
जापानले कोभिड-१९ प्रतिबन्धहरू हटाएर पर्यटनको लागि देश खुला गर्ने भएको छ। एकैसाथ ठूलो संख्यामा पर्यटक भित्राउने योजनाका साथ जापानले पर्यटनको ढोका खोल्न लागेको हो।
जीवन्त शहरी संस्कृति र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रणको लागि लोकप्रिय जापानमा विदेशी पर्यटकका लागि लगाइएका कडा प्रतिबन्ध हटाउन लागिएको जापानका डिजिटल मामिलामन्त्री तारो कोनोले बिहीवार ट्वीटमार्फत जानकारी दिएका छन्।
‘अन्ततः, जापानले सीमा खोल्दैछ’, ट्वीटमा भनिएको छ, ‘भिसा वेभर पुनः लागू हुँदैछ, कुनै दैनिक सीमा छैन।’ यो नयाँ नीति अक्टोबर ११ बाट कार्यान्वयनमा आउनेछ।
Finally, Japan will reopen the border. Visa waiver is back, no daily limit and free individual visits.
— KONO Taro (@konotaromp) September 22, 2022
‘हामी जापानमा प्रवेश गर्नेको संख्याको अधिकतम सीमा हटाउनेछौँ, व्यक्तिगत यात्रामा लगाइएको प्रतिबन्ध र भिसारहित यात्रामा लगाइएको प्रतिबन्ध हटाउनेछौँ,’ प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार न्यूयोर्क शहरमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए। संयुक्त राष्ट्रसंघ महासभा बैठकमा भाग लिन उनी त्यहाँ पुगेका थिए।
प्रतिबन्ध फुकुवा गर्ने बारेमा विस्तृत जानकारी दिँदै किशिदाले भनेका थिए, ‘सोही दिन, हामीले जापानका नागरिकहरूलाई आन्तरिक यात्रामा छुट र प्याकेजमा छुट दिने अभियान सुरु गर्ने योजना बनाएका छौँ र आशा छ कि धेरै नागरिकहरूले होटल, यात्रा र मनोरन्जन क्षेत्रहरूलाई बल पुग्ने गरी यो योजनाको फाइदा लिनेछन्। यी क्षेत्रहरुले महामारीको समयमा ठूलो प्रहार भोगेका छन्।’
कोभिड-१९ प्रतिबन्धको लगभग साढे २ वर्षपछि यो एक प्रमुख नीति परिवर्तन हो। यसअघि जापाले कुन परिस्थितिमा कुन व्यक्ति देश प्रवेश गर्न पाउने भन्नेबारे कडा नियमहरु लागू गरेको थियो।
ती प्रतिबन्धहरू अन्तर्गत आगमनको दैनिक संख्यामा सीमा राखिएको थियो भने कोभिड-१९ का लागि कडा परीक्षण नियमहरू र भ्रमण समूहहरूमा सामेल हुनुपर्ने नियमहरु समावेश थिए।