PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालमा यसपटकको विश्वकप फुटबल हेर्न के दर्शकले पैसा तिर्नुपर्छ? 'एक्सक्लुसिभ राइट'सँगै करोडौंको लगानी उठाउने चुनौती



उन्नत सापकोटा

नेपालमा यसपटकको विश्वकप फुटबल हेर्न के दर्शकले पैसा तिर्नुपर्छ? 'एक्सक्लुसिभ राइट'सँगै करोडौंको लगानी उठाउने चुनौती
PHOTO : FIFA

काठमाडौं : आगामी मंसिर ४ गतेबाट विश्वकप फुटबल सुरु हुँदैछ। पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन्।

कतारका मैदानमा पुगेरै विश्वभरबाट लाखौं मानिसले फुटबल हेर्न पाउनेछन्। त्यसबाहेक विश्वका अर्बौं मानिसका लागि लाइभ फुटबल हेर्ने स्रोत हो, टेलिभिजन च्यानल, ओभर द टप (ओटीटी) वा अन्य यस्तै माध्यम।

विश्वको सबैभन्दा ठूलो खेल मेला हेर्नका लागि नेपालमा पनि अहिलेदेखि नै योजना बनाउनेहरुको कमी छैन। तर प्रश्न उठ्छ यसपटकको विश्वकप कसरी हेर्ने? 

नेपालमा फुटबलको प्रसारण अधिकार यसपटक पनि नेपाली कम्पनी मिडिया हबले लिएको छ। यसअघि भन्दा फरक यो पटकको अधिकार 'एक्सक्लुसिभ' हो।

यसको अर्थ नेपाली भूमिमा मिडिया हबले अनुमति दिएबाहेकका टेलिभिजन च्यानल र ओटीटी प्ल्याटफर्ममा विश्वकप फुटबल हेर्न सकिँदैन। फिफासँग मिडिया हबले प्रसारण अधिकार लिँदा 'टेरिटोरी लक'को प्रावधानसहित लिएको छ। 

मिडिया हबले अनुमति दिएको अवस्थामा बाहेक अन्य माध्यमबाट नेपालमा विश्वकपको कुनै पनि खेलको कुनै पनि माध्यमबाट प्रसारण हुने छैनन्। 

अहिले प्रसारण भइरहेका विदेशी स्पोर्टस् च्यानलहरु जहाँ विश्वकप देखाइन्छ। ती च्यानल पनि विश्वकप चलिरहेको अवस्थामा नेपालमा 'ब्ल्याकआउट' हुनेछन्। ओटीटी प्ल्याटफर्म लगायत अन्य माध्यममा पनि टेरिटोरी लक हुने हुँदा फुटबलको प्रत्यक्ष प्रसारण हेर्न कठिन मात्रै होइन असम्भव नै हुनेछ।

नेपालमा विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार लिनका लागि मिडिया हबले फिफासँग ठूलो रकम 'बिड' गरेको छ। फिफाले आफ्नो आम्दानीको स्रोत बढाउने उद्देश्यसहित हरेक देशमा विश्वकप प्रसारण अधिकारका लागि 'बिड' गराउने गरेको छ। त्यस्तो अधिकार पाउनका लागि ठूलो ठूलो रकमको बोली लाग्ने गरेको छ।

त्यही कारण नेपालमा फुटबल प्रसारण गर्नका लागि फिफासँग एक्सक्लुसिभ अधिकार लिन ठूलो रकम चुकाउनु परेको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए। 'फिफालाई बुझाउनु पर्ने रकमबाहेक पनि त्यो पैसा विदेश पठाउँदा भ्याट, सेवा शुल्क लगायतका करहरु नेपाल सरकारलाई पनि बुझाएका छौं, त्यसकारण यसपटक यो परियोजना वित्तीयरूपमा पनि ठूलो बनेको छ,' उनले भने।  

प्रसारणअधिकार पाउन ठूलो मूल्य चुकाउनु परेको उनले बताए। 'विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारणका लागि बिड गर्ने वा नगर्ने हामीसँग दुई विकल्प थिए। नेपाली दर्शकलाई नेपाली च्यानलबाट फुटबल देखाउनै पर्छ भन्ने लागेपछि हामीले बिड गर्‍यौं,' उनले भने, 'बिड गर्दाको त्यो ठूलो रकम सानो सानो टुक्रामा विभाजन गरेर नेपाली दर्शकबाट उठाउन सक्छौं भन्ने लागेपछि हामीले त्यो जोखिम मोलेका छौं।' 

मिडिया हब आफूले फिफाबाट विश्वकप प्रसारण गर्न पाएको अधिकारमार्फत फुटबल खेल देखाउनका लागि नेपाली टेलिभिजन च्यानल छनोट गर्छ। त्यो च्यानलमा देखाइने फुटबललाई डीटीएच, केवल अपरेटर, एमएसओले घर घरमा पुर्‍याउनेछन्।

उनका अनुसार फिफालाई चुकाएको खर्च उठाउनका लागि कम्पनीसँग दुईवटा स्रोत छन्। त्यसमध्ये एउटा विज्ञापन बजार हो भने दोस्रो फुटबल हेरेबापत उपभोक्तासँग शुल्क असुल गर्ने।

'हामीले हाम्रो लगानी उठाउनका लागि यो दुईवटै स्रोतको उपयोग गर्नुपर्छ,' निर्देशक धितालले भने, 'एउटा मात्रै च्यानलमा फुटबलको एक्सक्लुसिभ प्रसारण हुने हुँदा विज्ञापनदाताले पनि माइलेज पाउँछन् भन्ने हामीलाई लागेको छ।' 

विश्वकप हेर्न हरेक ग्राहकबाट पैसा उठाइने ! 

एक्सक्लुसिभ भएकाले नेपालमा अनुमति बिनाका कुनै पनि च्यानलले विश्वकप प्रसारण गर्न पाउने छैनन्। जसका कारण विज्ञापनदाताहरुले अनुमति पाएको च्यानलमै विज्ञापन गर्नुपर्ने हुन्छ। 

यसअघि धेरै च्यानलहरुमा विश्वकप एकैसाथ प्रसारण हुँदा विज्ञापनदाताहरुको विज्ञापन छरिन्थ्यो। विज्ञापनबाट मात्रै विश्वकप प्रसारण गर्न गरिएको करोडौं लगानी उठ्ने अवस्था नरहेकाले सब्सक्रिप्सन मोडलमा जाने तयारी भइरहेको छ।

देशको आर्थिक अवस्था स्वस्थ नभएका कारण अहिले विज्ञापन बजारमा त्यसको असर छ। जसका कारण विज्ञापनबाटै विश्वकपको राइट्स लिन गरिएको लगानी उठ्नेमा शंका छ। 

जसका कारण विश्वकपमा गरिएको लगानी उठाउने विकल्पको रुपमा सब्सक्रिप्सन मोडलमा छलफल भइरहेको छ। अहिले मिडिया हबका साथै टेलिभिजन अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरु प्रति सेटअप बक्स ५०० रुपैयाँ लिने हो कि भन्ने छलफलमा छन्।  

'विज्ञापनबाट केही अंश आउला। बाँकी सब्सक्रिप्सनबाट उठ्ला भन्ने प्लान बनाएका छौं। कति पैसा लिने के गर्ने भन्नका लागि सरोकारवाला धेरै संस्थाहरु हुनुहुन्छ, सबैसँग सल्लाह गरेर हामी अघि बढ्छौं। अबको दुई चार दिनमा यो विषय पनि टुंगिन्छ,' धितालले भने। 

नेट टीभी र भायनेटसँग भयो सम्झौता, अरुसँग हुँदै

केही दिन अघि मात्रै मिडिया हबले टेलिभिजनबाट प्रसारण हुने विश्वकप घर-घरमा पुर्‍याउन (डिस्ट्रिब्युसन)का लागि नेट टीभी र भायनेटसँग सम्झौता गरेको छ। देशमा रहेको अन्य डीटीएच, आइएसपी र केवल अपरेटर पनि मिडिया हबसँग सम्झौताको चरणमा छन्। 

'हामीले नेट टीभी र भायनेटसँग सम्झौता गरिसकेका छौं। डीटीएचतर्फ डिसहोमसँग कुराकानी गरिरहेका छौं। अन्य मल्टिपल सिस्टम अपरेटर (एमएसओ) तथा आइपी टीभीहरुसँग पनि सल्लाह गर्दैछौं। अबको दुई चार दिनमा डिस्ट्रिब्युटरको टुंगो लाग्छ,' धितालले भने, 'देशभरका मुख्य एमएसओ, डीटीएच र आइपी टीभीसँग केही दिनमै एउटा निर्णयमा हामी पुग्छौं।'

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेट टीभीको सेवा दिइरहेको छ भने भायनेटले भायटीभीमार्फत आइपीटीभी सेवा सञ्चालन गरिरहेको छ। 

विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा !

मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले आफूहरुले हिमालय टेलिभिजनबाट विश्वकप प्रसारण गर्ने योजना बनाइरहेको भए पनि केही प्राविधिक तथा कानूनी प्रक्रिया नटुंगिएकाले निर्णय हुन बाँकी रहेको बताए। 

'केही टेक्निकल र लिगल कुरा मिलाउन बाँकी छ। मिडिया हबलाई मात्रै सबै अधिकार हुँदैन। हामीले नै सबै निर्णय गर्न सक्दैनौं। हामीले पनि फिफाबाटै स्वीकृति लिनुपर्छ। यसैका कारण हामीलाई केही समय लागिरहेको छ,' धितालले भने।

यसअघि राष्ट्रिय च्यानलको रुपमा नेपाल टेलिभिजनले पनि फुटबलको प्रत्यक्ष प्रसारण गर्थ्यो। यो भने २०२२ को विश्वकपबाट रोकिने भएको छ। मिडिया हबले राइट्स दिने च्यानलबाहेक सबैमा प्रसारण रोकिने उनको भनाइ छ। 

एनसेल र एनटीसी पनि दौडमा 

दूरसञ्चार सेवा प्रदायक एनसेल र एनटीसीले ओटीटीबाट विश्वकप प्रसारण गर्न चासो देखाएका छन्। मिडिया हबले एनसेल र एनटीसी दुवैसँग विश्वकप प्रसारणको विषयमा छलफल गरेको धितालले जानकारी दिए। 

'हामीलाई जहाँ सहज हुन्छ, जसले छिटो निर्णय गर्नुहुन्छ उसैलाई ओटीटीमा विश्वकप प्रसारणको स्वीकृति दिन्छौं। एनसेल र एनटीसीमध्ये मिडिया हबले एउटालाई ओटीटीमार्फत विश्वकप प्रसारणको अनुमति दिन्छ,' धितालले भने। 

नेपाल टेलिकमले विश्वकप आफ्नो ओटीटी प्लाटफर्मबाट प्रसारण गर्ने बारे सम्भावित रकम र रणनीतिबारे सञ्चालक समितिमै छलफल गरेको छ। टेलिकमले केही समय मै यस विषयमा निर्णय गर्ने तयारी गरिरहेको टेलिकम स्रोत बताउँछ। एनसेलले पनि विश्वकप बारे आवश्यक निर्णय गर्न आन्तरिक तयारी गरिरहेको बुझिएको छ।   

मिडिया हबले प्रत्यक्षरूपमा सन् २०१०, २०१६ र २०१८ मा सम्पन्न भएको विश्वकप फुटबलको प्रसारण नेपालमा भित्र्याइरहेको छ। २०१४ मा भने कम्पनीले सुरुमा अधिकार लिएर पछि विभिन्न कारणले छोडेको थियो। 

सन् १९९८ देखि मिडिया हब कहीँ न कतै विश्वकप फुटबलको प्रसारणमा जोडिँदै आएको धितालले बताए। मिडिया हबले २०२२ को विश्वकप अघि नन्-एक्सक्लुसिभ सिग्नल प्रसारणको अनुमति पाएको थियो। सन् २०१८ मा मिडिया हबले सोनीसँग सम्झौता गरेर नेपालमा विश्वकप फुटबलको प्रसारण गरेको थियो। त्योबेला सोनीसँगै नेपाली च्यानलहरुमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण भएको थियो। 

सन् २०२२ मा भने मिडिया हबबाहेक कानुनीरूपमा अरु कुनै पनि सिग्नल नेपाल भित्रिने छैन। नेपालमा क्लिनफिड लागू भएकाले अवैध प्रसारण रोक्न धेरै मद्दत पुग्ने विश्वास मिडिया हबको छ। 

मिडिया हबले अहिले विज्ञापन तथा स्पोन्सर व्यवस्थापनमा काम गरिरहेको धितालले जानकारी दिए। विज्ञापन तथा स्पोन्सरका लागि मिडिया हबले एडप्याड एक्युजिसनसँग सम्झौता गरेको छ। दशैं वरपर विश्वकप प्रसारणको सबै पक्षमा आधारभूत समझदारी कायम गर्दै औपचारिक जानकारी दिने तयारीमा आफूहरु रहेको धितालको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell