
२० पटकका ग्र्याण्ड स्लाम च्याम्पियन रोजर फेडेररले टनिसबाट सन्यास लिएका छन्। लेभर कपको भावनात्मक रातमा राफायल नाडाललगायतका साथीहरुको बिचमा उनी टेनिसलाई अलविदा गरेका छन्।
४१ वर्षीय फेडेररले अन्तिम पटक कोर्टबाट बाहिर निस्केपछि लामो प्रशंसा ग्रहण गरेका थिए। २० पटक ग्र्याण्ड स्लाम एकल उपाधि जित्ने स्विस खेलाडी फेडेररलाई टेनिस इतिहासकै उत्कृष्ट खेलाडीमध्येको एक मानिन्छ।
‘यो एक अद्भुत दिन रह्यो। म खुसी छु, दुखी छैन। यहाँ आउन पाउँदा धेरै राम्रो लाग्छ। म खुसी छु कि मैले यो पार गर्न पाएको छु,’ उनले भने।
फेडेरर नाडाल र अन्य खेलाडीहरूलाई अँगालो हालेर भावुक बनेका थिए। त्यसपछि लन्डनको ओटू एरेनामा हजारौँ प्रशंसकहरूले उनको नाम लिएर हुटिङ गर्दा फेडेरर अझ भावुक भए।
नाडालले पनि आँसु थाम्न सकेका थिएनन्। बेलायती गायिका एली गोल्डिङको गीत सुन्दै गर्दा ३६ वर्षीय स्पेनियार्ड नाडाल फेडेररसँगै बसेर रोएका थिए।