PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ



रासस

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका-९ घर भई चन्द्रागिरि-९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीवार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए। उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए।

पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद ६० हजार रुपैयाँ बरामद गरेको छ।

प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell