PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम



प्रकाश भण्डारी

चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम

काठमाडौं: स्थानीय तह निर्वाचनका बेला आरोप प्रत्यारोपमा उत्रिएका राजनीतिक दलका नेताहरु फेरि मंसिर ४ को चुनाव नजिकिएसँगै आक्रामक बन्न थालेका छन्। सत्ता गठबन्धन र प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एक अर्काप्रति लक्षित आरोप प्रत्यारोपमा उत्रिएका हुन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली र पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेविरुद्धमा भ्रम फैलाएको भन्दै आक्रामक बन्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

ओलीले आफ्नाविरुद्ध भ्रम फैलाउनेलाई अरिङ्गाल बनेर ध्वस्त बनाउन निर्देश गरे।

'हामीविरुद्ध कस्तो कस्तो हल्ला फैलाएको छ। ओम्नी ओम्नी भनेको छ। छानबिन गरे भयो नि त। केपी ओली ओम्नी भनेको छ। केही सम्बन्ध नै छैन्। अरिङ्गाल लगाउने नै हो। हाम्राविरुद्ध सारा सञ्चार माध्यम खन्याउन हुन्छ। अरिङ्गाल भएर होइन झुसे बारुला उनीहरु हुन हुन्छ। हाम्राविरुद्ध फिजाउने झुट भ्रम जनतालाई अलमल्याउनेहरुलाई अरिङ्गाल बनेर ध्वस्त बनाउनुपर्छ, ' ओलीले भने।

भाषणका क्रममा ओलीले आफूले पहिले भने अरिङ्गाल बन्न भनेर निर्देशन दिएपछि केही महिनासम्म अरु दलले त्यसको विरोध गरेको प्रसंग जोडेका थिए। चुनावका बेलामा अशोभनीय रुपमा आलोचना गर्नेप्रति टिप्पणी गर्न पछि नहटने राजनीतिक दलका नेतामध्ये ओली पनि एक हुन्। यस अघि पनि आफ्ना विरोध गर्नेहरुप्रति ओलीले कडा शब्दमा प्रतिकार गर्ने गरेका थिए। स्थानीय तह निर्वाचनका बेला काठमाडौंमा आयोजित वैशाख २६ गतेको पत्रकार सम्मेलनमा ओलीले गठबन्धनलाई 'झाडीमा जन्मिएको' भन्दै टिप्पणी गरेका थिए।

'यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, कसले फालेको हो थाहा छैन। कहाँबाट पैदा भएको ?,' ओलीले भनेका थिए। फेरि निर्वाचन नजिकिएसँगै ओली आक्रामक बनेका हुन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि ओली सत्ता गठबन्धनप्रति आक्रामक बनेका थिए। अरु पार्टीभन्दा कम्युनिस्ट पार्टीका नेताहरुले आलोचकलाई सभ्य भाषामा भन्दा आपराधिक व्यक्तिको संज्ञा दिँदै आलोचना गर्ने गरेका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद उत्पन्न भएपछि ओली र ओली इतरको मोर्चाबन्दीले एक अर्काप्रतिको आक्रमण तीव्र बनाएका थिए। त्यतिबेला ओलीले तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाललाई 'लाज सरम पचेको मान्छे' भन्दै आलोचना गर्ने गरेका थिए। जसलाई ओलीले माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी बनाएपछि पनि निरन्तरता दिए।

'विचार गर्नुहोस् त कति साह्रो लाज नभएका? एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते  थाहा हुन्छ,' ओलीले चैत ६ गते भनेका थिए।

नेपालले पनि ओलीलाई गद्दार, गफाडी, अहंकारी तथा दम्भी जस्ता शब्दहरु प्रयोग गरेर आलोचना गर्ने गरेका थिए। स्थानीय तह निर्वाचनपछि केही शान्त देखिएका नेताहरु फेरि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अघि भने तुच्छ शैलीमा भाषण गर्न थालेका छन्।

यस्तै एमाले पोलिटब्यूरो सदस्य बस्नेतले पनि आफ्नो विरोध गर्नेहरुप्रति आक्रमण गर्न निर्देशन दिए। युवा संघको शुक्रबारको सोही कार्यक्रममा बस्नेतले समाजिक संजालमा 'फेक आइडी' बनाएर आलोचना गर्नेहरु 'सुंगुर र कुकुर'भएको भन्दै घृणा फैलाउने अभिव्यक्ति दिएका छन्। बस्नेत सार्वजनिक मञ्चहरुमा उत्तेजना फैलाउने र कटाक्षपूर्ण अभिव्यक्ति दिने नेतामध्येमा पर्छन्। आफूलाई केही कार्यकर्ताले कुकुर र सुँगुर भनेर टिप्पणी गर्नु ठिक नभएको भनेर सल्लाह दिएको भए पनि आफू उक्त टिप्पणीबाट पछि नहट्ने पनि बस्नेतले बताएका थिए।

'मेरो फेसबुकमा ८ हजार १ सय जना छन् मेराविरुद्ध फेक आइडीवाला। अनि उनीहरुलाई सम्मानित शब्द बोल्नुपर्ने?  यी फेक आइडी त चोर, डाका, फटाह, अपराधी, सुँगुर, कुकुर सबै हुन्,' बस्नेतको टिप्पणी थियो। 

चुनावका बेलामा आफ्नो आलोचक माथि खनिनेमा एमालेका नेता मात्रै छैनन्। स्थानीय तह निर्वाचनका बेलामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा छोरी रेणु दाहाललाई चुनाव नजिताए देश दुर्घटनामा जाने चेतावनी दिएपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण नै सोधेको थियो। दाहालले पनि बेला बेलामा पार्टीको युवा संगठन वाइसिएललाई २०६४ सालको चुनावमा जस्तै आक्रामक बन्न निर्देशन दिने गरेका छन्। भदौ ३ गते काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले 'फौज'को रुपमा काम गर्न निर्देशन दिएका थिए।

प्रचण्डले कतिसम्म भने वाइसिएललाई आक्रमण गर्न परे आफू सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए स्थानीय तह निर्वाचन अघि। 

'गुण्डा आउँछन् भने इँटको जवाफ पत्थरले दिनेगरी युवाहरुको तयारी गरौं। गुण्डागर्दी र धाँधली गरेर चुनाव जित्नेलाई परास्त गर्नुछ हामीले,'  चैत ५ मा प्रचण्डले आक्रामक रुपमा भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell