PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तीन लाख युवालाई सेनामा भर्ती हुन निर्देशन दिएर रसियाली राष्ट्रपति पुटिनले किन लिए राजनीतिक जोखिम?



पहिलोपोस्ट

तीन लाख युवालाई सेनामा भर्ती हुन निर्देशन दिएर रसियाली राष्ट्रपति पुटिनले किन लिए राजनीतिक जोखिम?
पुटिनको घोषणाविरुद्ध प्रदर्शन गरिरहेकालाई नियन्त्रणमा लिँदै प्रहरी Photo : AFP

रसिया र युक्रेनबिच युद्ध भएको २१२ दिन पुगिसकेको छ। यसबिच हजारौं मानिसको मृत्यु हुँदा लाखौं विस्थापित भएका छन्। युद्ध रोक्न तर्फ कुनै पनि सहमति हुन सकेको छैन।

युद्ध लम्बिँदै जाँदा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युद्धमा थप सेना परिचालन गर्ने घोषणा गरिसकेका छन्। सेनामा थप ३ लाख सैनिक भर्ती गर्ने उनले घोषणा गरेपछि रसियामा विरोध प्रदर्शन पनि भएको छ। प्रदर्शनन गर्ने १ हजार ३०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ।

पुटिनको ‘मिलिटरी कल अप’ घोषणासँगै हजारौं युवाहरु रसिया छाड्न सीमा क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले दाबी गरेका छन्। पुटिनले युद्धमा सहभागी हुन निर्देशात्मक आदेश दिएपछि युवाहरु पलायन हुन थालेका छन्। जर्जीयासँग सीमा जोडिएको क्षेत्रमा अहिले हजारौं मानिस पुगेका छन्। तर रसियाले भने युद्ध लड्न सक्षम युवाहरु पलायन भएको खबर गलत रहेको जनाएको छ।  

पासपोर्टमात्र लिएर र बाँकी सबै छाडेर केही युवाहरु सीमा क्षेत्र पुगेको बीबीसीले उल्लेख गरेको छ। नाम खुलाउन नचाहने एक युवाले आफूलाई युद्धमा पठाउन सक्ने देखिएकोले पार्सपोर्ट बोकेर भागेको बताएका छन्। सीमा क्षेत्रमा पाँच किलोमिटरसम्म गाडीको जाम भएको छ। जर्जीयामा रसियाली नागरिकहरु बिना भिसा प्रवेश गर्न सक्छन्। त्यसैले पनि अहिले युवाहरुको रोजाइमा जर्जीया परेको हो। यस्तै, अर्को भिसा नपर्ने देश फिनल्याण्डमा पनि रसियाली युवाहरु प्रवेश गर्ने क्रम बढेको बताइन्छ।

रसियाली युवाहरु हवाई माध्यमबाट जान सक्ने इस्टानबुल, बेलग्रेड र दुबईको टिकटको मूल्य ह्वात्तै बढेको छ। केहीस्थानको टिकट पूर्ण रुपमा बिक्री भइसकेको छ। भिसा लगाउन नर्पेने देशको टिकट मूल्य अहिले आकाशिएको टर्किस मिडियाहरुले उल्लेख गरेको छ।

जर्मनीले रसिया छाडेर आउनेहरुलाई आफ्नो देशले स्वागत गर्ने बताएको छ। लिथुनिया, लातभिया, इस्टोनिया र चेक रिपब्लिकले भने रसियाली शरणार्थालाई प्रवेश नदिने जनाइसकेको छ।

रसियामा पुटिनको घोषणाविरुद्ध जनआक्रोश बढेको मौकामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियाली युवाहराई प्रतिकारमा उत्रन आह्वान गरेका छन्।

पुटिनले युवाहरुलाई सेनामा आएर देशको लागि खट्न निर्देशन दिएर ‘राजनीतिक जोखिम’ स्वीकार गरेको विश्लेषकहरुको बुझाइ छ। यो घोषणाले रसियासँग धेरै संख्यामा सेना नभएको तर्फ पनि इंगित गरेको छ। रसियाका स्थानीय मिडियाहरुले भने घोषणा गरेको भन्दा ठूलो संख्यामा सेना परिचालन हुन सक्ने जनाएको छ। आउने केहीदिनमा नै यो 'मिलिटिरी कल अप'को उद्धेश्य पुटिनले प्रस्ट पार्नेसमेत जनाइएको छ।

रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेसँगै युद्ध सुरु भएको थियो। युद्ध सुरुभएयता १ करोड ३० लाख युक्रेनी नागरिकहरु पलायन भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell