काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। यसअघि राष्ट्रपतिको कदमबारे औपचारिक रुपमा टिप्पणी नगरेको एमालेले च्यासलमा आयोजित कार्यक्रममा भने नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा भण्डारीको बचाउ गरेको हो।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई दोस्रो पटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धन भण्डारीप्रति आक्रामक बनेको छ। पोखरेलले भने सत्ता गठबन्धनको चर्को आलोचना गर्दै राष्ट्रपति भण्डारीको सन्देश नसमेटिनु गणतन्त्र माथिको प्रहार भएको बताए।
उनले नागरिकता विधेयक एमालेविरुद्ध प्रहार गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको बताए।
'नागरिकता विधेयकलाई हाम्रा पार्टीको विरुद्ध हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ। हामीले अध्यादेशका माध्यमबाट नागरिकताबाट बन्चित भएका नागरिकका लागि अध्यादेश जारी गरेका थियौं,' पोखरेलले भने।
गठबन्धनले संसदबाटै नभइ राष्ट्रपतिको सन्देशलाई बाहिरबाट सन्देशको उपेक्षा गरेको उनले टिप्पणी गरे।
'राष्ट्रपतिले नागरिकताको संवेदनशीलताको विषयलाई समयमै समाधान गर्नुपर्छ भन्ने थियो। पाँच दलीय गठबन्धनले राष्ट्रपतिको सन्देश उपेक्षा गर्ने कुरा गणतन्त्रमाथिको प्रहार थियो। त्यसले राष्ट्रको हितको नेतृत्व गर्न सक्दैन,' उनले भने।