PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कार्यवाहक प्रशिक्षकमाथि एन्फा हाबी : मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीसामु चुनौतीको चाङ



मुकुन्द घिमिरे

कार्यवाहक प्रशिक्षकमाथि एन्फा हाबी : मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीसामु चुनौतीको चाङ

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ। प्रतियोगिताका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले २३ सदस्यीय खेलाडी पनि सार्वजनिक गरिसकेका छन्। यता, पछिल्लो समय फुटबलमा लगानी बढाएर अघि बढिरहेको बंगलादेशसँग खेल्नु विवादमा रुमल्लिएर तंग्रन खोज्दै गरेको नेपालका लागि पक्कै सहज चुनौती हुनेछैन। नयाँ प्रशिक्षकमाथिको 'जोखिम', राष्ट्रिय टोलीमा गोलमटोलको अवस्थालाई चिर्दै समर्थकलाई 'दशैंको उपहार' दिने योजना नेपालको रहने देखिन्छ।  

एन्फाको हस्तक्षेपमा प्रशिक्षकको मौन स्वीकृति

अब्दुल्लाह अलमुताइरी र सिनियर १० खेलाडीबिचको विवाद नयाँ होइन। प्रशिक्षकले अपमानजनक व्यवाहार गरेको भन्दै सिनियर खेलाडी र उनीहरुलाई समर्थन गर्ने तत्कालीन कप्तान किरण चेम्जोङ एसिया कप छनोटको पछिल्लो टूरमा टिममा परेका थिएनन्। त्यतिबेला नयाँ अनुहारहरुले अवसर पाए पनि। तर, एन्फामा नेतृत्व फेरिएसँगै कार्यसमितिकै बैठकले प्रदीप हुमागाइँलाई बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दियो।

अर्कोतर्फ मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिए। प्रसंग सिधा छ, एन्फाको पहिलो कार्यसमितिको बैठकले अलमुताइरीसँगको विवादमा परेर टिमभन्दा बाहिर रहेका ११ खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, अलमुताइरी खेलाडी छनोट प्रशिक्षकको क्षेत्रधिकार भित्रको कुरा रहेकाले 'टसल' परेका केही खेलाडीमात्र समेट्दै टिम बोलाउने योजनामा थिए। यस्तोमा एन्फाले 'हुमागाइँ' कार्ड खेल्यो। उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले फिर्ता गर्ने निर्णय गरेका खेलाडीलाई अन्तिम २३ मा राखेका छन्। खेलाडी छनोट प्रशिक्षकको क्षेत्राधिकार भित्रको कुरा हो, तर प्रशिक्षक हुमागाइँले एन्फाको निर्णयलाई सदर गर्दै क्षेत्राधिकारमाथि हस्तक्षेमा मौन स्वीकृति जनाएका छन्।

प्रशिक्षकको 'नाटक' रणनीति

नेपाली टोलीको कार्यवाहक प्रशिक्षक भएर आउँदै गर्दा प्रदीप हुमागाइँले यसअघिको फुटबलको विवादबारे केही थाहा नभएको ‘नाटक’ गरे। करै गर्दा उनले सञ्चारमाध्यमबाट केही जानकारी भएको भए पनि आधिकारिक रुपमा केही जानकारी नभएको पनि जिकिर गरिरहे। खासमा उनले विवादबारे केही थाहा नभएको 'नाटक गर्ने' रणनीति लिएर अघि बढेका थिए।

उनले त्यही कुरा राष्ट्रिय टोलीको २३ सदस्यीय टोली घोषणामा पनि दोहोर्‍याए। अस्वभाविक रुपमा ४ जना गोलकिपर राख्दै एउटा मैत्रीपूर्ण खेलका लागि टिम घोषणा गरे। उनले यसको पछाडिको कारणमा डेङ्गु र चोटको भयलाई देखाए।

'मलाई थाहा नै भएन पहिला केके भएको थियो। यो ट्रेनिङको दौरानमा पहिला के भएको थियो भन्ने कथामा अर्थ राख्दैन। पहिलाको ११ जना कोको विवाद भएको थियो थाहा छैन। लिस्ट पनि मलाई थाहा छैन,' बंगलादेशविरुद्धको खेलका लागि खेलाडीको सूची सार्वजनिक गर्दैगर्दा हुमागाइँले भनेका थिए, 'त्यसैले उनीहरु परे परेन्न भन्दा पनि ११ मा को परेनन् भन्ने दबाब वा त्यस्तै कुनै टपिक नै छैन।'

चार गोलकिपर, डेङ्गु र असन्तुष्टी

हुमागाइँले सार्वजनिक गरेको टोलीमा ४ जना गोलकिपर छन्। यसअघि नेपालले खेलको प्रतियोगितामा कप्तानी गरेका नवयुग श्रेष्ठ भने टिममा छैनन्। त्यस्तै गौतम श्रेष्ठ, पुजन उपरकोटी, आयुस घलानलगायतका खेलाडी पनि टीममा छैनन्। यसविषयमा हुमागाइँको आफ्नै तर्क छ। गोलकिपरको सन्दर्भमा डेङ्गु र चोटसँग जोखिम लिन नचाहेको उनले बताए।

आयुस घलान टिममा नपर्नुको कारण पछिल्लो खेलमा उनले गरेको खराब व्यवहार हो भन्ने प्रश्नमा हुमागाइँले गोलमटोल जवाफ दिए। घलानले यू २० एसिया कप छनोटको समूहको अन्तिम खेलको क्रममा बंगलादेशी खेलाडीलाई अश्लिल संकेत देखाए पछि रेडकार्ड खाँदै बाहिरिएका थिए।

'तत्कालका लागि आयुस ट्रेनिङमा बाहिर रहेको भयो। मैले पनि हेरेको हो, रेडकार्ड पाएको कुराहरु। खेलाडीका रुपमा त्यो स्वीकार्न सकिने कुरा थिएन। अनुशासन महत्वपूर्ण पक्ष हो। म आँफै असन्तुष्ट छैन। खेलाडी भएपछि फिल्ड भित्र या बाहिर एउटा व्यक्तित्व चाहिन्छ। यो पक्षले पनि मनोवैज्ञानिक रुपमा असर गरेको छ,' घलानबारे हुमागाइँले भने।

कप्तानको हुने भन्ने पछिसम्म स्पष्ट पार्ने उनले जनाए। ट्रेनिङको बेला गोलकिपर डेङ्गु र इन्ज्युरीबाट जुधिरहँदा गोलकिपर बिनै पनि अभ्यास गर्नुपरेको उनले सुनाए।

'ट्रेनिङको समयमा सबै गोलकिपर उपलब्ध नभएको पनि अवस्था आयो। तीन दिनको ट्रेनिङ गोलकिपर बिनै पनि गर्नु पर्‍यो। डेङ्गुले टिममा धेरैजनालाई असर पनि गर्‍यो। यसबाट गोलकिपर पनि मुक्त रहेनन्। किरण पनि आइनसकेको अवस्थामा जोखिम लिन सकिएन। अरु पोजिसनमा रिस्क लिन केही सहज भए पनि गोलकिपरमा जोखिम नलिउँ भन्ने हो,' उनले भने।

उसो त डेङ्गुले धेरै खेलाडीलाई ग्रसित बनाउदा टिममा असर पुगेको उनले बताए।

'डेङ्गुकै कारण गौतम श्रेष्ठ टिमबाट बाहिर भएको हो। विकास खवास, भरत खवास, विशाल श्रेष्ठ, सुरजजिउ ठकुरी लगायतलाई डेङ्गु भएको थियो,' उनले भने।

यसअघि एसिया कप छनोटको बेलामा कप्तान नवयुग श्रेष्ठ पनि टोलीमा छैनन्। टिममा नपरेपछि उनले सामाजिक सञ्जालमार्फत राजनीति भएको जनाएका छन्। उनले लेखेका छन्, 'रोगको लक्षण: विदेशी कोचहुँदा टिम भित्र, स्वदेशी हुँदा बाहिर, रोगको नाम: चलखेल'

नवयुग टिमबाहिर रहनुको विशेष कारण हुमागाइँले दिएका छैनन। श्रेष्ठको छनोटबारे उनले भनेका छन् : सबैजना उत्तिकै महत्वपूर्ण हो, त्यसमध्येमा पनि महत्वपूर्ण परेको छन्। उनले डिजर्ब गर्छन तर केही कारणले उनी छैनन्।

दुई नयाँ खेलाडीको प्रवेश

अन्तिम २३ खेलाडीको सूचीमा दुईवटा नयाँ खेलाडीले पनि स्थान बनाएका छन्। जसमा थ्री स्टार क्लबका लागि खेल्ने ऋतिक खड्का र चर्च ब्वाइजलाई बी डिभिजनबाट प्रोमोसन गराउन महत्वपूर्ण भुमिका खेलेका आशिष चौधरी छन्।

प्रशिक्षक हुमागाइँले उनीहरुलाई टिमभित्रको प्रतिस्पर्धाबाट छनोट गरिएको बताए।

'उनीहरुले पहिला पनि ए डिभिजन या बी डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका छन्। त्यो भन्दा पनि ट्रेनिङको दौरान प्रतिस्पर्धाबाट आफूले आफूलाई राष्ट्रिय टोलीमा इन्ट्री गराउनु भएको छ,' प्रशिक्षक हुमागाइँले भने, 'उहाँहरुको चरित्र, व्यक्तित्व, फिल्डभित्र र बाहिरको व्यक्तित्वलगायतका सबै कुरामा राम्रो भएकोले उहाँहरुले राष्ट्रिय टिम 'डिर्जभ' गर्नुभयो।'

चुनौतीको चाङ

हुमागाइँअघि नेपालका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तहल्का नै मच्चाए। विवादमा परिरहने उनले नयाँ खेलाडी ल्याउनेदेखि आक्रामक फुटबलको आश्वासन दिएर फुटबल समर्थकसँग राम्रो सम्पर्क बनाउन सफल भए। समर्थकहरुले फेरि एकपटक आशा ठूलो बनाए, नेपाली फुटबलसँग। यसबिच अलमुताइरी र खेलाडीबीचको लफडाले समर्थकलाई पनि विभाजित गर्‍यो। एकथरीले अलमुताइरीलाई समर्थन गरिरहेका थिए, अर्कोथरीले खेलाडीलाई। एन्फाको राजनीतिमा पनि अलमुतारीको त्यतिबेलाको पक्षधर समूह नेतृत्वमा छैन।

यस्तोमा फुटबलको लयलाई थाम्ने चुनौती हुमागाइँलाई एन्फाले दिएको छ। जुन सहज पक्कै छैन। त्यस्तै अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडी टिममा फेरि स्थान पाएका छन्। यस्तोमा राम्रो नतिजा दिएर आफूलाई फेरि प्रमाणीत गर्नुपर्ने दवाब खेलाडीमा पनि देखिन्छ।

२३ सदस्यीय टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट

फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell