काठमाडौं : आइतवार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
अहिले बिहान ती स्थानहरुमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले भनेको छ, 'लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ।'
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित रहेको र भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ रहेको महाशाखाले जनायो।। अहिले प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश नं १, वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनायो।