउने थलो हो महासभा साइडलाइन्। तर यसपटक नेपाल यसमा चुकेको छ।
नेपालका छिमेकी देशका मन्त्रीहरु महासभा साइडलाइनमा द्विपक्षीय छलफल र वार्तामा रहँदा नेपाल भने यसपटक महासभामा साइडलाइनमा सुनिएको छैन।