PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सरकारसँग समस्या समाधान गर्ने क्षमता छैनः उपाध्यक्ष पौडेल



पहिलोपोस्ट

सरकारसँग समस्या समाधान गर्ने क्षमता छैनः उपाध्यक्ष पौडेल

बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अंगीकार गरेका गलत नीति र सत्ता सञ्चालनमा असक्षमताले अर्थतन्त्र धराशाही बन्दै गएको बताएका छन्। आर्थिकको संकट समाधानको क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसँग नभएको पौडेलले जिकिर गरे।

शनिबार रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले नीतिगत रूपमा परिवर्तन नगरेसम्म निजी क्षेत्रले भोग्दै आएका समस्या समाधान नहुने बताए। मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक रहेको दाबी पौडेलले गरे।

‘बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीमा संकट देखापरेको छ। तरलता संकटकै कारण बैंकहरूले राम्रोसँग ऋण प्रवाह गर्न पाएका छैनन्। जसले गर्दा प्रत्यक्ष रूपमा उद्यमी व्यवसायीहरूले ऋण पाएका छैनन्’ पौडेलले भने।

आफूले दुईपटक अर्थ मन्त्रालयको जिम्मेवारी बहन गर्दा नाकाबन्दी, भूकम्प तथा कोराना जस्ता असहज परिस्थितिको समाना गरेको भए पनि आर्थिक अवस्थालाई बिग्रन नदिएको दाबी उनले गरे।

‘वर्तमान सरकारसँग अर्थतन्त्र बलियो बनाउने लक्ष्य र सोच नै नभएको परिणामले देखाएको छ,’ उनले भने ।

रुपन्देहीलाई रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए।

राजमार्ग चौराहा–गोलपार्क सडकमा गठबन्धन सरकारले नै राजनीति गर्दै आएको पौडेलले आरोप लगाए। स्थानीय निर्वाचनको समयमा नागरिकहरुमा भ्रम सिर्जना गर्न सरकारले नै विभिन्न बहाना बनाएर ठेकदारलाई काम रोक्न लगाएको आरोप उनले लगाए।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा बुटवलको विकासका लागि अगाडि सारिएका सिद्धबाबा सुरुङमार्ग, तिनाउ खोलामा बन्ने सिग्नेचर ब्रिज, प्रदर्शनीस्थल, तिनाउ–दानब करिडोर, केवलकारलगायतका आयोजनाले रुपन्देहीको आर्थिक समृद्धिमा नयाँ मोडेल तयार पारेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell