
काठमाडौं : युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले शुक्रवार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खड्कासँग भेट गरेको हो।
भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी लगायतका क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालको विकासशील मुलुकमा स्तरोन्नतीका प्रयास तथा तयारी, पर्यटन उद्योगको पुन:उथ्थान तथा नागरिक उड्डयनलगायतका क्षेत्रमा पनि छलफल भएको छ।
युरोपियन संसदकी उपाध्यक्ष अष्ट्रियाकी सांसद इभेलिन रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्कीसहितको संसदीय टोली नेपाल आएको हो।
भेटवार्ता उत्पादनमुलक भएको भन्दै युरोपियन युनियनको नेपाल कार्यालयले जनाएको छ। भेटवार्तामा दुवै पक्ष बहुपक्षीय तथा नियममा आधारित विश्वव्यवस्था प्रवर्द्धनका लागि मिलेर काम गर्न सहमत भएको बताइएको छ।
संसदीय टोलीले पूर्व परराष्ट्र मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग पनि भेट गरेको थियो। त्यस्तै यो टोलीले पाटनमा साइक्लिङ गरेको छ।