
काठमाडौं : मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। प्रत्येक जिल्लामा आयोगले एकजना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आयोगले मिति असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषदको सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको सिफारिशमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
निर्वाचनका लागि नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई असोज १२ गते र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आयोगले जनाएको छ।
'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागू हुने गरी देहाय बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ,' आयोगले जारी गरेको सूचनामा भनिएको छ, 'नियुक्त हुनु भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले यसै सूचनालाई आधार मानी मिति २०७९/०६/१२ र १३ गते हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुनुहुन र सम्बन्धित कार्यालयहरूले पनि यसै सूचनाको आधारमा खटाई पठाइदिनुहन अनुरोध गरिन्छ।' मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति पत्र अभिमुखीकरण कार्यक्रममै उपलब्ध गराइने आयोगले जनाएको छ।