
काठमाडौं : आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राती तराई भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।