PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुम्बिनी प्रदेशमा बढ्दै डेंगु संक्रमण : अव्यवस्थित शहरीकरणका कारण बढ्दै स्वास्थ्य जोखिम



रमेश पराजुली

लुम्बिनी प्रदेशमा बढ्दै डेंगु संक्रमण : अव्यवस्थित शहरीकरणका कारण बढ्दै स्वास्थ्य जोखिम

बुटवल : केही समय पहिलासम्म तराईका जिल्लामा मात्रै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि देखिन थालेको छ। पछिल्लो समय रुपन्देहीसहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगुका बिरामी बढिरहेका छन्। डेंगु प्रकोपका रुपमा समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। यससँगै अस्पतालमा दिनहुँ डेंगुको उपचारका लागि आउने बिरामीको चाप पनि बढेको छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य जिल्ला अस्पतालहरुमा पनि डेंगुका बिरामी उपचाररत् छन्। ‘एडिज एजिप्टी’ प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने चिकित्सक बताउँछन्।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता डा. पुष्पराज पौडेलका अनुसार बिहीबारसम्म लुम्बिनी प्रदेशमा डेंगु संक्रमितको संख्या दुई हजार ७०८ पुगेको छ। प्रदेशमा बिहीबार थप ४० जना डेंगुका संक्रमीत थपिएका छन्। डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ।

पाल्पा, दाङ र बर्दियामा एक-एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। पाल्पाको रिब्दिकोट गाउँपालिका १ का ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै दाङको घोराही उपमहानगरपालिका १४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय पुरुषको पनि डेंगु संक्रमणबाट मृत्यु भएको भएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अहिलेसम्म दाङमा सबैभन्दा धेरै एक हजार १८० संक्रमित फेला परेका छन्। दाङपछि रूपन्देहीमा डेंगुका संक्रमित बढिरहेको तथ्यांकमा उल्लेख छ। रूपन्देहीमा ६७९ जना डेंगुका बिरामी भेटिएका छन्। त्यस्तै, पहाडी जिल्ला गुल्मीमा २९२ जना, अर्घाखाँचीमा १३८ जना, पाल्पामा ९७ जना, बर्दियामा ८६ जना डेंगु संक्रमित फेला परेका छन्। त्यस्तै, पश्चिम नवलपरासीमा ६० जना, बाँकेमा ४४ जना, प्यूठानमा ३६ जना, कपिलवस्तुमा ४९ जनामा डेंगु संक्रमण देखिएको छ। रुकुम पूर्वमा १६ जना डेंगु संक्रमित छन् भने रोल्पामा सबैभन्दा कम ६ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए।

अव्यवस्थित शहरीकरणका कारण पनि डेंगुका बिरामी बढेको उनी बताउँछन्। ‘अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्,’ उनले भने, ‘ती ठाउँबाट नै डेंगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ।’

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा व्यस्क भएपछि टोकेर डेंगु रोग लाग्ने चिकित्सक बताउँछन्। व्यक्तिगतरुपमा आआफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उनको भनाइ छ।

‘डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि नागरिक आफै सचेत हुनुपर्छ’, उनले भने।

डेंगु रोग नियन्त्रणका र रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिनुपर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउँछन्। डेंगु अहिले विश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै उनले सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधी सेवन नगर्न सुझाव दिए। डेंगुका बिरामीले सिटामोल प्रयोग गर्न सक्ने उनले बताए।

डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने डा. देवकोटाको भनाइ छ। ‘सुत्दा झुलको प्रयोग गर्ने, पानी टंकी, गमला, फूलदानी, नाली, टिनका डब्बा, प्लास्टिकका बोतल, गाडीका टायर, सिसी, ड्रममा जमेको पानी फालेर लामखुट्टेको बासस्थान नष्ट गरे जोगिन सकिन्छ,’ उनले भने, ‘एडिज एजिप्टी जातको लामखुट्टेले दिउँसो वा उज्यालो समयमा टोक्दा डेंगु हुने भएकाले जोगिन सकिने उत्तम उपाए सावधानी नै हो।’

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै प्रभावकारी उपाय रहेको बताउँदै उनले रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिए। कार्तिकसम्म डेंगुको जोखिम कायमै रहने भएकाले अझै दुई महिना समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान सञ्चालन गरी  नागरिक आफै सचेत हुनुपर्ने उनले बताए।

प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालयमार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको बताए। उनले नागरिकको स्वास्थ्य प्रति सरकार गम्भीर बनेको भन्दै डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट’ गर अभियान अहिले प्रदेशका धेरै स्थानीय तहमा जारी रहेको बताए। यसलाई महामारीको रुप लिन नदिन डेंगुविरुद्धको अभियानमा सम्पूर्ण प्रदेशबासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए। प्रदेशका सबै अस्पतामा आउने डेंगुका बिरामीहरुलाई सहज रुपमा उपचार गर्न आग्रह गरिएको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.गौरव ढकालले रुपन्देहीमा डेंगु नियन्त्रणका लागि स्थानीय तहको सक्रियतामा ‘खोज र नष्ट गर’ अभियान जारी रहेको जानकारी दिए। वडा तथा टोलस्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीयको सहभागीतामा सुरु भएको अभियानले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान, अण्डा र लार्भा नष्ट गर्ने काम गरिरहेको उनले बताए। ‘अहिले पनि बुटवल, तिलोत्तमा, देवदह, सैनामैना, सिदार्थनगरलगायत अन्य पालिकाहरुमा पनि अभियान जारी छ’, उनले भने ।

पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्चा पम्पेट वितरण गर्ने लगायतका कामहरु भइरहेको स्वास्थ्य कार्यलय प्रमुख डा. ढकालले बताए ।

रुपन्देहीमा गत वर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। जिल्लामा २०६७ सालदेखि डेंगुको संक्रमण देखिएको हो। २०६७-६८ मा २९० जनामा डेंगुको संक्रमण देखिएको थियो। २०७६-७७ मा यो संख्या बढेर दुई हजार ९३० पुगेको थियो। यो संख्या गत वर्ष घटेर ४६ मा झरेको थियो। अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको उनले बताए।

सामन्यतया लामखुट्टेले टोकेको ४–१० दिनपछि उच्च ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, कमजोरीपन महसुस हुने, शरीरमा बिमिरा तथा रातो धब्बाहरु देखिने बेहोस हुनेजस्ता लक्षण देखा पर्ने चिकित्सकको भनाई छ। एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ।

डेंगु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोले थलिएर सिकिस्त भएपछि मात्रै अस्पताल आउने बिरामीहरू बढी जोखिममा पर्ने गरेको चिकित्सक बताउँछन् । डेंगु संक्रमण भएका मानिसको रक्त कोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र बिरामी अझै कमजोर हुने गर्दछन् । बिरामीको रगतमा मुख्यतया प्लेटलेट्सको संख्यामा कमी साथै राता रक्तकोशिका, सेता रक्तकोशिका, हेमोग्लोविनको मात्रा पनि घट्दछ । प्लेटलेट्सको संख्या ५० हजार भन्दा कम हुने भएका बिरामीमा ब्लिडिङको समस्या जस्तैः नाक तथा मुख÷गिजा तथा छालाबाट रगत आउने, दिसामा रगत देखिने जस्ता लक्षणहरु देखिन्छ।

साथै रगतमा भएको प्लाज्मा (फ्लुइड) रक्तनलीबाट निस्किएर फोक्सो, पेट तथा अन्य अंगहरुमा गएर जम्न सक्छ जसको फलस्वरुप ब्लड प्रेसर घट्ने, हातखुट्टा चिसो हुने र शरिरको विभिन्न भागमा रगतको मात्रा कम भई अर्गान डिस्फङ्सन हुन सक्छ र समयमा नै उपचार नभएमा बिरामी अचेत समेत हुन सक्ने चिकित्सक बताउँछन्। तर्सथ बिरामीले शरीरमा पानिको मात्रा कम हुन नदिन प्रशस्त सफा पानी र झोलिलो पदार्थ पिउनुपर्ने चिकित्सकको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell