PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

अस्ट्रियालाई फ्रान्सले हरायो, डेनमार्कमाथि क्रोएसियाको जित



पहिलोपोस्ट

अस्ट्रियालाई फ्रान्सले हरायो, डेनमार्कमाथि क्रोएसियाको जित
Photo: UEFA

यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा फ्रान्सले अस्ट्रियालाई हराएको छ। स्टेड डी फ्रान्समा सम्पन्न खेलमा घरेलु टोलीले अस्ट्रियामाथि २-० गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा किलियन एम्बाप्पेले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले ५६ औं मिनेटमा गोल गर्दा दोस्रो गोल ६५ औं मिनेटमा ओलिभर जिरुडले एन्टोनी ग्रिजमनको पासमा गरेका थिए। यो गोलसँगै इटालियन क्लब एसी मिलानबाट खेल्ने ३५ वर्षे जिरुड फ्रान्सका गोल गर्ने सबै भन्दा पाका खेलाडी बनेका छन्।

गएराति नै समूह 'ए' कै अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई हरायो। स्टेडिओन मक्सिमिरमा सम्पन्न खेलमा घरेलु टोली क्रोएसियाले डेनमार्कमाथि २-१ गोलको साँघुरो जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा बोर्न सोसाको गोलमा क्रोएसियाले अग्रता बनाएको थियो। यता डेनमार्कका क्रिस्टियन एरिक्सनले ७७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, त्यसको दुई मिनेट नबित्दै क्रोएसियाले अग्रता बनायो। यसपाला लोभ्रो मजेरले ब्रुनो पेटकोभिचको पासमा गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल थप्न नसक्दा क्रोएसियाले २-१ गोलले खेल आफ्नो पक्षमा पार्‍यो।

योसँगै समूह 'ए' मा ५ खेलबाट १० अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा छ भने ९ अंक जोडेको डेनमार्क दोस्रो, ५ अंक जोडेको फ्रान्स तेस्रो र ४ अंक जोडेको अस्ट्रिया चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell