
- चन्द्रप्रसाद अधिकारी-
परापूर्वकालबाट मानिसहरु खेती गरेर आफ्नो भोक मेटाउँदै आइरहेका छन्। समयको गतिसँगै मानिसका आवश्यकता र चाहनाहरु बढ्न थाले। एक्लैले सबै आवश्यकता पूरा गर्न नसकेपछि आफूआफू बिच उत्पादित वस्तु साटासाट गरेर खाँचो टार्न थालियो।
समय परिवर्तनसँगै पैसाले सरसामान किनबेच गर्ने प्रक्रिया सुरु भयो अनि मानिसहरु पैसा कमाउन अनेक जुक्ति निकाल्न थाले। यसै क्रममा अन्य पेसा व्यवसाय जस्तै बालीबिरुवामा रोग, कीरा, ढुसी, हर्मोनहरु तथा मलहरुको आपूर्ति कृतिम तरिकाबाट उत्पादित रासायनिक मल र विषबाट हुन्छ भनी प्रयोगमा ल्याउन थालियो। यस्ता कृतिम विष तथा मलबाट हुने नकारात्मक प्रभावका बारेमा कसैको पनि ध्यान पुग्न सकेन। बिस्तारै बिस्तारै कृतिम कृषि रसायनको नकारात्मक प्रभावबारे विज्ञहरुको अनुसन्धानबाट पुष्टि भएपछि कृतिम कृषि रसायनहरुको विकल्पको खोजी सुरु हुन थाल्यो। बाली बिरुवाको रोगकीरा र पोषणका लागि स्थानीय स्तरमा उपलब्ध हुनसक्ने विभिन्न गुण भएका वनस्पतिको उपयोग गरि सुरक्षित दिगो र व्यवस्थापन हुने धेरै अभ्यासहरु व्यवहारमा आउन थाले। वैज्ञानिक रुपमा यस विधिको अध्ययन अनुसन्धानको कमी भएपनि व्यवहारिक रुपमा नेपालका धेरै प्राङ्गारिक कृषिमा चासो राख्ने किसानहरुले यस्ता विधिहरु अपनाउँदै आएको पाइन्छ। यस्तै बालीबिरुवाको बानस्पतिक रसबाट रोग तथा कीरा र पोषण व्यवस्थापनबारे मेरो अनुभवहरु राख्ने प्रयास गरेको छु।
किसानका समस्या
नेपालका तराईदेखि पहाडसम्मका सबै भूभाग र हावापानीमा रोग कीराको प्रकोप देखिन्छ। बाली बिरुवाको प्रतिकुल मौसममा रोग कीराको प्रकोप बढ्ने हुँदा व्यवस्थापन गर्नुपर्ने हुनसक्छ। बाली बिरुवाको रोगकीरा लाग्न नदिन पहिला नै ध्यान दिनसके रोगकीराको उपचारमा खर्च र दुःख हुदैन। रोगकीरा लाग्न नदिन निम्न तरिकाहरु अपनाउन सकिन्छ।
- माटो परीक्षण
- सिजन बालीको जात मिलाउने
- स्वस्थ बिउको प्रयोग
- मित्र बालीहरुको मिश्रित खेती प्रणाली
- उपयुक्त ठाउँको छनौट आदि मुख्य कुराहरुमा ध्यान दिनु पर्दछ।
यति गर्दागर्दै पनि कतै रोग कीराको समस्या देखिएमा समस्याको पहिचान गरि रोग वा कीरा के हो त्यसैमा फोकस गरेर बानस्पतिक विषादी बनाएर छर्न सकिन्छ। चितवनको प्राङ्गारिक कृषि उत्पादन केन्द्रले बनाउने गरेको बानस्पतिक विषादिको विधि यसप्रकार रहेको छ।
वनस्पतिक विषादी
आफ्नो घर वरिपरि पाइने विभिन्न औषधिजन्य गुण भएका वनस्पतिहरु संकलन गर्ने। जस्तै तितो, टर्रो, पिरो, कोक्याउने, रमरम बनाउने, झमझमाउने र विभिन्न गन्ध भएका वनस्पतिहरु जम्मा गर्ने। जस्तै निम, बकैना, सिमली, खिरो, तितेपाती, केतुके, पिरे, रुदिलो, सयपत्री, मरठी, डुन्डु आदि कीरा भगाउन र मार्न प्रयोग गरिन्छ भने ढुसी जन्य रोगमा (पछौटे डढुवा बाहेक) बेसारको धुलो, मरठी, बकैना, रुखकटहरको पात र बोक्रा, आक, डुम्री, दुधेझार, मेवाको पात आदिको प्रयोग गर्दा व्यवस्थापन हुने गरेको छ।
विषादि बनाउने विधि
गाइवस्तुको पिसाब ६० लिटर, माथि उल्लेख वनस्पतिको टुक्रा ४० किलोलाई प्लास्टिकको ड्रममा राख्ने। गर्मीमा सातदेखि दस दिन र जाडोमा १५–२० दिनमा तयार हुन्छ। यसरी कीराको लागि र ढुसिका लागि तयार गरिएको झोललाई पनि बिरुवाको उमेर अवस्थाअनुसार छर्न पर्दछ। साना नर्सरीका बिरुवाका लागि ८ भाग पानीमा एक भाग झोल, मध्यम खालका बिरुवालाई छ भाग पानीमा एक भाग झोल र बयस्क बाली बोटमा चार भाग पानीमा एक भाग झोल राखेर छानेर स्प्रे गर्दा धेरै प्रभावकारी भएको पाइएको छ। तर खान तयार भैसकेको तरकारी र फलफुलमा प्रयोग गर्दा चार पाँच दिन खान नमिल्ल्ने हुँदा विचार गर्नु पर्दछ।
वनस्पतिक विषादिका फाइदाहरु
- कृतिम रासायनिक मल र विषको प्रयोग गर्न नपर्दा विषको नकारात्मक प्रभाव पर्दैन।
- यस्ता झोलहरु प्रयोग गरि उत्पादन गरेका कृषि उपज पोशिला स्वस्थ हुन्छन।
- उत्पादक र उपभोक्ता सबै विषको खतराबाट मुक्त हुन्छन।
- पैसा बिदेसिनबाट जोगिन्छ।
- जैविक विविधताको अधिकतम संरक्षण हुन्छ।
- उत्पादन क्रमिकरुपमा वृद्धि हुँदै जान्छ।
वनस्पतिक मल
गाउँ घरमा पाइने विभिन्न बनस्पतिहरुबाट राम्रो पोषणयुक्त वालिबिरुवाको लागि झोलमल बनाउन सकिन्छ। झोलमल बनाउन गाउँ घरमा पाइने असुरो, तितेपाती, इप्पिल इप्पिल, धैंचा, सनइ, शिरीष, झुसे तिल, सिप्लिघान, चिलाउने, पडके, बनमारा जस्ता बनस्पतिहरुलाई आवस्यक मात्रामा जम्मा गर्ने। यिनीहरुलाई १–१÷१ –२ इन्च साइजको बनाएर काट्ने। आफूलाई आवश्यकता अनुसारको मात्रामा यस्ता वनस्पति जम्मा गर्ने। खरानी, काँचो गोबरलाई जुटको बोरा वा पातलो कपडाले बाधेर राख्ने। उपरोक्त जम्मा गरेका बनस्पतिहरु पाए सम्म एउटा प्लास्टिकको ड्रममा गाइवस्तुको पिसाब नपाए पानी तीन भाग र वनस्पतिको काटेका टुक्रा एक भाग ड्रममा राख्ने । ड्रम मा चार पाँच इन्च जति नभरिने गरि राख्ने। यही ड्रममा जम्मा दुइ प्रतिशत गोबर जुटको वा पातलो कपडामा पोका बनाइ राख्ने। जम्मा एक प्रतिशत खरानी राख्ने र एक हप्ता जति दिनको एक पटक काठ वा बाँसको लौरीले चलाउने। यसरी यो गर्मी समयमा ७–१० दिनमा र जाडो समयमा १४–२० दिनमा तयार हुन्छ। तयार भए नभएको थाहा पाउन हामीले ड्रममा राखेका वनस्पतिको पातहरुको रेसामात्र बाकी हुन्छ, अरु हरित भागहरु पानीमा घोलिसकेको हुन्छ। अब यो झोलमल तयार भयो। अझ सजिलोको लागि गाइबस्तुको पिसाब वा नपाए पानी ७५ लिटर वनस्पतिका टुक्रा २५ किलो, गोबर २ किलो (पोकामा), खरानी १ किलो मिसाएर झोल मल बनाउन सकिन्छ।
झोलमल प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु :
- झोलमल भएको ड्रम ओभानो र सितल ठाउमा राख्नु पर्दछ।
- झोलमल निकाल्दा सधै काठ वा बासको लठ्ठिले राम्ररी चलाएर निकाल्नु पर्दछ।
- झोलमलको प्रभाव बिरुवामा बिस्तारै पर्ने भएकाले किसानले धैर्यता लिनु पर्दछ।
- बाली बिरुवा लगाउनु भन्दा पहिलानै झोलमलको ब्यबस्था गर्नु पर्दछ।
बाली तयार भएपछि झोलमल राख्नु हुदैन। झोलमल राखेको ५÷७ दिन सम्म झोलमलको गन्ध आउन सक्ने हुनाले टिप्ने बेलाको बालीमा झोलमल राख्दा बिचार पुर्याउनु पर्दछ।
- यो विधि हामीले प्रयोग गरेर सफल भएको हुनाले ढुक्कसँग गर्न सकिन्छ।
- झोलमल प्रयोग गरेर बाँकी रहेका कुहिएका वनस्पतिको भागहरुलाइ कम्पोस्ट मलको रुपमा बिरुवालाइ दिन सकिन्छ।
अन्त्यमा,
यस प्रकारको जडिबुटीजन्य गुण भएका वनस्पतिहरुको वैज्ञानिक तरिकाबाट अध्ययन अनुसन्धान गरि कुन समस्याका लागि कुन वनस्पतिको कुन भाग र कति मात्रामा राख्ने भन्ने नेपाल सरकारको जानकारीको पर्खाइमा नेपाली किसान तथा उपभोक्ताहरु रहेको अवस्था छ। आशा छ यस विषयमा राज्यले छिट्टै सोचेर निकास दिनेछ।
-अधिकारी चितवन भरतपुरस्थित श्रीपुरका कृषक हुन्।