PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आइजीबाट अवकास पाएको तीन वर्षपछि सर्वेन्द्र खनाल राजनीतिमा : ढाका टोपीमा सजिएर एमालेको पार्टी कार्यालय पुगे



पहिलोपोस्ट

आइजीबाट अवकास पाएको तीन वर्षपछि सर्वेन्द्र खनाल राजनीतिमा : ढाका टोपीमा सजिएर एमालेको पार्टी कार्यालय पुगे

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गर्न काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा पुगेका छन्। केही समयमा खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका छन्।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको थियो। 

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र हाल नेकपा एकीकृत समाजवादीमा रहेका किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।

खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए। २०७६ माघ २८ गते उनले अवकास पाएका थिए। अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन्।

अपहरण काण्ड हुँदा त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो। यद्यपि, समाजवादी फुटाउन ओली सफल रहे। नेकपा एमालेले यसअघि नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालाई पनि पार्टी प्रवेश गराएर टिकट दिएको थियो। सिलवाल ललितपुर क्षेत्रबाट सांसद समेत बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell