PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दशैंमा सातदिनको विदामा घुम्न जानेको संख्या उच्च, कुन ठाउँको प्याकेजको मूल्य कति?



वसन्तराज उप्रेती

दशैंमा सातदिनको विदामा घुम्न जानेको संख्या उच्च, कुन ठाउँको प्याकेजको मूल्य कति?

 

काठमाडौं : कोभिड-१९ महामारीका कारण यसअघिका दुई वटा दशैंमा घुमघाम कम भए। दशैंको लामो विदामा समेत घरभित्रै बस्नुपर्ने बाध्यता दुई वटा दशैंमा धेरैले ब्योहोरे। तर यो पटक कोरोना संक्रमणको त्रास नहुँदा पहिला जस्तो समस्या छैन।

दशैंमा एक साता सार्वजनिक विदा छ यो वर्ष। त्यसैले यो विदाको सदुपयोग गर्ने चाहनेको संख्या पनि धेरै छ। ट्रेकिङ सेवा दिँदै आएको नेपाल अल्टरनेटिभ ट्रेकले दशैं विदामा घुम्न जान चाहने आन्तरिक पर्यटकको माग उल्लेख्य मात्रामा आइरहेको जनाएको छ। कम्पनीका संचालक तेजबहादुर गुरुङले सगरमाथा बेसक्याम्प, अपर मुस्ताङ, मर्दी, लाङटाङ लगायत चार गन्तव्यमा ट्रेकिङ गर्ने आन्तरिक पर्यटकको माग ८० प्रतिशतले बढेको बताए।

'कोभिडपछि आन्तरिक पर्यटकीय गतिविधि उत्साहजनक छ।यो बिचमा मुलुकको पर्यटन क्षेत्र धानेकै आन्तरिक पर्यटनले हो। यसपालि अधिकांश नेपालीका लागि घुमघामका लागि सुवर्ण अवसर बनेको छ। र, माग पनि त्यत्तिकै आइरहेको छ,' संचालक गुरुङले भने,'पहिला पहिला तीन रात चार दिनको भ्रमणमा जाँदै आएका नेपालीले यतिखेर साहसिक पर्यटनमा पनि जोड दिँदै आएका छन्।'

कम्पनीले आठ रात नौ दिनको सगरमाथा बेसक्याम्प प्याकेजका लागि दुई तर्फी हवाई यातायात, खानपिन र बसाईँ सहितको प्रति व्यक्ति २० हजार रुपैयाँको प्याकेज बिक्री हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार अपर मुस्ताङ भ्रमणका लागि कम्पनीले छ रात सात दिनका लागि १८ हजार रुपैयाँको प्याकेज विक्री हुँदै आएको छ। लाङटाङमा छ रात सात दिनका लागि १२ हजार रुपैयाँको प्याकेज रहेको उनले जानकारी दिए।

यसैगरी चार रात पाँच दिने मर्दी ट्रेकिङका लागि प्रति व्यक्ति १० हजार रुपैयाँ प्याकेज बिक्री गर्दै आएको उनले बताए। चाडवाडको समयमा आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले सस्तो प्याकेज ल्याएको गुरुङले जानकारी दिए। उनका अनुसार ती प्याकेजमा पर्यटकले ट्रेकिङ गाइड, यातायात, खानपिन, बसाईँ लगायत भ्रमण अवधिभरको सेवा सुविधा लिन सक्नेछन्।

दशैं विदाका लागि पोखरा, चितवन र रारा भ्रमणका लागि तयार पारेको टुर प्याकेजको माग उल्लेख्य रहेको बुद्ध होलिडेजले जनाएको छ। यी मध्ये पनि पोखरा र सौराहा भ्रमणका प्याकेज लगभग शतप्रतिशत बिक्री भइसकेको कम्पनीका वरिष्ठ प्रवन्धक परासरजंग पाण्डेले बताए।

'अधिकांश पर्यटकले पहिलै प्याकेज खरिद गरिसकेका छन्। अहिले पनि उल्लेख्य माग आइरहेको छ। पोखरा र सौराहा प्याकेज लगभग बुक छ,'वरिष्ठ प्रवन्धक पाण्डेले भने,'फुलपातीदेखि द्वादशी सम्मका लागि प्याकेज पाउनै मुस्किल छ।'

उनका अनुसार कम्पनीले तयार पारेको प्याकेजमार्फत पर्यटकले यी गन्तव्यका लागि दुईतर्फी हवाई यातायात, खानपिन, बसाईँ, साइट सिइङ लगायत सेवा लिन सक्नेछन्। बसाईँ र घुमघामका लागि पर्यटकले यो प्याकेज आफू अनुसार कस्टुमाइज गर्न सक्ने उनले जानकारी दिए। पोखरा, सौराहा र रारा भ्रमणका लागि क्रमश २१ हजार, २५ हजार र ३८ हजार रुपैयाँको प्याकेज निर्धारण गरेको उनले जानकारी दिए।

यो अन्तर्गत पर्यटकको माग अनुसार दुई तारेदेखि पाँच तारे स्तरको होटल पाउने उनले बताए। कोभिड यता आन्तरिक पर्यटन गतिविधि क्रमिक रुपमा वृद्धि हुँदै आएको उनले जानकारी दिए।

कोरोना महामारीपछि आन्तरिक पर्यटकबाट  कर्णाली  भ्रमणका लागि उल्लेख्य माग आएको  रारा एडभेन्चर ट्राभलका  संचालक देवी कृष्ण रोकायाले बताए। विभिन्न कर्पोरेट हाउस, बैंक, सरकारी कार्यालय, शैक्षिक क्षेत्र लगायतमा आवद्ध सर्वसाधारणबाट घुमघामका लागि बुकिङको माग आइरहेको उनले जानकारी दिए। 

उनका अनुसार  छ रात सात दिनको रारा भ्रमणका लागि २५ हजार र १६ हजारको प्याकेज  बनाइएको छ। जसमा पर्यटकले जीप र बस यातायात मध्ये एउटा विकल्प लिन सक्नेछन्। यस अन्तर्गत यात्रुले खानपिन, घुमघाम र बसाईँको सुविधा पाउँछन्।

यसैगरि, हवाई यातायात सहितको डोल्पाको सात दिने प्याकेजका लागि ४५ हजार रुपैयाँ  निर्धारण गरिएको उनले जानकारी दिए। आन्तरिक हवाई संजाल  कमजोर भएका कारण यो गन्तव्यतर्फको प्याकेज महँगो हुन गएको उनले बताए। यसैगरी पर्यटकले तीन रात चार दिनको भ्रमण  प्याकेज अन्तर्गत  बसमा नौ हजार पाँच सय र जीपमा १४ हजार रुपैयाँको प्याकेज विक्री हुँदै आएको उनले जानकारी दिए।  

विदेशी पर्यटकका लागि ट्राभल प्याकेज दिँदै आएको एस ट्राभलले यो वर्ष दसैं विदामा घुम्ने आन्तरिक पर्यटकको माग आएसँगै पर्यटकको इच्छा अनुसारको प्याकेज बनाएको छ।

अधिकांश आन्तरिक पर्यटकले पोखरा, सौराहा, रारा, लुम्बिनी, मुस्ताङ लगायत गन्तब्यका लागि आन्तरिक पर्यटकको उल्लेख्य माग आइरहेको प्रवन्धक रमेश कंडेलले बताए। 'प्याकेज बनाएर प्रचार प्रसार नगरि आन्तरिक पर्यटकबाट कस्टुमाइज प्याकेजको माग आइरहेको छ। पर्यटकको माग अनुसार प्याकेज बनाइरहेका छौं,' प्रवन्धक कंडेलले भने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell