PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो



रासस

कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको कपनमा भएको आगलागीमा परि मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ।

आगलागीमा परी ज्यान गुमाउनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्।

तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागी हुँदा अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

बुधबार राति बूढानीलकण्ठ नगरपालिका–१० स्थित राम मन्दिरनजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको थियो।

राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ। सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बताइएको छ।

उक्त घरमा ट्रेकिङ अफिस र ट्रेकिङमा प्रयोग हुने सामान राखिएको थियो। जसमा अक्सिजन सिलिण्डर पनि भण्डारण गरिएको थियो। सोही अक्सिजन सिलिण्डर पड्कीएर क्षति पुगेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell