PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोर्चुगलको फराकिलो जित, स्पेन स्वीजरल्याण्डसँग पराजित



पहिलोपोस्ट

पोर्चुगलको फराकिलो जित, स्पेन स्वीजरल्याण्डसँग पराजित
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' का खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि फराकिलो जित निकालेको छ। सिनोभो स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ४-० को सहज जित निकालेको हो।

खेलको ३३ औं मिनेटमा डिओगो डालोटको गोलमा पोर्चुगलले अग्रता बनाएको थियो। इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेजले गोल थप्दा पहिलो हाफमा पोर्चुगल दुई गोलले अघि रह्यो। पहिलो हाफको इन्ज्युरी समयमा चेक रिपब्लिकका प्याट्रिक एस्चिकले पेनाल्टीमा पाएको अवसरमा चुकेका थिए।

दोस्रो हाफमा डालोटले नै पोर्चुगलको तेस्रो गोल गरे। उनले ५२ औं मिनेटमा गोल गर्दा डिएगो जोटाले ८२ औं मिनेटमा गोल थपे। र, पोर्चुगलले खेलमा ४-० ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न सोही समूहको खेलमा स्पेन स्वीजरल्याण्डसँग पराजित भयो। ला रोमरेडामा सम्पन्न खेलमा घरेलु टोली स्पेन स्वीजरल्याण्डसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २१ औं मिनेटमा म्यानुअल अकान्जीले स्वीजरल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको स्पेनलाई ५५ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बराबरीमा ल्याएका थिए। तर, त्यसको तीन मिनेट नबित्दै ब्रील एम्बोलोले गोल गर्दै फेरि स्वीजरल्याण्डलाई अघि बढाए। र, चारवर्षपछि स्पेन स्वीजरल्याण्डसँग पराजित भयो।

योसँगै १० अंक जोडेको पोर्चुगल शीर्षस्थानमा छ भने ८ अंक जोडेको स्पेन दोस्रो, ६ अंक जोडेको स्वीजरल्याण्ड तेस्रो र ४ अंक जोडेको चेक रिपब्लिक तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell