PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

मुआब्जा लिए पनि सबस्टेसन निर्माणमा अवरोध, लप्सीफेदी पुगेर कुलमानले भने : मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत



पहिलोपोस्ट

मुआब्जा लिए पनि सबस्टेसन निर्माणमा अवरोध, लप्सीफेदी पुगेर कुलमानले भने : मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। अवरोधका कारण तामाकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन।

लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एउटा कित्ताका जग्गाधनी बाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिको रकम बुझिसकेका छन्। तर, मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्।

सबस्टेसन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडी नयाँ ठेकेदार छनौट गरेको थियो। सुरुमा काम गर्न दिएका स्थानीयले नयाँ ठेकेदार आएपछि काम गर्न अवरोध गरेका छन्। त्यसैले करिब २ वर्षबाट स्थानीयको अवरोधका कारण सबस्टेसन निर्माणको काम  नै सुरु हुन सकेको छैन।

तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत मुख्य रुपमा काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन निर्माण गर्न लागिएको हो।

रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ। लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत आपूर्ति गर्न चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदैछ।

चाँगुनारायणमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ। चाँगुनारायण सबस्टेसनकै प्याकेजमा लप्सीफेदी सबस्टेसन राखिएको छ। तर, अधिग्रहण गरिएको जग्गामा समेत अवरोध हुँदा लप्सीफेदी सबस्टेसनको निर्माण अघि बढ्न सकेको छैन।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय,प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शंखरापुर नगरपालिका मेयर रमेश नापित लगायतको टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको स्थलगत अवलोकन गरेको छ।टोलीले वडाध्यक्षहरु, प्रभावित, सरोकार समितिका पदाधिकारीहरु र स्थानीय बासिन्दासँग छलफल गरी रणनीतिक महत्वको प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा अवरोध नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्माणका कारण स्थानीयलाई पर्ने मर्कालाई न्यूनीकरण गर्दै विकास आयोजनाहरुलाई अगाडि बढाइने बताए।

‘यस आयोजनाले नकारात्मक प्रभाव पार्छ मात्रै भन्ने छैन। निर्माणले थप नयाँ अवसरहरु सिर्जना गर्न सक्छ। यस भेगलाई नयाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरौं,' उनले भने, 'प्राधिकरण र प्रभावितबीच द्वन्द्व बढाउनेभन्दा पनि वार्ता र छलफलबाट समस्या समाधान गरौं।’

बस्ती बिचमा सबस्टेसन निर्माण गरिंदा मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत भएको प्रष्ट पार्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसनको निर्माणबाट त्यस क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने बताए। उनले काठमाडौं उपत्यकामा ११ वटाभन्दा बढी सबस्टेसन घनाबस्तीकैबिचमा रहेको तर त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको दाबी गरे।

सबस्टेसन निर्माणलाई राजनीतिकरण नगर्न आग्रह गर्दै घिसिङले भने, ‘जनतालाई गोली ठोकेर, मर्कामा पारेर सबस्टेसन निर्माण गर्न पक्षमा छैनौं। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रको विकासका लागि विद्यालय, सडक, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न तयार छौं।’

सबस्टेसन कुनै एउटा निश्चित क्षेत्रमा बन्ने भएकोले यसलाई सुन्दर बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले वार्ता र छलफलबाटै समस्या समाधान गर्न सकिने बताए। 

शंखरापुर नगरपालिका मेयर रमेश नापितले स्थानीयले राखेको मागलाई सम्बोधन गरेर विकास आयोजनाहरु बनाउनुपर्ने बताए। ‘स्थानीयले सबस्टेसन सार्न माग गरेका छन्। ठाउँ छ भने विकल्प खोज्नु पर्छ,' उनले भने।

छलफलमा सहभागीहरुबाट आयोजनाबाट त्यस क्षेत्रमा वातावरणीय, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभाव पर्ने भएकोले सबस्टेसन तथा प्रसारण लाइनलाई अन्यत्र सार्न माग गरिएको थियो। काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन र प्रसारण सञ्जाल विस्तारका लागि एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो।

आयोजना अन्तर्गत नै भक्तपुरको चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन छ। स्थानीयको अवरोधका कारण लप्सीफेदी सबस्टेसन भने निर्माण हुन सकिरहेको छैन। रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौं प्रसारण लाइन आयोजना निर्माणाधीन छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell